काठमाडौं । अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै मिसाइल र ड्रोन आक्रमण गरेको छ।
इरानले जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको हो। इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा विवाह समारोह भइरहेका बेला अमेरिकी मिसाइलका टुक्रा खस्दा एक बालकसहित पाँच जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।
अमेरिकी सेनाले घटनाबारे जानकारी रहेको जनाएको छ। साथै, अमेरिकी सेनाले आफूले कहिल्यै सर्वसाधारणलाई लक्षित गरेर आक्रमण नगरेको दाबी गरेको छ।
यसअघि अमेरिकी आक्रमणपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले त्यसको “परिणाम भोग्नुपर्ने” चेतावनी दिएको थियो।
इरानी समाचार संस्था तस्निमका अनुसार बुधबार बिहानसम्म इरानले जवाफी कारबाही जारी राख्दै जोर्डनको अकाबास्थित अमेरिकी मरीन बेसलाई ब्यालिस्टिक मिसाइलबाट निशाना बनाएको छ।
जोर्डनी सेनाले इरानबाट प्रहार गरिएका १३ वटा ब्यालिस्टिक मिसाइलमध्ये १० वटा नष्ट गरेको र तीन वटा टाढाका क्षेत्रमा खसेको जनाएको छ। घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन।
यस्तै, कुवेतले इरानी मिसाइल आक्रमणको प्रतिवाद गर्न आफ्नो वायु रक्षा प्रणाली सक्रिय गरेको जनाएको छ। बहराइनमा पनि बुधबार बिहान कैयौँ विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
इरानी समाचार संस्था इर्नाका अनुसार इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी अखडालाई लक्षित गरी गरिएको आक्रमणमा एक मर्मतसम्भार केन्द्र, गोदाम र केही उपकरण नष्ट भएका छन्।
अमेरिका र इरानबीचको पछिल्लो सैन्य तनावसँगै मध्यपूर्वका अमेरिकी सैन्य अखडा तथा क्षेत्रीय सहयोगी राष्ट्रहरूमा सुरक्षा सतर्कता बढाइएको छ।


