काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा पुनः सक्रिय उपस्थिति र अध्यक्ष केपी शर्मा ओलीसँग बढ्दो राजनीतिक संवादले एमालेभित्र नयाँ शक्ति समीकरणको बहस तीव्र बनेको छ।
लामो समय पार्टी गतिविधिबाट टाढा देखिएकी भण्डारी पछिल्लो समय एमालेका औपचारिक कार्यक्रमहरूमा सक्रिय रूपमा देखिन थालेकी छन्। मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उनको उपस्थितिलाई एमालेभित्र अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
फागुन २१ यता ओली र भण्डारीबीच पटक–पटक भेटवार्ता भएको एमाले स्रोतले जनाएको छ। पछिल्लोपटक २८ वैशाखमा गुण्डुस्थित ओली निवासमा भएको लामो छलफलमा भण्डारीले निर्वाचन परिणामको समीक्षा गर्न सचिवालय बैठक बोलाउन सुझाव दिएको बताइएको छ।
यसअघि पनि पितृशोकमा रहेका ओलीलाई समवेदना दिन तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिन भण्डारीले विभिन्न समयमा भेट गरेकी थिइन्। यी भेटघाटपछि एमालेभित्र ओली र भण्डारीबीचको दूरी घट्दै गएको चर्चा चुलिएको छ।
एमालेभित्र अहिले अध्यक्ष ओली, पूर्वराष्ट्रपति भण्डारी र दोस्रो तहका नेताहरूबीच छुट्टाछुट्टै शक्ति केन्द्र निर्माण भइरहेको विश्लेषण गरिएको छ। कुनै समय भण्डारीलाई पार्टी नेतृत्वबाट टाढा राख्न खोजिएको भए पनि अहिले ओली स्वयं उनीसँग सहकार्यको पक्षमा देखिनुलाई बदलिँदो राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।
पार्टीभित्रका केही प्रभावशाली नेताहरूले वैकल्पिक नेतृत्वको बहस अघि बढाउन थालेपछि ओलीमाथि राजनीतिक दबाब बढेको बताइन्छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त तथा महासचिव शंकर पोखरेललगायत नेताहरू पार्टीको भावी नेतृत्व र रणनीतिबारे सक्रिय छलफलमा रहेको चर्चा एमाले वृत्तमा छ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाम आएपछि एमालेभित्र आत्मसमीक्षा र पुनर्गठनको आवाज बलियो बन्दै गएको छ। यही सन्दर्भमा मदन–आश्रित स्मृति सभामा नेताहरूले दिएका अभिव्यक्तिलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बचाउ गरेका थिए भने विद्यादेवी भण्डारीले पार्टीभित्र आत्मसमीक्षा, जनमुखी कार्यशैली र एकताको आवश्यकता औंल्याएकी थिइन्। महासचिव शंकर पोखरेलले भने एमालेका वर्तमान नीति र कार्यशैलीको समीक्षा आवश्यक रहेको धारणा राखेका थिए।
पोखरेलले मदननगर बल्खुमा एमालेको नयाँ केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरेपछि पार्टीभित्र थप चर्चा सुरु भएको छ। यसअघि पार्टी कार्यालय भवनसम्बन्धी विवादका कारण उत्पन्न असन्तुष्टिपछि आएको यो घोषणालाई एमालेभित्र संस्थागत सुधारको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।
यसैबीच, एमालेभित्र वाम एकताको बहस पनि पुनः चर्किन थालेको छ। विभिन्न वामपन्थी दलहरूबीच साझा नेतृत्वको खोजी भइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीलाई सम्भावित साझा व्यक्तित्वका रूपमा अघि सार्ने प्रयास भइरहेको चर्चा राजनीतिक वृत्तमा छ।


