Tuesday, August 25, 2026
Homeअन्तराष्ट्रियएच–वानबी भिसामा १ लाख डलरभन्दा बढी शुल्क लगाउने ट्रम्प प्रशासनको प्रस्ताव

एच–वानबी भिसामा १ लाख डलरभन्दा बढी शुल्क लगाउने ट्रम्प प्रशासनको प्रस्ताव

काठमाडौं । अमेरिकामा काम गर्ने सपना देखिरहेका आईटीसहित उच्च दक्ष प्राविधिकहरूका लागि एच–वानबी भिसा प्राप्त गर्ने प्रक्रिया थप महँगो र जटिल बन्न सक्ने भएको छ। ट्रम्प प्रशासनले नयाँ एच–वानबी कामदार भिसामा १ लाख ३ हजार २६५ अमेरिकी डलरसम्म शुल्क लगाउने प्रस्ताव अघि सारेको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले उक्त प्रस्ताव ‘फेडेरल रजिस्टर’मा प्रकाशित गरेको हो। प्रस्ताव अन्तिम रूपमा स्वीकृत भएमा यो शुल्क स्थायी रूपमा लागू हुन सक्नेछ। अमेरिकी प्रशासनले यसलाई वर्षको अन्त्यसम्म अन्तिम रूप दिने तयारी गरेको छ।

नयाँ प्रस्तावअनुसार उक्त शुल्क विदेशबाट एच–वानबी भिसाका लागि आवेदन दिने व्यक्तिमा मात्र सीमित नहुने देखिएको छ। धेरैजसो नयाँ एच–वानबी आवेदकमा यो शुल्क लागू हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

ट्रम्प प्रशासनले यसअघि पनि एच–वानबी भिसामा अस्थायी रूपमा १ लाख डलर शुल्क लगाएको थियो। तर, गत जुनमा एक संघीय न्यायाधीशले उक्त शुल्कलाई गैरकानुनी ठहर गर्दै प्रशासनलाई असुली गर्न रोक लगाएका थिए। अमेरिकी प्रशासनले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेको छ। एक पुनरावेदन अदालतमा यससम्बन्धी सुनुवाइ भइरहेको छ भने अर्को अदालतमा पनि शुल्कलाई चुनौती दिइएको मुद्दा विचाराधीन छ।

एच–वानबी भिसामार्फत अमेरिकी कम्पनीहरूले विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा विदेशी नागरिकलाई रोजगारी दिने गर्छन्। प्रविधि, शिक्षा तथा अनुसन्धानजस्ता क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ। अमेरिकाले हरेक वर्ष ६५ हजार सामान्य एच–वानबी भिसा जारी गर्छ भने उच्च डिग्री हासिल गरेका विदेशी नागरिकका लागि थप २० हजार भिसा उपलब्ध गराउँछ।

सामान्यतया एच–वानबी भिसासँग सम्बन्धित शुल्क करिब २ हजारदेखि ५ हजार डलरसम्म हुने गरेकोमा प्रस्तावित १ लाख ३ हजार २६५ डलर शुल्क त्यसको तुलनामा निकै उच्च हो।

यद्यपि, प्रस्तावित शुल्क सबै एच–वानबी भिसामा लागू हुने छैन। अमेरिकामा विद्यार्थी भिसामा रहेर त्यहीँबाट नयाँ एच–वानबी भिसामा परिवर्तन गर्ने विदेशी नागरिकलाई यसबाट छुट दिइनेछ। त्यस्तै, हाल कायम एच–वानबी भिसाको नवीकरणमा पनि नयाँ शुल्क लागू नहुने प्रस्ताव गरिएको छ।

नियम स्थायी रूपमा लागू भएमा अमेरिकी कम्पनीहरूलाई विदेशबाट नयाँ उच्च दक्ष जनशक्ति भित्र्याउन ठूलो आर्थिक भार पर्नेछ। यसको प्रत्यक्ष असर एच–वानबी भिसामार्फत अमेरिकामा रोजगारी खोज्ने ठूलो संख्याका आईटी तथा अन्य उच्च दक्ष विदेशी प्राविधिकमाथि पर्न सक्ने देखिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका