Tuesday, May 12, 2026
Home Blog Page 852

धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति

0

म्याग्दी : म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि चालु वसन्तयाममा ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनले बताउनुभयो।

धवलागिरि आरोहण अनुमतिवापत रु ३५ लाख ७० हजार आठ सय ४० र अन्नपूर्ण आरोहण अनुमति वापत रु ५९ लाख ६१ हजार सात सय ८० रोयल्टी (सलामी दस्तुर) सङ्कलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताउनुभयो ।

गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् ।

यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको छ । पेपरले सेभन समिट टे«कका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गर्नुभएको सभेन समिट टे«क्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।

शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।

पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट रु ३४ करोड ४३ लाख ९९ हजार छ सय ५६ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ ।

 

एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने

0

काठमाडौँ: एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा रहेका छन् ।

समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् ।

यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

0

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहनुभएका अर्का उपसचिव भुपालराज शाक्य हुनुहुन्छ ।

तीन दिने अमेरिका बसाइँका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने मन्त्री पुनको सचिवालयले जनाएको छ ।

यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।

मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुँनेछ । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने फोरम हो ।

मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुनुहुनेछ । ती बैठकमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी पाँच वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नुहुनेछ । यसबारे मन्त्री पुनले केही दिनअघि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विश्व बैंक र एसियाली विकास बैंकका काठमाडौँस्थित आवासीय प्रमुखहरुसँग छलफल गर्नुभएको थियो । उक्त बैठकमा माथिल्लो अरुण आयोजनाको वित्तीय व्यवस्थापन सक्दो छिटो गर्ने सहमति भएको थियो । ‘गेम चेन्जर’ आयोजनाका रुपमा रहेको माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्दैछ ।

विश्व बैंक र आइएमएफको बैठकमा मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनुहुनेछ ।

ती बैठक तथा भेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनःनिर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ ।
–––

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

0

गोरखा: नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आउनुभएको करिब तीन दशकभन्दा बढी भइसक्यो । हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उहाँ पनि उमेरमै कटुवाल पेसामा जोडिनुभयो ।

माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउनुहुन्छ । गाउँको खबर गाउँलेका घरघरमा पु¥याउनुहुन्छ । उहाँलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ । पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउनुहुन्छ ।

“गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ”, उहाँले भन्नुभयो, “बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ ।”

मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन । उहाँले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ । “हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु ।” कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउनुहुन्छ ।

“गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्”, मनबहादुरले भन्नुभयो, “त्यहीँ खायो, काम ग¥यो ।” चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उहाँको भनाइ छ ।

“मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ”, मनबहादुरले भन्नुभयो, “त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ ।”

पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउनुहुन्छ । “अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो”, उहाँले भन्नुभयो, “यही पेसाले नै परिवार पालेको छु ।” लामो समयदेखि कटुवाल गर्दै आउनुभएका उहाँलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

“वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो”, मनबहादुरले भन्नुभयो, “अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु ।” कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उहाँ गर्व गर्नुहुन्छ । गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउनुहुन्छ ।

“पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन्,” उहाँले भन्नुभयो, “त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन् ।” पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताउनुहुन्छ ।

“माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ”, उहाँले भन्नुभयो, “उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुुरानो परम्परा हो ।” मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउनुहुन्छ ।

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्यो : एमाले सचिवालय बैठक

0

काठमाडौँ: नेकपा (एमाले) ले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जनाएको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी दिनुहुँदै सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताउनुभयो । बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ ।

परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ । परिषद्को बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आआफ्नो प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

यस्तै बैठकले नेकपाको ७५औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन वृत्तचित्र, झुलाघाट चिवाभञ्जाङ पदयात्रा तथा साङ्गतिक कार्यक्रम गर्ने उहाँले बताउनुभयो । स्थापना दिवसको दिन प्रमुख राजनीतिक दलका नेतालाई सम्बोधन गर्ने र पार्टीमा योगदान गर्नेलाई विशेष सम्मान गर्ने उहाँले बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षमा मुलुकलाई समुन्नत, समृद्ध र विश्वको अन्य देशको हाराहारी मुलुकलाई पुर्याउने सङ्कल्प पार्टीले लिएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले केन्द्र सरकारमा जुन जुन राजनीतिक दलबीच सहकार्य भएको छ, प्रदेश तहमा पनि त्यही राजनीतिक दलबीच सहकार्य हुने जनाउँदै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन दलबीच नै सहकार्य हुने जानकारी दिनुभयो ।

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

0

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गर्नुभएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो ।

साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौँ आउनुभएको थियो ।

भ्रमणका दौरान उहाँले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभएको यहाँस्थित भारतीय दूतवासले जनाएको छ । साथै उहाँले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्यालीलाई सम्बोधन गर्नुभएको थियो । लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गर्नुभएको थियो । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताउनुभएको थियो ।

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

0

दमौली (तनहुँ): तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’ र अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा बन्दीपुर केबलकारको विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ । हालका लागि केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी मात्र सञ्चालन गरिने उहाँले बताउनुभयो । सर्वसाधारणका लागि चाँडै नै मिति घोषणा हुने कम्पनीका इन्जिनियर सुप्रियो मण्डलले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रुपमा खुला गरिएको छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरुप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्ति बनाइएको कम्पनीका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिनुभयो । आकर्षक उल्लुको मूर्ति, भगवान बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मूर्ति साथै जङ्गली जनावरहरुको म्युजियम, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुको म्युजियम रहेको छ ।

अत्यन्तै आकर्षक दाबी गरिएको यो टुरिष्ट पार्क रु ८६ करोडको लागतमा तयार भएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिनुभयो । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँचसय, माइक्रो रु एक हजार र ठूला बसका लागि रु एक हजार पाँच सय मूल्य तोकिएको छ । तर कम्पनीले अफरको रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेण्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेष्टुरेष्ट म्यानेजर प्रकाश श्रेष्ठले बताउनुभयो ।

परियोजनाअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको हल, स्काइ वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जीप लाइन लगायतका पूर्वाधार अगाडि बढाएको छ । जसको कूल लागत रु छ अर्ब २९ करोड पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गरिएको छ ।

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

0

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमलकुमार खड्का रहनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो ।

नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी, इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

अष्ट्रेलियामा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुल्यो

0

सिड्नी : हिजो शनिबार सिड्नीको वेस्टफिल्ड बोन्डी जन्क्सन कम्प्लेक्समा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ।
हत्यारा ४० वर्षीय जोएल काउची रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी मानसिक रोगी भएको र एक महिना अघि मात्र क्वीन्सल्याण्डबाट सिड्नी आएका थिए।

काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड जन्क्सनमा चक्कु प्रहार गरी ५ महिला र १ पुरुष गरी ६ जनाको हत्या गरेका थिए भने ८ जना घाइते भएका थिए।

तर उनले गरेको चक्कु प्रहारलाई “आतंकवादी कार्य” को रूपमा वर्णन नगर्ने प्रहरी अधिकारीले जनाएका छन्।

क्वीन्सल्याण्ड प्रहरीका अनुसार काउची लामो समय घुमफीर गर्दै बसेका थिए र उनलाई १७ वर्षको उमेरमा मानसिक रोग लागेको पत्ता लागेको थियो।

काउचीको परिवारले उनको यो कार्यलाई “भयानक” घटना बताएको र क्वीन्सल्याण्ड प्रहरी मार्फत जारी विज्ञप्तिमा “उनमा किशोरावस्थादेखि नै मानसिक स्वास्थ्य समस्याहरू” भएको बताएको छ।

काउचीको परिवारले भन्यो, “हिजो सिड्नीमा भएको बीभत्स घटनाबाट हामी पूर्ण रूपमा स्तब्ध भएका छौं।” “हाम्रो विचार र प्रार्थना पीडितका परिवार र साथीहरू र यस समयमा अझै उपचार गराइरहेकाहरूसँग छ।”

परिवारले भन्यो, “जोएलका कार्यहरू साँच्चै भयानक थिए, र हामी अझै के भयो भनेर बुझ्न प्रयास गरिरहेका छौं।”

उनीहरूले आफूहरू प्रहरीसँग सम्पर्कमा रहेको र श्री काउचीलाई गोली हानेका अधिकारीसँग “कुनै समस्या” नभएको बताए। “उनले अरूलाई बचाउनको लागि आफ्नो ड्युटी निभाएकी थिइन्।”

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ: डा चन्द्र भण्डारी

0

नेपालगञ्ज : हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका बारेमा नेताहरु इमान्दार र विवेकशील हुन जरुरी छ । निर्वाचनको यो मिश्रित व्यवस्था अल्पसङ्ख्यकहरूको संरक्षणका लागि गरिएको हो ।

अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ । प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५ जना निर्वाचित गर्ने व्यवस्था राख्नुपर्ने देखिन्छ । प्रदेशको ठूलो सङ्ख्या पनि आवश्यक छैन । स्थानीय तह जे छ राम्रो छ, कमीकमजोरी भए सुधार गरेर लैजानुपर्छ । यस्तो गर्दा जनप्रतिनिधिहरुको सङ्ख्या घटेर १८ हजार हुन्छ । यस्तो हुने बित्तिकै सरकारले स्थायित्व पाउँछ । यत्रो कर्मचारीतन्त्र यो डिजिटल युगमा जरुरी छैन । इन्जिनियर, चिकित्सकको विज्ञापन खोलेर गाउँगाउँ पठाइदिन सकिन्छ । यस्तो भयो भने मुलुकले एउटा कोर्स लिन्छ । समावेशी, समानुपातिक निर्वाचन प्रणाली मात्रै भनेर पनि हुँदैन, यो त सुधार गर्नैपर्छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट विज्ञ व्यक्तिलाई सदनमा ल्याउनुपर्ने थियो । उनीहरुलाई विभिन्न संसदीय समितिमा राखेर काम गर्न पाएको भए प्रभावकारी हुन्थ्यो । यसमा अरुले खेल्ने मौका पाउने थिएनन् । हामीले सुरुमा बिरुवा रोप्दा नै हाम्रो आवश्यकताका बारेमा ख्याल गरेनौँ । असन्तुष्टिलाई मात्र ध्यान दिने हो भने अझ अराजकता हुन्छ । जे छ राम्रो गराउने प्रयास गराउनु पर्यो । अब आउने पुस्ताले राम्रो गर्नुपर्छ । संसदीय समितिलाई प्रभावकारी बनाउन सबै पार्टीले समानुपातिक प्रणालीबाट विज्ञहरुलाई ल्याउनुपर्छ ।

संसदमा आफ्ना विचार प्रस्तुत गर्ने क्रममा जुन तर्कहरु आएका हुन्छन् ती निःसन्देह जनताप्रति केन्द्रित र जवाफदेही नै हुने गरेका पाइन्छन् । संसद््लाई अझ बढी चलायमान बनाउन संसदभित्र विभिन्न समिति क्रियाशील छन् र ती पनि निकै शक्तिशाली छन् । यसलाई ‘मिनी संसद्’ पनि भनिन्छ । संसद् र संसदीय समितिले सरकारलाई सचेत गर्न र जनताप्रति जवाफदेही तुल्याउन भूमिका निर्वाह गरिरहेका हुन्छन् । शक्तिपृथकीकरणको मूल मान्यताका आधारमा संसद्ले काम गरिरहेको हुन्छ । तथापि, संसद्को सञ्चालन र प्रभावकारिता अभिवृद्धिका लागि राजनीतिक नेतृत्वका अघिल्तिर ठूलो जिम्मेवारी हुने गर्दछ । राजनीतिक नेतृत्व गम्भीर नभई आफ्नो मात्रै स्वार्थमा लाग्ने, आफ्ना सन्तानलाई गलत काममा लगाउने, आफ्नो परिवारलाई बढावा दिने, आफ्नो गुटलाई प्रश्रय दिने गरेमा मुलुकभित्र नैराश्यता बढ्नुका साथै देशभित्र अनेक समस्या सिर्जना हुने गर्दछ ।

वास्तवमा दलका नेतृत्ववर्गले यस वस्तुतथ्यलाई आत्मसात् गर्न जरुरी छ । म कुन घरमा बसिरहेको छु र मेरो घरको लक्ष्य के हो भन्ने कुरा घरको नेतृत्व गर्नेलाई थाहा हुन जरुरी छ । घरलाई सबल बनाउन अरुभन्दा भिन्न तरिकाले मिलाएर लैजाने हुनुपर्छ । अहिले न्यायपालिकामा हुने नियुक्तिमा भागबण्डा गर्नेजस्तो गलत अभ्यास थालिएको छ । अन्य निकायमा पनि आफ्नै मान्छेलाई लैजान खोज्यौँ, संवैधानिक नियुक्तिमा पनि आफ्नै नियुक्ति खोज्यौँ । यस अभ्यासले राम्रोसँग काम गर्न सकेन, ‘डेलिभरी’ दिन सकेन । सदनमा कुखुरा पाल्ने, गाई पाल्ने, हलो जोत्ने, कोदालो खन्ने, श्रमिक वा कुनै किसान होस् उनीहरुको पक्षमा जनप्रतिनिधिले के बोल्छन् भन्ने कुरा चासो दिने विषय प्राथमिकतामा पर्नुपर्छ । हामीले जनतालाई पनि पार्टीगत रुपमा विभाजित गरिरहेका छौँ ।

मेरो निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नं १ मा सबैभन्दा बढी प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य नै हो । शिक्षालाई राम्रो बनाउन शिक्षकलाई अपग्रेड गर्नुप¥यो । विद्यार्थी, अभिभावकलाई स्कुल ल्याउन आकर्षण बढाउनुपर्छ । जनताको स्वास्थ्यलाई ख्याल गरेर विशेषज्ञ चिकित्सक, ल्याब हुनुपर्छ । विकास भनेका सडक, खानेपानी विद्युत् पनि हो तर यो निरन्तर हुने प्रक्रिया हो । अर्गानिक खेतीका लागि यहाँ अत्यन्त अनुकूल अवस्था छ । त्यसका लागि किसानलाई अनुदान दिनुपर्छ । यहाँ बेलायती सेना, नेपाली सेना, प्रहरीमा काम गरेका विज्ञहरु थुप्रै हुनुहुन्छ । लामो अनुभव प्राप्त गरेका हुनुहुन्छ । यहाँका युवालाई जिल्लामै विभिन्न अवसर दिनसके विदेश जानै पर्दैन ।

अर्को, कालीगण्डकी कोरिडोरले गर्दा सालझण्डी बजार नजिकै पर्न सक्छ । त्यहाँबाट बुटवल बजारसम्म आफ्ना उत्पादन लैजान सक्छौँ । कालीगण्डकी जलविद्युत्ले गर्दा पोखरासम्म पनि हाम्रा उत्पादन जान सक्छन् । यसबाट किसानले प्रशस्त लाभ लिन सक्छन् । यस्तो अवस्थामा बीउ, मल, सिँचाइको अभाव किसानलाई हुनुहुँदैन । कफी, किबी, कोदोको उत्पादन बढाउन सकिन्छ । हामीले यी उत्पादनको ब्रान्डिङ गर्नु जरुरी छ । यसबाहेक कालीगण्डकीको रिडीमा शालिग्राम छ । त्यो शालिग्राममा जलधारा गराएर त्यहाँ एउटा टावरजस्तो बनाइयो भने धार्मिक पर्यटनका रुपमा विकास हुन सक्छ । धार्मिक पर्यटनसँग रुरु क्षेत्र, रेसुङ्गा क्षेत्र जोडिन्छ । यसबाहेक अन्यन्त मनमोहक दृश्यहरु छन् जसले पर्यटनको प्रचुर सम्भावनालाई पनि देखाउँछ । अर्गानिक आलुको उत्पादन भइरहेको छ । त्यस्तै सुन्तला उत्पादन हुन्छ । यसै वर्ष रु १३ करोड बराबरको सुन्तला गुल्मीबाट निकासी भयो । यसलाई अझै व्यवस्थित गर्ने हो भने रु ४० करोडसम्मको सुन्तला निकासी हुन सक्छ ।

वैदेशिक रोजगारीको कुरा त पहिलेको विकृतिको हो । पहिलेका व्यक्तिको अदूरदर्शिता । राजनीति मात्रै गर्ने राष्ट्रनीतिका विषयमा कुनै छलफल नगर्ने प्रवृत्ति रह्यो । उहाँहरुको विकृत मानसिकताबाट हाम्रो पुस्ताले भारी बोक्नुपर्ने अवस्था देखिएको छ । यसलाई रोक्नका लागि वा न्यूनीकरण गर्न स्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, सूचना प्रविधि, रोजगारीको ग्यारेन्टी हुनुपर्छ । विदेशमा रहेका नेपालीले कमाएको पैसा सरकारले ऋण लिएर देशमा लगानी गर्न सक्छ । उहाँहरुको लगानी नेपालमा नै भएपछि उहाँहरु फर्केर आउनुहुन्छ । त्यसैले हाम्रो देशलाई शिक्षा, स्वास्थ्य, आइटी र जलस्रोतको केन्द्रका रुपमा विकास गर्नुपर्छ । हामी भारत र चीनको बीचमा छौँ, दुवै देशले धेरै प्रगति गरेका छन् । हामीले ठूलो मात्रामा उद्योग स्थापना गर्न सक्दैनौँ । अहिलेको सोच र चिन्तनबाट म त्यो सम्भव देख्दिनँ । नेपालभित्र नेपाली खोज्न सक्नुपर्छ ।