कञ्चनपुर: दोधारा चाँदनी नगरपालिका–१ का ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर भूमिराज टोलमा आए। जग्गाको अभावले खेती गर्न नसकेपछि उनी यहाँ झरेर दुई बिघा जमिनमा खेती गर्दै आएका छन्।
अहिले घर नजिकै सुक्खा बन्दरगाहको निर्माण सुरू भएपछि खड्का परिवार मात्र होइन, यहाँका अधिकांश स्थानीयमा रोजगारीको नयाँ आशा पलाएको छ। “पहिले जंगल, लुटेरा र सुविधा बिहीन ठाउँ थियो,” खड्काले विगत सम्झिँदै भन्नुभयो, “आज घरअगाडि बन्दरगाह बन्न थाल्यो भन्ने कल्पनासमेत थिएन।”
सुक्खा बन्दरगाह निर्माणका लागि हाल गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा रुख कटान भइरहेको छ। इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीका अनुसार, ४१ लाख रुपैयाँको ठेक्कामा १,५९३ रुख काट्ने काम भइरहेको हो। बन्दरगाहको लागि ४२.३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम, भन्सार चेकजाँच, क्वारेन्टाइन, इमिग्रेशन र सुरक्षा भवनहरू निर्माण हुनेछन्।
महाकाली नदीमा चार लेनको पक्की पुल र गड्डाचौकीदेखि बन्दरगाहसम्मको छ लेनको सडक निर्माण भइसकेको छ। खड्काका छोरा पुल निर्माणमा टिपर चालकको रूपमा कार्यरत थिए, तर पुल निर्माण सकिएपछि बेरोजगार छन्। “अब फेरि छोरा घरमै काम पाउँछ कि भन्ने आशा छ,” खड्काले भन्नुभयो।
स्थानीय नीरज भट्टका अनुसार, बन्दरगाह र पुल बनेपछि महेन्द्रनगर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। “अब यहाँबाट भारतको औद्योगिक क्षेत्र रुद्रपुर पुग्न दुई घण्टा मात्र लाग्छ,” उहाँले भन्नुभयो, “यसले सुदूरपश्चिमको आर्थिक रूपान्तरणमा टेवा पुर्याउनेछ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लका अनुसार, सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार विस्तार र रोजगारीका नयाँ अवसरहरू सिर्जना हुनेछन्।
नेपाल र भारत सरकारबीच २०२३ जुन १ मा हस्ताक्षर भएको समझदारीपत्रअनुसार निर्माण कार्य दुवैतर्फबाट अघि बढिरहेको छ। भारतीय पक्षले दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको छ।
सुक्खा बन्दरगाह निर्माणसँगै दोधारा चाँदनी मात्र होइन, सुदूरपश्चिमकै समग्र विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।