Tuesday, May 12, 2026
Home Blog Page 854

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

0

काठमाडौँ: नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उहाँले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क सङ्गीत पढाइरहनुभएको छ ।

“गीतसङ्गीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ । विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, सङ्गीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । यो हाम्रा लागि ठूलो खुसीको कुरा पनि हो”, गायक पौडेलले भन्नुभयो ।

अमेरिकाको ओहायो सहरमा उहाँले गीतसङ्गीतको कक्षा सञ्चालन गरिरहनुभएको छ भने उहाँका अरु साथीहरुले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहनुभएको छ ।

उहाँका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ । सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरु कक्षामा सहभागी छन् । उनीहरुले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीतसङ्गीतमा रमाएका छन् ।

गीतसङ्गीत मन नपराउने मानिस कमै होलान् । अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो । अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो सङ्गीत कक्षा हेर्दा सहभागीहरु नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन् । यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीतसङ्गीतको भोक मेटाउन नसकेकाहरुले अहिले यसमा लागिपरेका छन्, भन्नुहुन्छ पौडेल ।

“प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरु खुसी मात्र हुनुहुन्न, उहाँहरु यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ । यी कक्षाका विद्यार्थीले गीतसङ्गीतमा आफूहरु लाग्ने तयारी नै थाल्नुभएको छ । म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरुभन्दा कम खुसी छैन, निकै नै उत्साहित छु”, गायक पौडेलले भन्नुभयो ।

नेपालमा आफ्ना दुईसहित फुटकररुपमा तयार गरिएका २५ गीतिसङ्ग्रहमा स्वर र सङ्गीत दिइसक्नुभएका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित हुनुभयो । विसं २०७६ मा अमेरिका पुगेपछि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिनुभयो र त्यसयता सङ्गीत सिकाउने शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

“म सङ्गीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ । प्रवासमा आएर सङ्गीत नै सिकाउन पाउँदाको खुसीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन । अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्”, उहाँले भन्नुभयो ।

रेडियो नेपालमा विसं २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट हुनुभएका गायक पौडेले देश छाडेर पनि सङ्गीत छाड्न सक्नुभएको छैन । उहाँले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गर्नुभएको छ । नेपाल आउँदा प्रायः गीत लिएर नै यहाँ आउनुहुन्छ ।

विविधि कारणले प्रवास जानु परे पनि गीतसङ्गीतप्रतिको आफ्नो सक्रियतालाई उहाँले घट्न दिनुभएको छैन । यतिखेर पनि उहाँले १० वटा गीत लिएर आउनुभएको थियो उत्पादन गर्न । तर, गीतिसङ्ग्रह नभई एक÷एक गीत सार्वजनिक गर्ने योजना उहाँले बनाउनुभएको छ ।

गायक पौडेल आफू गीतसङ्गीतमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढ्नुभएको छ । नेपालमा रहँदा नै गीतसङ्गीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीतसङ्गीतप्रति आकर्षित गरिरहनुभएको छ ।

नेपाली गीतसङ्गीतप्रतिको यो मोह र लगावबाट उहाँले यस क्षेत्रलाई योगदान त दिनुभएकै छ । यसका अतिरिक्त उहाँले पछिल्लो समय नेपाली सङ्गीत उद्योगलाई पनि टेवा दिन थाल्नुभएका रुपमा पनि बुझ्न सकिन्छ । किनभने उहाँ हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गर्नुभएको छ । उहाँले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गर्नुभयो । यो उहाँको नियमित कार्यक्रम जस्तै बनेको छ ।

नेपालीहरुले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ । साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन् । कलाकारहरुले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दुर गरिदिनुभएको छ ।

यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीतसङ्गीत उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ । गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसङ्गीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाउनुभएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हुरीबतासको चेतावनी

0

काठमाडौँ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको बताउँदै ती भूभागका सबैलाई सचेत रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी, बागमती र मधेस प्रदेशलगायत म्ल्कका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

0

म्याग्दी: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हँुदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।

“छ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ”, उहाँले भन्नुभयो, “यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।”

मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो ।

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ । मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–लस्ती खण्डमा छ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ । तेह्र किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा छ किमी, मार्फा–जोमसोम खण्डमा छ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताउनुभयो ।

कूल रु १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब रु सात अर्ब खर्च भएको जनाइएको छ ।

युद्धको समय आएको उत्तर कोरियाली शासक किम जोङ उनको चेतावनी

0

काठमाडौं । उत्तर कोरियाका सैन्य शासक किम जोङ उनले युद्धको सन्दर्भमा फेरि एकपटक ठूलो बयान दिएका छन् । उनले देशको सैन्य र राजनीतिक अवस्था स्थिर नभएको बताए । त्यसैले पहिलेभन्दा अहिले युद्धका लागि तयार हुनुपर्छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले देशको मुख्य सैन्य विश्वविद्यालयको भ्रमण गरेका थिए। यस महिनाको सुरुमा उनले नयाँ हाइपरसोनिक मध्यवर्ती ब्यालिस्टिक मिसाइलको परीक्षण गरेका थिए। यसबारे विश्लेषकहरूले भनेका थिए – यो ब्यालेस्टिक मिसाइलले उत्तर कोरियाको मिसाइल तैनाथ गर्ने क्षमतालाई अझ बलियो बनाउनेछ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले सैन्य तनाव बढाएको आरोप लगाउँदै आएको छ। केही समयअघि उत्तर कोरियाका शासक किम जोङ उनले आणविक हतियारको बारेमा कुरा गर्दै भनेका थिए – यदि शत्रुले उक्सायो भने हामी परमाणु हमला गर्न हिचकिचाउने छैनौं।

किमले यदि दुश्मनले परमाणु आक्रमणको धम्की दिन्छ वा उक्साउँछ भने हामी आणविक हतियार प्रयोग गर्न हिचकिचाउने छैनौं भन्ने स्पष्ट निर्देशन दिएका थिए। यसपछि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ह्वाङ–१८ प्रक्षेपण गरेको थियो ।

उत्तर कोरियाले आफू युद्धको विरुद्धमा रहेको र आत्मरक्षाका लागि आफ्नो आणविक हतियार राखेको दाबी गरेको छ । अमेरिका, दक्षिण कोरिया र जापानको ‘शत्रुतापूर्ण’ नीतिको सामना गर्न यी आवश्यक भएको उसको भनाइ छ ।

गत वर्ष सैन्य परेडका क्रममा किमले आफ्नो आणविक शक्तिलाई देशको हितविरुद्ध गतिविधि गर्ने जोसुकैलाई आक्रमण गर्ने जिम्मा दिएको बताएका थिए । गत वर्ष सेप्टेम्बरमा नै उत्तर कोरियाले सम्भावित आक्रमणको खतरालाई मध्यनजर गर्दै पहिले आणविक हतियार प्रयोग गर्ने अधिकार दिने आफ्नो एउटा कानुनमा संशोधन गरेको थियो ।

कानून अनुसार उत्तर कोरियामा आणविक हमलाको धम्की आएमा, त्यहाँको नेतृत्व वा जनताको जीवनमा खतरा भएमा वा कुनै देशले आक्रमण गर्ने तयारी गरिरहेको अवस्थामा त्यस्तो अवस्थामा आणविक हतियार प्रयोग गर्न सकिने व्यवस्था छ ।

यस कानूनमा किम जोङलाई आणविक हतियारको प्रयोग सम्बन्धी सबै निर्णय लिने अधिकार दिइएको छ । तर यदि कमाण्ड र कन्ट्रोल प्रणालीले खतरा महसुस गरेमा, मिसाइल ‘स्वचालित रूपमा’ प्रक्षेपण हुनेछ। यसको मतलब, किम जोङको स्वीकृति आवश्यक पर्दैन।

यस वर्षको सेप्टेम्बरमा नै अर्को संवैधानिक संशोधन गरिएको थियो, जसले अमेरिकी उत्तेजकहरूलाई रोक्न आणविक हतियारको उत्पादनलाई तीव्र पार्ने अधिकार दिन्छ। जुलाईमा उत्तर कोरियाका रक्षामन्त्री काङ सुन नामले दक्षिण कोरियामा अमेरिकी विमानवाहक, बमवर्षक र मिसाइल पनडुब्बी तैनाथले आणविक हतियारको प्रयोगको जोखिम बढेको बताएका थिए ।

विश्वमा सबैभन्दा बढी साइबर अपराध रुसमा

0

काठमाडौं। रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ। विज्ञहरुले सार्वजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो। त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ।

यस सूचीमा अमेरिका चौथो स्थानमा छ भने नाइजेरिया पाँचौँ, रोमानिया छैटौँ, उतर कोरिया सातौँ, बेलायत आठौँ ब्राजिल नवौं र भारत दशौँ स्थानमा रहेका छन्।

प्रतिवेदनमा र्यान्समवेयर, क्रेडिट कार्ड चोरी र जालसाजीलगायत साइबर अपराधका विभिन्न वर्गका आधारमा मुख्य हटस्पटहरू पहिचान गरिएको थियो। साइबर अपराध मामिलाहरु को आधार मा दिइएको स्कोर ‘विश्व साइबर क्राइम इन्डेक्स’ मा साइबर अपराधका घटनाका आधारमा अंक दिइएको छ। तर, केसको संख्या भने उल्लेख गरिएको छैन। रुसको विश्व साइबर क्राइम इन्डेक्स स्कोर १०० मध्ये ५८.३९, युक्रेनको ३६.४४ र चीनको २७.८६ थियो।

अक्सफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ न्यु साउथ वेल्सका विज्ञहरूले साइबर अपराधबारे विश्वव्यापी अध्ययन गरेका थिए। यसका आधारमा सूचकांक तयार गरिएको हो।

उक्त अध्ययनले साइबर अपराधका मुख्य पाँच वर्गमा केन्द्रित थियो। यी विज्ञहरूले प्रत्येक साइबर अपराध श्रेणीको प्राथमिक स्रोत मानिने देशहरू पहिचान गरे। यसबाहेक, तिनीहरूले साइबर अपराध गतिविधिको प्रभावको आधारमा प्रत्येक देशलाई वर्गीकरण गरे।

नेपालले मलेसियालाई ५ विकेटले हरायो

0

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। यस्तै कुशल भुर्तेलले २४, कप्तान रोहित कुमार पौडेलले २८ रन बनाए। दिपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदा गुल्शन झाले ७ बलमा २ छक्का र एक चौकाको मद्दतमा १९ रन बनाए। सन्दीप जोराले ९ बलमा १२ रन बनाए। मलेसियाका कप्तान भिरनदिप सिंहले ३ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको थियो । मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहे। यस्तै शार्भिन मुनियान्डीले ४१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनाश बोहोराले १ विकेट लिए।

आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ।

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

0

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक, शैक्षिक तथा सांस्कृतिक र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, विज्ञान प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

राजदूत हाशमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल र पाकिस्तानबीच अबरुद्ध हवाई सेवा पुनः सञ्चालनको आवश्यकता औल्याउनुभयो ।

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँः राष्ट्रपति पौडेल

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ०का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको हो ।

यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उहाँले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिनुभयो ।

अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरुले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

उहाँले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाउनुभयो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराउनुभयो । उहाँले विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरु एक पटक यहाँ पुग्नैपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्र्नेमा उहाँको जोड थियो ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रुपमा संसारमा रहेका नेपालीमाझ पु¥याउने अठोट व्यक्त गर्नुभयो ।
यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्ताहरुलाई नेपालमै आई लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताउनुभयो ।
सो भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरु केबी कार्की, ओम गुरुङ, डा दामोदर पौडेलसहित सहभागी हुनुहुन्थ्यो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० गठन गरेको थियो ।

विश्वका २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सो भेलाले भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

प्रदेशसभा सदस्य चौधरी निलम्बनमा

0
सुदूरपश्चिम : नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरीलाई उहाँको पार्टीले निलम्बन गरेको छ । चौधरीलाई निलम्बन गरिएको सम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई सम्बोधन गरी पठाएको पत्रमा प्रदेशसभा सदस्य चौधरी बैठकमा उपस्थित नभएको र उहाँबाट अध्यक्षलाई पठाइएको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएकाले पार्टीको अन्तरिम विधान बमोजिम केन्द्रीय कमिटीको आज बसेको बैठकको निर्णय अनुसार निजलाई तीन महिना निलम्बन गरिएको व्यहोरा जानकारी गराइएको छ ।
 चार दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका अर्का प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो । गिरी समानुपातिक कोटाबाट निर्वाचित हुनुभएको थियो । प्रत्यक्ष चुनावबाट निर्वाचित चौधरी नाउपा संसदीय दलका नेता हुनुहुन्थ्यो ।
पार्टीमा उत्पन्न किचलोका बीच पार्टीका केन्द्रीय अध्यक्षद्वारा नाउपा, सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको जिम्मेवारी तोकिएको जानकारी दिइएको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नेतृत्व गरेको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबीच मतभेद सृजना हुँदा पार्टीका प्रदेशसभा सदस्यहरु पनि सरकारको पक्ष र विपक्षमा विभाजित भएका थिए ।
प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका बहुमत सदस्यले मुख्यमन्त्री शाहको नेतृत्वको सरकारलाई नै समर्थन गर्नुपर्ने मत राख्दै आउनुभएको थियो । फिर्ता बोलाइएका गिरी र निलम्बन गरिएका चौधरी पार्टीका संस्थापक संरक्षक रेशमलाल पक्षधर मानिनुहुन्छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक संरक्षक रेशमलालको उपस्थितिमा प्रदेशसभाका सदस्यको धनगढीमा दुई दिनअघि बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने गरी छलफल गरेको थियो ।
प्रदेशका मुख्यमन्त्री शाहले भने पदबाट राजीनामा दिइसक्नु भएको छ । उहाँको राजीनामापछि यही चैत २३ गते नै प्रदेश प्रमुख नजिर मियाँले (१० दिनको समय तोकेर) २०८१ वैशाख २ गते अपराह्न ५ बजेभित्र प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्रीमा दावी पेश गर्न तीन दिन बाँकी रहँदा कसैले पनि आजसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ। त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा आगामी वैशाख १५ गते उपचिर्वाचन हुँदैछ  ।

लेखक एवं पत्रकार अखण्ड भण्डारीको ‘बोरा’ उपन्यास विमोचन

0

काठमाडौँ: लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको ‘बोरा’ उपन्यास आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरिएको हो । ‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध अभिभावकप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको लेखक भण्डारीले जानकारी दिनुभयो ।

उपन्यास आफना सन्तानबाट अपहेलित आमाको कथामा आधारित भएको उहाँले बताउनुभयो । “यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ”, लेखक भण्डारीले भन्नुभयो, “सले आफनै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक दर्दनाक परिस्थितिलाई समेटिएको छ । तर मैले भेटेको यथार्थको पात्र र परिवेश उपन्यासमा फेरिएका छन् । यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक लेखन हो ।”

पिसबुक प्रालिद्धारा प्रकाशित उपन्यासमा ४७० पृष्ठ छ । पुस्तकको मूल्य रु ७०० छ । लेखक एवं पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेख्नुभएको थियो । उहाँले पत्रकारिता क्षेत्रमा ‘समाचारमा भाषा’ पुस्तक समेत लेख्नुभएको छ ।