काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीसहित उच्च सरकारी अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणमा तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको अडियोले सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएको बताइन्।
उनका अनुसार कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर अत्यन्तै तल्लोस्तरको र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको छ।
संग्रौलाले उक्त अडियोमा सम्बन्धित कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेको दाबी गरिन्।
उनले अडियोमा प्रयोग भएको ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयसमेत स्पष्ट रूपमा छानबिन गर्नुपर्ने बताइन्। उनका अनुसार उक्त अभिव्यक्ति फोन गर्ने, प्रत्यक्ष भेटेर आक्रमण गर्ने वा पदबाट हटाउने भन्ने कुन अर्थमा प्रयोग गरिएको हो भन्ने विषय छानबिनबाट स्पष्ट हुनुपर्छ।
सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षा अधिकारीलाई भन्सार प्रशासनका कर्मचारीबाटै गैरजिम्मेवार तथा धम्कीपूर्ण भाषा प्रयोग भएको भनिएको घटना गम्भीर विषय भएको संग्रौलाको भनाइ छ।
उनले यस्तो घटनाले राष्ट्रिय सुरक्षा निकाय, निजामती सेवाको मर्यादा र राज्य संयन्त्रप्रतिको जनविश्वासमा असर पार्न सक्ने बताउँदै तत्काल छानबिन गर्न सरकारसँग माग गरिन्।
संग्रौलाले अडियोमा उच्च अधिकारी तथा मातहतका निकायलाई धम्की दिएको पुष्टि भए सम्बन्धित भन्सार अधिकृतमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताइन्।
त्यसैगरी, सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबीच प्रभावकारी समन्वय कायम गर्दै मर्यादित कार्य वातावरण बनाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको माग छ।


