काठमाडौं: भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई मे ७ मा ‘मक ड्रिल’ अर्थात् नमूना आपतकालीन अभ्यास गर्न निर्देशन दिएको छ। पछिल्लो समय पहलगाममा भएको आक्रमणपछि भारत–पाकिस्तानबीचको बढ्दो तनावका सन्दर्भमा यो अभ्यासलाई विशेष महत्त्वका रूपमा हेरिएको छ।
गृह मन्त्रालय अन्तर्गतको जनरल फायर सर्भिस, सिभिल डिफेन्स तथा होम गार्ड र सिभिल डिफेन्स महानिर्देशनालयले मे ५ मा जारी गरेको पत्रको प्रतिलिपि बीबीसीसँग उपलब्ध छ। यो निर्देशन सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरूलाई पठाइएको हो।
पत्रमा उल्लेख भएअनुसार, देशभरका २४४ सूचीबद्ध नागरिक रक्षा जिल्लाहरूमा नागरिक सुरक्षा अभ्यास सञ्चालन गर्न भनिएको छ। नागरिक सुरक्षा ऐनअन्तर्गत गृह मन्त्रालयले यस्ता अभ्यास गर्न राज्यहरूलाई निर्देशन दिनसक्ने व्यवस्था छ।
मक ड्रिलको उद्देश्य आपतकालीन अवस्थामा जनसाधारणको प्रतिक्रिया परीक्षण गर्नु हो। यसमा चयनित व्यक्ति र स्वयंसेवकलाई पूर्वतयारी तालिम दिइनेछ।
आक्रमण, आगलागी वा अन्य आपतकालीन अवस्थाका लागि पूर्वतयारी मूल्यांकन गर्न मक ड्रिल सञ्चालन गरिन्छ। मे ७ को अभ्यास शहरदेखि ग्रामीण क्षेत्रसम्म विस्तारित हुनेछ।
अभ्यासमा हवाई आक्रमणको चेतावनी प्रणाली परीक्षण, नियन्त्रण कक्षको समन्वय मूल्यांकन, र आपतकालीन समयमा जनतालाई आवश्यक तालिम दिने कार्य समावेश हुनेछ। अभ्यासको क्रममा केही समय बत्तीहरू बन्द राख्ने निर्देशनसमेत दिइन सक्नेछ।
त्यस्तै, नागरिकलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने अभ्यास, आपतकालीन सेवा प्रतिक्रिया परीक्षण, र अन्य सुरक्षासम्बन्धी अभ्यासहरू पनि समावेश गरिनेछ।
ड्रिलमा जिल्ला प्रशासन, नागरिक सुरक्षा स्वयंसेवक, होम गार्ड, एनसीसी, राष्ट्रिय सेवा योजना (एनएसएस), नेहरू युवा केन्द्र, तथा विद्यालय–कलेजका विद्यार्थीहरूको सहभागिता अपेक्षित छ।