काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानले सुनिश्चित गरेका जनअधिकारमाथि विभिन्न चुनौती देखिएको भन्दै कम्युनिष्ट आन्दोलनलाई सही वैचारिक दिशामा पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार जारी गरेको विज्ञप्तिमा उनले वर्तमान परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित तथा जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्नु सबैभन्दा महत्वपूर्ण दायित्व भएको उल्लेख गरेका छन्।
खनालले सही क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्दै वाम शक्तिहरूबीच एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
उनले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई स्मरण गर्दै नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि स्पष्ट वैचारिक मार्गनिर्देशन गर्ने दूरदर्शी नेताका रूपमा सम्मान व्यक्त गरेका छन्। पुष्पलालकै वैचारिक मार्गदर्शनअनुसार अघि बढ्दा नेपालमा जनवादी आन्दोलन सफल भएको, संविधानसभामार्फत संविधान निर्माण भएको र समाजवादी रूपान्तरणको आधार तयार भएको उनको दाबी छ।
खनालले वर्तमान राजनीतिक परिस्थितिमा सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबीच फराकिलो एकता, सहकार्य र साझा पहल अपरिहार्य बनेको बताएका छन्।
उनले राष्ट्रिय हितको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समृद्धि तथा नेपाली विशेषतामा आधारित वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न सबै वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
विज्ञप्तिको अन्त्यमा खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले पुर्याएको ऐतिहासिक योगदानको स्मरण गरेका छन्। साथै, पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।


