काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि राज्यबाट प्राप्त गर्दै आएकी सबै सेवा सुविधा त्यागेकी छन्। नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेलगत्तै उनले यस्तो निर्णय गरेकी हुन्।
भण्डारीले आफ्नो सचिवालयमा कार्यरत सरकारद्वारा उपलब्ध उपसचिव, शाखा अधिकृत र कार्यालय सहयोगीलाई फिर्ता गर्न गृह मन्त्रालयलाई पत्र पठाएको बताइएको छ।
गृह मन्त्रालयका अनुसार भण्डारीलाई स्वकीय सचिव (उपसचिव सरह) र कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउँदै आएको थियो।
एमालेको ११औं महाधिवेशनलाई लक्षित गर्दै असन्तुष्ट समूहले भण्डारीलाई पार्टी अध्यक्ष बनाउने तयारी थालेको चर्चा छ। यद्यपि प्रधानमन्त्रीसमेत रहेका वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु भने भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई सहज रूपमा स्वीकार गर्न तयार देखिएका छैनन्।


