Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 853

उपकरण छ, चिकित्सक छैन

By
Himalayan Tribune
-
April 14, 2024
0

हेटौँडा: अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंलेचाँडोभन्दा चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन पर्यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्”, अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उहाँको भनाइ छ । अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि मधेस प्रदेशबाट सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

हाडजोर्नी, छालारोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताउनुभयो । रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको रु एक करोडको उपकरण प्रयोगविहीन छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

By
Himalayan Tribune
-
April 14, 2024
0

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ ।

यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो । “चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो”, उहाँले भन्नुभयो, “जिल्लामा पछिल्लो दुई/तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।” आव २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो । पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएकाले क्षेत्र विस्तार भएको ढकालले बताउनुभयो ।

सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन् । चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ । बालीविज्ञ ढकालले भन्नुभयो, “जिल्लामा गत आवमा चैते धानको उत्पादन छ हजार एक सय २३ मेट्रिक टन भएको थियो भने यो सिजनमा क्षेत्र बढेकाले छ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।” वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको उहाँको बुझाइ छ । कतिपय स्थानमा किसानले एउटै धानको बीउ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको ढकालले बताउनुभयो ।

जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । “धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।” जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीले बताउनुभयो । जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उहाँले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताउनुभयो ।

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

By
Himalayan Tribune
-
April 14, 2024
0

वीरगञ्ज (पर्सा): पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो ।

आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले ठूलो लगानीमा होटल तथा रिसोर्ट खोल्न थालेका हुन् । केही समयअघिसम्म दुई÷तीन वटा मात्र होटल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट खुलेका होटल व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो । “निकुञ्जभित्र र बाहिर थुप्रै होटल तथा रिसोर्ट खुलेका छन्”, श्रेष्ठले भन्नुभयो, “अझै खुल्ने क्रम जारी छ ।”

पर्सा निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर होटल खुलेका हुन् तर निकुञ्जमा पर्यटक नआउँदा समस्या भएको उहाँले बताउनुभयो । निकुञ्ज नजिक रु दुई करोड ५० लाखको लगानीमा रिसोर्ट निर्माण भएको छभने मध्यवर्ती क्षेत्रको बफर जोनमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या पनि बढ्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।

पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम क्रमशस् बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताउनुभयो । चालु आर्थिक वर्षको आठ महिनामा छ १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ जना, र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताउनुभयो ।

अघिल्लो आवको सोही अवधिमा एक सय ४० जना पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए । कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

By
Himalayan Tribune
-
April 14, 2024
0
फिक्कल (इलाम): जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो ।
चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय साठीको लागतमा छवटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।
माईजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् । वडा नं १ स्थित लप्सीबोटे फलाटेगाउँमा रु ८९ लाख ९७ हजारको लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ । त्यस्तै सोही वडाको ठूलोबेँसीमा रु ४२ लाख ७८ हजार तीन सय ४३ को लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा नं २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ को लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजुर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ । वडा नं ५ को साठीमुरे बेँसीमा रु ३९ लाख ५८ हजार तीन सय ६६ को लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा रु ८२ लाख ६४ हजार दुई सय ८२ को लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ ।
यसैगरी, रु ७७ लाख ६१ हजार सात सय ७७ को लागतमा एक सय ४८ किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताउनुभयो । आयोजना सम्पन्न भएपछि माईजोगमाईका तीनवटा वडामा बाह्रैमास पानी पुग्नेछ । आयोजनाले तीन सय ५८ किसानका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताउनुभयो । “वर्षौंदेखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माईजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ”, राईले रासससँग भन्नुभयो, “यहाँका तीन सय ५८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।” साना सिँचाइ आयोजनामा स्वीस सरकारको रु एक करोड १४ लाख ९४ हजार छ सय ९८, सङ्घीय सरकार, प्रदेश सरकार र माईजोगमाई गाउँपालिकाको रु ७६ लाख ६३ हजार एक सय ३२ का र स्थानीय उपभोक्ताको रु ३८ लाख ३१ हजार पाँच सय ६६ लागत साझेदारी छ ।
यसअघिमाईजोगमाई गाउँपालिकामा रु चार करोड ७० लाख ८२ हजार आठ सय २५ को लागतमा नौवटा सिँचाइ कुलो निर्माण भएका छन् । ति कुलोबाट चार सय आठ हजार नौ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । माईजोगमाईमा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मूला, काउली, काबी, बन्दा, सिमीजस्ता तरकारीको व्यावसायिक खेती हुँदै आएको छ ।

नयाँ वर्षमा नेपाली चलचित्रले पायो दर्शकको भब्य साथ

By
Himalayan Tribune
-
April 13, 2024
0

काठमाडौँ: नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।

वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा हुनुहुन्छ । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो ।

“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र युवाको बेरोजगारी अवस्थालाई माइलाको पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भन्नुभयो, “यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पुरा भयो । यो कथा धेरैसम्म पु¥याउनु थियो ।”

डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’ मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता बिपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताउनुभयो । “हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “वर्तमान समयलाई दस्तावेज गरेका छौँ । यसले हाम्रो रहनसहन र समाजलाई देखाउँछ ।”

चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’ मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ । निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार (ग्रस कलेक्सन) गरेको उहाँको दाबी छ । आज १ गते तीनै नेपाली चलचित्रको शो भरिभराउ भएकाले कूल रु तीन करोड बराबरको व्यापार गर्ने अनुमान वितरकको छ ।

 

खेलाडी पलायन शृंखला: भलिबलका चम्किला खेलाडी रवि पनि विदेशिए

By
Himalayan Tribune
-
April 13, 2024
0
गण्डकी: खेलाडी खेलबाट पलायन भई विदेशिने शृंखला बढ्दो छ। केही महिना अघि फूटबल आशलाग्दा केही राष्ट्रिय खेलाडीहरू जीविकोपार्जनका लागि भविष्य खोज्दै  विदेशीएका थिए। अहिले भलिबलका आशलाग्दा खेलाडी विदेशीएका छन्। भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् ।
नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ ।
देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन् ।
तीन वर्षअघि ‘एनभिए भलिबल च्याम्पिएनसिप’ खेल्दै राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका प्रभावशाली ओपन स्पाइकर रविले भलिबल करिअरलाई बिट मार्दै विदेशिएका हुन् । राष्ट्रिय टिमबाट भलिबल खेल्ने सपना पूरा नभएपछि भविष्य सोचेर नयाँ बाटो तय गरेको उनले सुनाए ।
“भलिबलमा राम्रै भइरहेको थियो, प्रतियोगिता पनि खेलिरहेको थिएँ”, २४ वर्षीय रविले भने, “राष्ट्रिय टिमबाट खेल्न पाएको भए अझै केही वर्षसम्म भलिबल खेलिन्थ्यो होला, त्यो अवस्था नभएपछि भविष्य सोचेर विदेश जाने निर्णय लिएँ ।”
उनले राष्ट्रिय टिममा पर्न सके पुनः भलिबलमा फर्कने सोच बनाएको बताए । “केही महिनामा राष्ट्रिय टिमको छनोट हुन्छ, हेरौँ खेलाडीको सूची कसरी आउँछ”, रविले भने । गत वर्ष भलिबलको क्लोज क्याम्पमा परे पनि उनी राष्ट्रिय टिममा छनोट हुनसकेका थिएनन् । छोटो अवधिमै भलिबलमा चम्मेका रवि फेरि कोर्टमा फर्केलान्÷नफर्केलान् तर खेलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् ।
बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि कुनै औपचारिक प्रशिक्षणबिनै भलिबलमा उदाएका प्रतिभा हुन् । चौध–पन्ध्र वर्षको उमेरदेखि गाउँका कुनाकन्दरामा भलिबल खेल्दै, सिक्दै अगाडि बढेका रविले देशको जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए । गाउँठाउँमा लोकप्रिय पनि रहेको र सानैदेखि अरुले खलेको देख्दा भलिबलतिर रुचि जागेको उनले सुनाए ।
दुई वर्षअघि बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का खेल्न पाउनुलाई उनले करिअरकै महत्त्वपूर्ण अवसरका रुपमा सम्झन्छन् । त्यो उनले देशका लागि खेलेको एकमात्र प्रतियोगिता हो । अन्य प्रतियोगिताका सिलसिलामा भने रवि मलेसिया र हङकङ पनि पुगेका थिए । “राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुनसकेन, क्लोज क्याम्पमा परेर पनि छनोटमा परिनँ”, उनले भने, “नेपाल भलिबल सङ्घले नयाँ खेलाडीलाई पनि स्थान दिनुपर्छ ।”
रविले नेपालमा हुने राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए । अधिकांश खेलमा उनी उत्कृष्ट खेलाडी घोषित हुन्थे । गत वर्ष पोखरामा भएको तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रुपमा उनले रु २५ हजार र ट्रफी हात पारेका थिए । त्यसयताका प्रतियोगितामा पनि उनले सफलता जारी राखे ।
यसै वर्ष वीरगञ्ज स्मृति कप, लामाचौर कप र प्रदेशी हातेमालो सोसाइटीले हङकङमा आयोजना गरेको प्रतियोगितामा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए । रविले हालै सुर्खेतमा भएको ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता र पोखरामा आयोजित चौँथो टाइगर कपमा गण्डकी प्रदेश टिमबाट खेलेका थिए । उनले गलकोट भलिबल टिमबाट पनि दर्जनौँ प्रतियोगिता खेल्दै टिमलाई जित दिलाएका थिए ।
गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसीले हरेक प्रतियोगितामा रविले उत्कृष्ट प्रदर्शन गर्ने गरेको स्मरण गरे । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले शक्तिबाली स्पाइक गर्न सक्छन्, उनको बलियो पक्ष भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो”, केसीले भने । रवि राष्ट्रिय टिममा पर्न योग्य खेलाडी रहेको उनको भनाइ छ ।
  छोटो समयमै रविले भलिबलमा आफूलाई प्रमाणित गरेका थिए । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए । “नेपालको अवस्था पनि यस्तै छ, खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेर मैले बिदेसिनुपरेको हो”, उनले भने ।
अवसर पाएमा जापानमा पनि भलिबललाई निरन्तरता दिने सोचमा उनी छन् ।  खेल कौशल सँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । भलिबलमा चम्किएका रविको बर्हिगमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरुले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् ।
खेल टिप्पणीकार हेमराज हमालले उत्कृष्ट स्पाइकर रविलाई देशमा टिकाउन नसकिएकामा दुःख व्यक्त गरे । “रवि नेपालकै लागि लामो समय उत्कृष्ट स्पाइकर बन्न सक्थे, बिडम्वना राम्रा खेलाडी प्रतिभाहरु नै विदेश पलायन हुनुपर्ने अवस्था छ”, उनले भने ।
जिल्ला भलिबल सङ्घ, बागलुङका अध्यक्ष योगेश भण्डारीले रवि नेपाली भलिबलको प्रतिभावान खेलाडी रहेको बताए । भलिबलमा करिअर बनाएका धेरै नेपाली खेलाडीहरु विदेश पलायन भइरहेको उनको भनाइ छ ।
“विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ”, उनले भने “राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।” राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने अध्यक्ष भण्डारीले बताए ।

आज नयाँ वर्ष २०८१: राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना

By
Himalayan Tribune
-
April 13, 2024
0

राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।

नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।

“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु ।”

यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिनुभएको छ । “द्वन्द मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस् । यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गर्नुभएको छ । “नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।

 

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

By
Himalayan Tribune
-
April 13, 2024
0

खोटाङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उहाँलाई चयन गरेको हो ।
अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गर्नुभएको थियोभने उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाउनुभएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित हुनुभएको थियो ।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी हुनुभएको छ । समावेशी उपसचिवमा कविता राई विजयी हुनुभएको छ । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिनु भएको छ ।

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी हुनुभएको छ । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी हुनुभएको छ । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी हुनुभएको छ । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी हुनुभएको छ । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

By
Himalayan Tribune
-
April 13, 2024
0

ताप्लेजुङ: त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो ।

सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।

अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताउनुभयो ।

प्रबन्ध निर्देशक घिसिङले यो सँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताउनुभयो । देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उहाँले विद्युत् आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो ।

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षण प्रसारण अवलोकनका लागि यहाँ आएको थियो ।

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

By
Himalayan Tribune
-
April 13, 2024
0

काठमाडौँ: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको राससलाई बताउनुभयो ।
उहाँले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताउनुभयो ।

“जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,”– उहाँले भन्नुभयो । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ । उहाँले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताउनुभयो ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताउनुभयो । यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताउनुभयो । उहाँले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गर्नुभयो ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ ।

1...852853854...1,301Page 853 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune