Saturday, January 18, 2025
Homeअन्तराष्ट्रियदक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी घरमै पुगेपछि चर्को हंगामा

दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी घरमै पुगेपछि चर्को हंगामा

काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रयासरत प्रहरी टोली अझै उनको निवाससम्म पुग्न सकेको छैन। युनका समर्थकहरू ठूलो संख्यामा प्रदर्शनमा उत्रिँदा राष्ट्रपति निवासको वरपरको क्षेत्र तनावपूर्ण बनेको छ।

राष्ट्रपतिको सुरक्षा बलले प्रहरीलाई युनसम्म पुग्न अवरोध गरेको छ। थप जटिलता तब उत्पन्न भयो जब युनले ३ डिसेम्बरमा अचानक मार्शल ल को घोषणा गरे। मार्शल लको विरोधमा देशभर विरोध प्रदर्शन तीव्र भएको छ।

डिसेम्बर १४ मा संसद्ले युनलाई महाभियोग लगाउने पक्षमा मतदान गरिसकेको छ। राष्ट्रपतिको शक्तिको दुरुपयोग र विद्रोहका लागि उक्साएको आरोपमा उनलाई महाभियोग लगाइएको थियो। महाभियोगपछि युनलाई जिम्मेवारीबाट निलम्बन गरिएको छ, तर संवैधानिक अदालतको अन्तिम निर्णयले मात्र उनलाई पदबाट हटाउन सकिन्छ।

यसबीच, यसै साता युनविरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो। उनलाई शक्तिको दुरुपयोग र विद्रोहको घटनामा अनुसन्धान गरिरहेका अधिकारीहरूसँग सहकार्य गर्न आग्रह गरिएको थियो। तर उनले अधिकारीहरूसामु उपस्थित हुन अस्वीकार गरेपछि पक्राउ प्रयास भएको हो।

प्रहरीको लगभग २० सदस्यीय टोली युनको निवासमा पुगेको छ। यद्यपि, राष्ट्रपतिको सुरक्षा टोलीले उनलाई पक्राउ गर्न अवरोध गरिरहेको छ। राष्ट्रपतिको वकिलले जारी गरिएको गिरफ्तारी वारेन्टलाई “अवैध” ठहर गर्दै अदालतमा चुनौती दिने बताएका छन्।

दक्षिण कोरियाको राजनीतिक घटनाक्रममाथि उत्तर कोरियाले पनि प्रतिक्रिया दिएको छ। त्यहाँको सरकारी मिडियाले दक्षिण कोरियामा “राजनीतिक अराजकता” व्याप्त रहेको टिप्पणी गरेको छ।

युनको मार्शल लको घोषणाले जनतामा थप आक्रोश पैदा गरेको छ। सहरका विभिन्न क्षेत्रमा प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। धेरैले युनको राजीनामा माग गरिरहेका छन्, भने समर्थकहरूले उनलाई सत्तामा टिकाउन दबाब दिइरहेका छन्।

दक्षिण कोरियामा बढ्दो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको छ। क्षेत्रीय स्थिरता र सुरक्षा सम्बन्धमा चिन्ता व्यक्त गर्दै केही देशहरूले संयमता अपनाउन आग्रह गरेका छन्।

यो घटना दक्षिण कोरियाली इतिहासमा संवैधानिक प्रक्रियामार्फत राष्ट्रपति पदमाथि प्रश्न उठाइएको दुर्लभ घटनामध्ये एक बनेको छ। अदालतको अन्तिम निर्णयले यस प्रकरणलाई कसरी टुंग्याउँछ भन्ने सबैको चासोको विषय बनेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका