Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रिययुक्रेनको सीमाबाट रुसी सेना फिर्ता भएको छैन : अमेरिका

युक्रेनको सीमाबाट रुसी सेना फिर्ता भएको छैन : अमेरिका

५ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनको सीमाबाट सेना फिर्ता गरेको रुसी घोषणा सही नभएको बताएको छ ।

अमेरिकाका एक वरिष्ठ अधिकारीले सेना फिर्ता गरेको रुसको दाबी गलत भएको बताएका हुन् । ती अधिकारीका अनुसार रुसले युक्रेनको सिमानामा केही दिनयता थप सात हजार सेना तैनाथ गरेको छ । थप सेना तैनाथीले रुसी दाबीलाई गलत साबित गरेको उनको भनाइ थियो ।

त्यस्तै, उनले रुसले नक्कली बहाना बनाएर युक्रेनमा कुनै पनि बेला हमला गर्न सक्ने चेतावनीसमेत दिएका छन् । कूटनीतिका लागि खुला रहेको भ्लादिमिर पुटिनको भनाइ नक्कली बहाना मात्रै भएको पनि उनको भनाइ थियो ।

‘हाल हामीलाई प्राप्त हरेक जानकारीले उनीहरूले मुखले मात्रै वार्ता गर्ने कुरा गरेको र तनाव कम भएको दाबी गरेको देखाउँछ, तर गोप्य रुपमा युद्धका लागि सेना परिचालन गरिरहेका छन्’, ती अधिकारीलाई उदृत गर्दै सीएनएनले लेखेको छ ।

त्यस्तै, नेटो गठबन्धनले समेत युक्रेनी सीमाबाट रुसी फौज फिर्ता भएको खबरप्रति आशंका व्यक्त गरेको छ ।

नेटोले रुसलाई युक्रेनी सिमाना नजिकै तैनाथ फौज फिर्ता भएको प्रमाण देखाउन भनेको छ । नेटो गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी फौज फिर्ता भएको कुराप्रति आशंका व्यक्त गरेका छन् ।

उनले बुधबार ब्रसेल्समा नेटो राष्ट्रका रक्षामन्त्रीको बैठक सुरु हुने बेला पत्रकारसँग कुरा गर्दै अझै पनि रुसले युक्रेनी सिमानामा फौज बढाइरहेको बताए ।

‘रुसी सेना फिर्ता भयो/भएन भनेर प्रस्ट भइसकेको छैन’, स्टोल्टेनबर्गले भने, ‘हामीले उनीहरूले फौजको संख्या बढाएको र थप फौज आउँदै गरेको मात्रै देखेका छौं ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत हालसम्म आफ्नो मुलुकको सिमानाबाट रुसी सेना फिर्ता नभएको बताएका छन् । ‘हामीले जे देखेका छौं त्यही भन्छौं र हालसम्म फौज फिर्ता भएको छैन’, जेलेन्स्कीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

मंगलबार रुसले युक्रेनको सिमानाबाट पहिलो पटक आफ्ना सेना फिर्ता भएको घोषणा गरेको थियो । उक्त घोषणा गरेको एक दिनपछि उसले क्राइमियामा तैनाथ सैन्य अभ्यास समाप्त भएको र आफ्ना सैनिक फर्किएको बताएको छ ।
तर, नेटो गठबन्धनले युक्रेनी सिमानाबाट फौज फिर्ता भएको कुनै प्रमाण नदेखिएको बरू रुसले हमला गर्ने थप तयारी गरेको बताएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका