Saturday, August 15, 2026
Homeराजनीतिप्रचण्डले औँल्याए: नेपालको वामपन्थी आन्दोलन कहाँ चुक्यो

प्रचण्डले औँल्याए: नेपालको वामपन्थी आन्दोलन कहाँ चुक्यो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता बनाउने र गिराउने राजनीतिक खेलमा केन्द्रित हुँदा नेपालको वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन्।

२४औँ बोत्ले स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संविधान जारी हुँदासम्म वामपन्थी आन्दोलन सही दिशामा रहे पनि त्यसपछि सरकार सञ्चालन र सत्ता समीकरणमा बढी केन्द्रित हुँदा रणनीतिक लक्ष्य ओझेलमा परेको बताए।

उनका अनुसार प्रधानमन्त्री बनाउने–गिराउने, मन्त्री बन्ने र सरकार टिकाउने खेलमै नेतृत्व अल्झिँदा पार्टी र जनताबीचको सम्बन्ध कमजोर हुँदै गएको हो।

“सरकार बनाउने र गिराउने कार्यमा हामी धेरै फस्यौँ। नेताहरू सदरमुकाम र सहरमा सीमित भयौँ। केन्द्रमा प्रधानमन्त्री र मन्त्री बन्ने प्रतिस्पर्धामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पनि त्यही प्रवृत्ति फैलियो। कार्यनीतिमा व्यस्त भयौँ, तर रणनीति कागजमै सीमित रह्यो। त्यहीँ हामी चुक्यौँ,” प्रचण्डले भने।

उनले संविधान निर्माणअघि सामन्तवाद र साम्राज्यवादविरुद्धको संघर्षमा सफलता हासिल भए पनि त्यसपछिको राजनीतिक परिस्थितिअनुसार रणनीति परिवर्तन गर्न नसक्दा वाम आन्दोलन कमजोर बनेको दाबी गरे। साथै, विपक्षी शक्तिको रणनीति समयमै बुझ्न नसक्नु पनि कमजोरीको एउटा कारण भएको उनको भनाइ थियो।

प्रचण्डले वामपन्थी दलहरू एक हुँदा प्रशंसा गर्ने तर मतभेद हुँदा सम्बन्ध नै अन्त्य गर्ने प्रवृत्ति उचित नभएको उल्लेख गर्दै संवाद र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्ने बताए।

उनले वर्तमान अवस्थामा देश, संविधान र गणतन्त्र चुनौतीपूर्ण परिस्थितिमा रहेको भन्दै वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनका अनुसार विगतका मतभेदलाई मात्र आधार बनाएर सहकार्यबाट पछि हट्नु उचित होइन।

एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिलाई पार्टी एकीकरणका रूपमा नबुझ्न आग्रह गर्दै प्रचण्डले अहिलेको राष्ट्रिय आवश्यकताअनुसार नेतृत्वमा रहेको दलसँग सहकार्य गरिने स्पष्ट पारे।

उनले भने, “नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने विषय एमालेको आन्तरिक कुरा हो। अहिले नेतृत्वमा केपी शर्मा ओली नै हुनुहुन्छ। देशको आवश्यकताअनुसार नेतृत्वमा जो छ, उसैसँग सहकार्य गर्ने हो। वामपन्थी दलहरू एकजुट भए आगामी निर्वाचनमा फेरि सफलता हासिल गर्न सकिन्छ।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका