काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो ।
बैठकपछि संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै यथाशीघ्र अदालतमा निवेदन दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार शुक्रबारसम्म निवेदन दर्ता गर्ने तयारी छ ।
इतर समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुन लागेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने तर्क गरेको छ । उक्त विवादको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया रोक्नुपर्ने उनीहरूको माग छ ।
यता, कांग्रेस केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार १५औँ महाधिवेशन प्रक्रिया भने अघि बढिसकेको छ । कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राखेको छ ।
तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरिएको छ । संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी भदौ २४ गते गर्ने तय गरिएको छ ।


