काठमाडौं: नेपाली फिल्म क्षेत्रका मेरूदण्ड अर्थात् महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किन लागेका छन् ।निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको एक फिल्ममा महानायक हमाल अनुबन्धित भएका हुन् ।आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।
सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।
आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ ।निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे।