Tuesday, September 22, 2026
Homeसामाचारजलवायु न्याय र हिमाली मुद्दा उठाउँदै प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्दै

जलवायु न्याय र हिमाली मुद्दा उठाउँदै प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। महासभाको उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुँदैछ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनेछन्।

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा रहेको टोली भने उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागी हुन यसअघि नै न्युयोर्क पुगिसकेको छ। उनले विभिन्न मुलुकका समकक्षी तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपालले यसपटकको महासभामा जलवायु परिवर्तन, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। विशेषगरी हालैका बाढी तथा विपद्बाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै जलवायुजन्य जोखिम सामना गर्न वित्तीय तथा प्राविधिक सहयोगको आवश्यकता औँल्याउने तयारी छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले जलवायु संकटलाई जोखिमयुक्त तथा विकासोन्मुख मुलुकको मात्र समस्या मान्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने विषय उठाउनेछ। साथै, जलवायु परिवर्तनबाट भएको हानि–नोक्सानी तथा क्षति सम्बोधनका लागि ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका संयन्त्रमार्फत तत्काल र पर्याप्त आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिनेछ।

जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु–अनुकूल पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण तथा क्षमता विकासमा विकसित मुलुकबाट सहयोगको मागसमेत नेपालले अघि सार्नेछ।

महासभाको अवसरमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु–उत्थानशील भविष्यका लागि कार्यको आह्वान’ शीर्षकमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्ने तयारी गरेको छ।

कार्यक्रममा हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम, प्राकृतिक विपद्को जोखिम तथा समुद्री सतह वृद्धिबीचको सम्बन्धबारे छलफल गरिनेछ। साथै, हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा नेपालको योगदान र त्यसका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयमा समेत धारणा राखिनेछ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको यस वर्षको मुख्य विषय ‘Restoring trust, managing transformation: A United Nations that delivers for all’ रहेको छ। सामान्य बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूले शान्ति, सुरक्षा, विकास तथा अन्य विश्वव्यापी चुनौतीबारे आफ्ना धारणा राखिरहेका छन्।

प्रधानमन्त्री शाह महासभामा सहभागी भएर असोज १० गते शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ। परराष्ट्रमन्त्री खनाल भने असोज १३ गते मंगलबार नेपाल फर्किनेछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका