काठमाडौं: पाकिस्तानको जवाफी कारबाही सुरु भएसँगै भारतले वायु, स्थल र समुद्री क्षेत्रमा हाई अलर्टको रणनीति अपनाएको छ। जम्मू–कश्मीर सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बम आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पाकिस्तानी सेनाले सीमावर्ती अग्रपंक्तिका गाउँहरूलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ। टाइम्स अफ इन्डियाले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै चार बालबालिका र एक सैनिकसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ।
यस्तोमा पाकिस्तानबाट थप जवाफी कारबाही हुनसक्ने आँकलन गर्दै भारतले तीनै तिरबाट सुरक्षा सतर्कता बढाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भारतीय पर्यटकको हत्यापछि भएको भारतीय आक्रमणको जवाफस्वरूप पाकिस्तानले कारबाही गरेको दाबी गरेका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भारतीय फाइटर विमान खसालेको पुष्टि भारतले नै गरिसकेको उल्लेख गर्दै त्यसलाई पाकिस्तानको तर्फबाट जवाफी कारबाही भएको बताएका हुन्।
भारतले पहलगाममा भएको आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै बुधबार राति क्षेप्यास्त्रसहित हवाई आक्रमण गरेको थियो। तर, इस्लामावादले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।