बागलुङ । जिल्लामा यस वर्ष दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन्। अघिल्लो वर्षदेखि सुरु गरिएको उक्त खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई समेटिएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
स्थानीय तहअनुसार बागलुङ नगरपालिकामा ५५६, गलकोट नगरपालिकामा २६८, जैमिनी नगरपालिकामा १५८ र ढोरपाटन नगरपालिकामा ४१९ जना किशोरीले खोप लगाएका छन्।
त्यस्तै काठेखोला गाउँपालिकामा १३५, तमानखोला गाउँपालिकामा १०१, ताराखोला गाउँपालिकामा ५५, निसीखोला गाउँपालिकामा २३५, बडिगाड गाउँपालिकामा ३०९ र बरेङ गाउँपालिकामा ७३ जना किशोरीले एचपीभी खोप लगाएका छन्।
खोप लगाउनेमध्ये दुई हजार २७१ जना विद्यालय जाने, १४ जना विद्यालय नजाने र १७ जना छुटेका किशोरी रहेको घिमिरेले बताए। गत वर्ष जिल्लामा ११ हजार १७७ किशोरीलाई एचपीभी खोप लगाइएको थियो।
तोकिएको उमेर समूहका किशोरी खोपबाट नछुटून् भन्ने उद्देश्यले फागुनभित्र विद्यालय तथा घरघरमा पुगेर स्वास्थ्यकर्मीमार्फत खोप अभियान सञ्चालन गरिएको जनाइएको छ।


