Thursday, August 20, 2026
Homeअन्तराष्ट्रियइरानसँगको युद्धपछि खाडी क्षेत्रमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

इरानसँगको युद्धपछि खाडी क्षेत्रमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

काठमाडौं । इरानसँगको युद्धपछि अमेरिकाले फारसको खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति घटाउने विषयमा समीक्षा थालेको छ । द वासिङ्टन पोस्ट को रिपोर्टअनुसार पेन्टागनले खाडी मुलुकमा विगतमा जस्तै ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ राखिरहन आवश्यक छ कि छैन भन्नेबारे मूल्याङ्कन गरिरहेको छ ।

युद्धका क्रममा अमेरिकी सैन्य अखडामा ठूलो क्षति पुगेपछि सैन्य उपस्थिति पुनरावलोकन गर्न लागिएको हो । रिपोर्टअनुसार युद्धका क्रममा २०० भन्दा बढी अमेरिकी सैन्य संरचना क्षतिग्रस्त वा ध्वस्त भएका छन् । हाल अमेरिकाले जोर्डनदेखि ओमानसम्म फैलिएका करिब २० वटा सैन्य अखडामा करिब ४० हजार सैनिक तैनाथ गरेको छ ।

यद्यपि, सैन्य उपस्थिति घटाउने विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय भइसकेको छैन । पेन्टागन, जोइन्ट स्टाफ र अमेरिकी सेन्ट्रल कमान्डले युद्धपछि मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथीको स्वरूप कस्तो हुने भन्नेबारे संयुक्त रूपमा मूल्याङ्कन गरिरहेका छन् ।

बहराइनमा अमेरिकी नौसेनाको फिफ्थ फ्लिटको मुख्यालय रहेको छ भने कुवेत, कतार, संयुक्त अरब इमिरेट्सलगायत खाडी मुलुकमा पनि अमेरिकाका ठूला सैन्य अखडा छन् । अमेरिकाले दशकौँदेखि ती अखडामार्फत मध्यपूर्वमा सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ ।

इरानसँगको युद्धका क्रममा अमेरिकी सैन्य अखडाहरू मिसाइल तथा ड्रोन आक्रमणको निशानामा परेका थिए । गत मार्चमा कुवेतस्थित एक अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा ६ अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । युद्धका क्रममा कुल १८ अमेरिकी सैनिकको मृत्यु भएको बताइएको छ ।

इरानी आक्रमणबाट जोगिन अमेरिकी सेनाले १ हजारभन्दा बढी एयर डिफेन्स इन्टरसेप्टर मिसाइल प्रहार गर्नुपरेको थियो । यसका कारण प्याट्रियट र थाडजस्ता वायु रक्षा प्रणालीका मिसाइल भण्डारमा समेत ठूलो दबाब परेको छ ।

भविष्यमा यस्ता आक्रमणको जोखिम कम गर्न सैनिक तथा सैन्य उपकरणको तैनाथी पुनः व्यवस्थित गर्नुपर्ने अमेरिकी अधिकारीहरूको धारणा छ । पेन्टागनमा गल्फ क्षेत्रबाट केही सैनिक तथा सैन्य उपकरण हटाएर जोर्डन, इजरायल वा साउदी अरबको रेड सी किनार नजिक तैनाथ गर्ने प्रस्तावमाथि समेत छलफल भइरहेको छ ।

इरानको प्रत्यक्ष मिसाइल तथा ड्रोन आक्रमणको पहुँचबाट ती क्षेत्र तुलनात्मक रूपमा सुरक्षित हुन सक्ने अमेरिकी अधिकारीहरूको आकलन छ ।

सैन्य तैनाथीको विषयमा ट्रम्प प्रशासनभित्र भने फरक–फरक धारणा देखिएका छन् । एक पक्षले मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति घटाएर स्रोत–साधनलाई आन्तरिक सुरक्षा तथा चीनसँगको रणनीतिक प्रतिस्पर्धामा केन्द्रित गर्नुपर्ने तर्क गरेको छ ।

अर्को पक्षले भने खाडी मुलुक तथा इजरायलमा बलियो अमेरिकी सैन्य उपस्थिति कायम राख्नुपर्ने र त्यसले मात्र मध्यपूर्वमा अमेरिकाको प्रभाव कायम राख्न सक्ने तर्क गरिरहेको रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका