Friday, April 17, 2026
Homeअन्तराष्ट्रियअमेरिका–इरान युद्धविराम वार्ता दबाबमा, होर्मुज जलमार्गमा तनाव र ऊर्जा आपूर्तिमा अवरोध

अमेरिका–इरान युद्धविराम वार्ता दबाबमा, होर्मुज जलमार्गमा तनाव र ऊर्जा आपूर्तिमा अवरोध

पाकिस्तान । अमेरिका र इरानबिच भएको दुई हप्ते युद्धविराम प्रक्रिया थप दबाबमा परेको छ। दुवै पक्षबिच पाकिस्तानमा वार्ता हुनुअघि नै तनाव बढेपछि वार्ता प्रक्रिया प्रभावित बनेको हो।

शनिबार इस्लामाबादमा दुई पक्षबिच औपचारिक वार्ता हुने तयारी छ। तर त्यसअघि नै दुवै देशले एकअर्कामाथि आरोप–प्रत्यारोप तीव्र पारेका छन्। अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानले सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ भने इरानले लेबनानमा जारी इजरायली आक्रमणलाई युद्धविरामको मुख्य विवादको विषय बनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले जलमार्गबाट तेल आपूर्ति अवरुद्ध गर्ने प्रयास गरिरहेको भन्दै कडा टिप्पणी गरेका छन्। उनले छिट्टै तेल आपूर्ति पुनः सुरु हुने दाबी गरे पनि त्यसका लागि चालिने कदमबारे स्पष्ट गरेका छैनन्।

युद्धविराम लागू भएको पहिलो २४ घण्टामा मात्र एउटा तेल ट्याङ्कर र पाँच वटा अन्य जहाजले उक्त जलमार्ग पार गरेको बताइएको छ। सामान्य अवस्थामा दैनिक करिब १४० जहाज आवतजावत गर्ने यस मार्गमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ।

यसैबीच, इजरायलले लेबनानस्थित हिजबुल्लाह लक्ष्यहरूमा आक्रमण जारी राखेको छ। शुक्रबार बिहान इजरायली सेनाले १० वटा रकेट प्रक्षेपण स्थलमा आक्रमण गरेको जनाएको छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ मिसाइल प्रहार गरेको दाबी गरेको छ।

अमेरिका र इजरायलले हालको युद्धविराममा लेबनानलाई समावेश गर्न नसकिने बताएका छन् भने इरान र मध्यस्थकर्ता पाकिस्तानले लेबनान पनि सम्झौतामा समेटिएको दाबी गरेका छन्। इरानका संसद् सभामुख मोहम्मद बाकर कालिबाफले लेबनान र क्षेत्रीय सहयोगीहरू युद्धविरामको अभिन्न हिस्सा भएको बताएका छन्।

शनिबार पाकिस्तानमा हुने अमेरिका–इरान वार्ताले जारी द्वन्द्व समाधान गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ। इरानले यसअघि सार्वजनिक गरेको १० बुँदे प्रस्तावमा होर्मुज जलमार्गमा नियन्त्रण, आणविक कार्यक्रमको अधिकार स्वीकार र प्रतिबन्ध हटाउने माग राखिएको छ। यसैबीच, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आक्रमणको बदला लिने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका