Thursday, August 20, 2026
Homeसामाचारगङ्गा दाहालद्वारा परिवारमाथि लागेको आर्थिक आरोपको खण्डन, भनिन्– ‘५० करोडको हावादारी हल्ला’

गङ्गा दाहालद्वारा परिवारमाथि लागेको आर्थिक आरोपको खण्डन, भनिन्– ‘५० करोडको हावादारी हल्ला’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री एवं स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपको कडा शब्दमा खण्डन गरेकी छन्।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै दाहालले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाउने काम भइरहेको दाबी गरेकी छन्।

विगतमा आफूहरूको ‘दुबईमा ४० अर्ब रुपैयाँ रहेको’ तथा ‘भाटभटेनीलगायत ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ भन्ने आरोप लगाइएको स्मरण गर्दै उनले ती आरोप पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको बताएकी छन्।

दाहालले आरोप लगाउनेहरूलाई त्यसको प्रमाण सार्वजनिक गर्न चुनौतीसमेत दिएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ। म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्?”

आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको दाहालले बताएकी छन्। उनले आफ्नो परिवारले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग रहने बताइन्।

“गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ,” उनले भनेकी छन्।

आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको स्मरण गर्दै दाहालले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने आफ्नो ‘स्कुलिङ’ रहेको समेत बताएकी छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका