काठमाडौं: बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ। ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकसहित बागमती प्रदेशले सातै प्रदेशको सहभागिता रहेको प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भयो।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सम्पन्न प्रतियोगितामा गत संस्करणको विजेता सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित रह्यो। सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक प्राप्त गर्यो।
११, १२ र १३औं संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी प्रदेश यसपटक तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य पदक जित्यो।
अन्य प्रदेशहरूको प्रदर्शन यस प्रकार रह्यो:
गण्डकी प्रदेश: ४ स्वर्ण, ११ रजत, १७ कांस्य – चौथो स्थान
कर्णाली प्रदेश: ४ स्वर्ण, ६ रजत, १९ कांस्य – पाँचौं स्थान
मधेश प्रदेश: ३ स्वर्ण, २ रजत, १० कांस्य – छैटौं स्थान
कोशी प्रदेश: स्वर्णविहीन रहँदै ७ रजत र ८ कांस्य – सातौं स्थान
विजेताहरूलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी समिति सदस्यहरू कमलबहादुर भट्टराई, रञ्जना प्रधान, सुवर्ण श्रेष्ठ, सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई र योजना विभाग प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कार प्रदान गरे।
तीन दिनसम्म चलेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो। ६८६ खेलाडीहरूले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा ९ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान समेत कायम भए। प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई कुल १२ लाख रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको थियो।


