Monday, May 11, 2026
Home Blog Page 844

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

0

ढोरपाटन (बागलुङ): पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै वनजङ्गलको स्वच्छ हावापानी र चराचुरुङ्गीको आवाजसँग रमाउनेको सङ्ख्या विस्तारै बढिरहेको छ । अझ पदयात्रा गर्नेहरु धेरै छन् । बागलुङको तल्लो क्षेत्रबाट उच्च पहाडसम्म आन्तरिक पर्यटकहरु घुमफिर गर्न थालेका छन् ।

दुई वर्षदेखि तमानखोलाको बराह ताल र ढोरपाटनको बुकी क्षेत्रलाई आन्तरिक पर्यटकले छोटो पदयात्राको मुख्य थलो बनाएका छन् । पश्चिम बागलुङको मुख्य व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिकै रहेको बराह ताल क्षेत्रमा केही समय यता पदयात्रामा जानेको सङ्ख्या बढेको छ । चिसो हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताका कारण बराह तालमा पुग्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो । घना जङ्गलको बीचमा अवस्थित छ बराह ताल । छेउमै रहेको सिद्ध बराह मन्दिर र यहाँबाट देखिने अनगिन्ती हिमशृङ्खलाका दृश्यले जोकोहीलाई मोहित बनाउँछ । तमानखोला गाउँपालिका–२ मा रहेको बराह तालसम्म धेरै ठाउँबाट पुग्न सकिने हुँदा पदयात्रा गर्नेका लागि आकर्षणको केन्द्र बनेको हो ।

बुर्तिबाङ बजारबाट तीन तीन घण्टा ३० मिनेट, अधिकारीचौरबाट तीन घण्टा, ढोरपाटन सिकार आरक्षबाट गुर्जाघाट हुँदै चार घण्टा र तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । बराह ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि तमानखोला गाउँपालिकाले बर्सेनि लाखौँ रुपैयाँ पर्यटन पूर्वाधारमा लगानी गर्दै आएको छ । पाँच वर्ष अघिसम्म ताल ओझेलमा परेको थियो । गाउँपालिकाले पूर्वधार निर्माण र प्रचारप्रसार गर्न थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका हुन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बराह ताल क्षेत्रको विकासका लागि हालसम्म रु एक करोड ५० लाख बढी लगानी भएको बताउनुभयो । तालक्षेत्रमा पर्यटनका पूर्वधार निर्माण हुनुअघि कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी जिल्लाबाट आउनेको सङ्ख्या निकै कम भएको उहाँको भनाइ छ । गाउँपालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायतका संरचना बनाएको अध्यक्ष बुढामगरले बताउनुभयो ।

पछिल्लो समय दैनिकजसो आन्तरिक पर्यटक तालमा आउने गरेको उहाँ बताउनुहुन्छ । “बराह तलामा आउनेको सङ्ख्या हरेक वर्ष बढिरहेको छ, अहिले पनि दिनहुँ पर्यटकले तालको अवलोकन गर्ने गरेका छन् । यतिबेला जङ्गल पूरै लालीगुराँसले राताम्य बनेको छ, फूल र यहाँको वातावरणसँग रम्न आउने धेरै छन्,” अध्यक्ष बुढामगरले भन्नुभयो, “हामी निर्वाचित भएर आएदेखि सुरुको कार्यकालमै यसको विकासमा जुटेका थियौँ, सडक पुगेको थिएन, सडक पुर्यायौँ, पदमार्ग बनाएका छौँ, अन्य थुप्रै संचरना बन्ने चरणमा छन्, घुमफिर गर्नेहरुको रोजाइमा बराह ताल परेको छ ।” चितवनबाट घुम्न आउनुभएका राजु पौडेलले बराह ताल निकै रमणीय रहेको बताउनुभयो । गर्मी बिदामा ढोरपाटन घुम्न आएको सुनाउँदै ११ जनाको टोली बुर्तिबाङबाट बराह तालसम्म पदयात्रा गरेको सुनाउँदै एक रात ताल छेउमै ‘क्याम्प फायर’ गरेर बसेको बताउनुभयो ।

आफूहरु बराह ताल पुग्दाको साँझ अन्य तीन टोली पनि त्यहाँ पुगेको सुनाउँदै यही रुट हुँदै ढोरपाटन पुगेको उहाँको भनाइ छ । वसन्त ऋतुमा फुलेका विभिन्न थरिका फूल, चराचुरुङ्गीको आवाज र यहाँबाट देखिने दृश्यले आफूहरुलाई लोभ्याएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सिजन निकै उपयुक्त हुँदोरैछ, खासै चिसो पनि भएन, गर्मी पनि भएन, हाम्रो पुख्र्यौली घर यतै भएकाले साथीहरुसँग घुम्न आएका थियौँ, निकै रमाइलो भयो, बुर्तिबाङ बजारबाट धेरै टाढा रहेनछ, त्यही भएर होला अरु धेरै मान्छेहरु यहाँ आउँदा रहेछन्, यो ठाउँले हाम्रो मन जित्यो ।”

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

0

अर्घाखाँची: भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो । भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताउनुभयो ।

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताउनुभयो । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ । मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताउनुभयो । क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन् ।

महामन्त्री गगन थापालाई अमेरिकामा भव्य स्वागत गरिने

0

क्यालिफोर्निया : नेपाली काङ्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री तथा वर्तमान संघीय सांसद माननीय गगनकुमार थापालाई अमेरिकाको क्यालिफोर्नियामा भव्य स्वागतको तयारी भइरहेको छ।

युवाहरुको ढुकढुकी पनि भनेर चिनिने लाखौं नेपालीले आशा गरेका गगन थापा निजी भ्रमणको सिलसिलामा आमेरिका आउन लागेको बुझिएको छ। थापालाई स्वागत गर्न
क्यालिफोर्नियावासी नेपालीहरु उत्साहित रहेको जनाइएको छ।

थापाको भ्रमणको अवसर पारेर यही अप्रिल २१, २०२४ आइतबारका दिन यु.सि. बर्कलिमा भव्य स्वागत तथा अन्तरकृया कार्यक्रम आयोजना गरिने भएको छ। उत्तर क्यालिफोर्निया च्याप्टरको जना सम्पर्क समितिको आयोजना रहेको सो कार्यक्रममा सयौंको संख्यामा सहभागिता हुने आयोजक समितिका कार्यवाहक सभापति श्री नारायण खनालले बताउनु भयो।

नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका उपसभापति तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि लक्ष्मी कार्कीले कार्यक्रमको भव्य तयारी पूरा भएको कुरा बताउनु भयो। सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसप्रति आस्था राख्ने मात्र नभई विभिन्न राजनीतिक विचारधारा बोकेकाहरूको पनि सहभागिता रहने आयोजक समितिले जनाएको छ। अमेरिकामा गगन थापालाई माया गर्ने जमात ठूलै रहेको समेत बुझिएको छ।

जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य चन्द्र धितालले गगन थापा नेपाली राजनीतिको भविष्य रहेको भन्दै कार्यक्रम ऐतिहासिक र फलदायी हुने विश्वास गर्नुभयो। एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा जनसपर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार उत्तम कार्कीले सो कार्यक्रम भव्य र सभ्य हुनेमा विश्वस्त रहेको बताउँदै क्यालिफोर्नियामा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित हुन आव्हान गर्नुभएको छ।

सो कार्यक्रममा नेपाली जन सम्पर्क वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, नेपाली काङ्रेस गोरखाका पूर्व सभापति भोजराज कंडेल, नेपाली काङ्ग्रेसका वरिष्ठ सदस्यहरु विद्यासागर योन्जन, निर्मल गौचनलगायत उल्लेख्य उल्लेख्य संख्यामा सहभागीहरूको उपस्थिति हुनेमा आफू विश्वस्त रहेको आयोजक समितिका सचिव हरि भट्टले बताउनुभयो। सो कार्यक्रम २२२० पिड्मन्ट एभिन्यु बर्कलीमा बेलुका ठीक ५ बजे हुने बताइएको छ।

—हिमालयन ट्रिब्युन: क्यालिफोर्निया सम्वाददाता—

 

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

0

म्याग्दी: म्याग्दी जिल्लामा अवस्थित घोडेपानी पर्यटकको रोजाइमा पर्न सफल भएको छ।
यो वर्ष ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हँुदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताउनुभयो । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।

वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।

विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताउनुभयो ।

“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जङ्गल छ । हिजोआज गुराँसले ढकमक्क भएको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ । पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ ।

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

0

टीकापुर: टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् ।

नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दमनसिंह अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावना अनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन नारायणपुर गाविका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिनुभयोे ।

कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।

दुईदिने उक्त बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी हुने छन् । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने उक्त परिषद् बैठकमा उहाँले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने छ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन् ।

मुलुकको आवश्यकता, जनचाहना अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने विश्वास विभाग प्रमुख गौतमले व्यक्त गर्नुभयो ।

परिषद् बैठकपछि वैशाख १० गते पार्टी स्थापनाको ७५ औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम छ ।

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

0

तनहुँ: आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ ।

नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रतिउपचार ‘सेसन’मा रु दुई हजार पाँच सय तिर्नुपर्दैन”, उहाँले भन्नुभयो, “नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहजरुपमा सेवा पाउने छन् ।”

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ । अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा क्षेत्रीले बताउनुभयो ।

“हाल चौबिस जना डायलाइसिसका बिरामीले उपचारका लागि निवेदन दिएर पालो पर्खिरहेका छन्”, उहाँले भन्नुभयो, “विपन्न नागरिक उपचार सेवा’मा अस्पताल सूचीकृत हुने बित्तिकै सेवा दिन सुरु गर्नेछौँ ।” अस्पतालले प्रत्येक सेसनमा प्रतिबिरामी रु दुई हजार पाँच सयका दरले खर्च गर्नसक्ने अवस्था नरहेकाले पूरा सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनुभयो । कोही बिरामी पैसा तिरेर डायलाइसिस गर्न आएको अवस्थामा अस्पतालले सेवा दिँदै आएको छ तर निःशुल्क गर्न सकिएको छैन ।

डायलाइसिस बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा अस्पतालले नर्सिङ कर्मचारी थप गरी नागरिकलाई सेवा दिन सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।अस्पतालमा डायलाइसिस सेवालाई निःशुल्क प्रदान गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै आएको उहाँले बताउनुभयो ।

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

0

लमजुङ:परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो ।

पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो । उहाँले दलित समुदायको पराम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न नगरपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरणसँगै सीप सिकाउने अभियान पनि सुरु गरेको बताउनुभयो

यसैबीच, सुन्दरबजारमा सञ्चालित दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शिविरमा दुई सय १७ जनाले सेवा लिएका सुन्दर बजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

सुन्दरबजार अस्पतालको आयोजना तथा सुन्दरबजार नगरपालिका वडा नं.७ को सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यसमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

0

काठमाडौँ: हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका केही ठाउँमा तथा बेलुका गण्डकी र लुम्बिनीका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

क्यानडामा २२ मिलियन डलरको सुन चोरी: ६ जना पक्राउ

0

टोरन्टो । पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ । क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन् ।

प्रहरीले अन्य तीनजनालाई पनि भित्रको काम भनेर वर्णन गरेकोमा पक्राउ पुर्जी जारी गरेको छ। सबै नौ संदिग्धहरूलाई १९ वटा भन्दा बढी मुद्दा लगाइएको छ। १७ अप्रिल २०२३ मा २२ मिलियन क्यानेडियन डलर भन्दा बढी सुन र विदेशी मुद्रा बोकेको एक एयर कार्गो कन्टेनर नक्कली कागज प्रयोग गरेर सुरक्षित भण्डारण सुविधाबाट चोरी भएको थियो।

स्विट्जरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमा सुन र मुद्रा ल्याइएको थियो तर कम्तिमा दुई पूर्व एयर क्यानाडा कर्मचारीले सो समान चोरी गरिएको खुलेको थियो । जसमध्ये एक जना अहिले हिरासतमा छन् भने अर्कालाई पक्राउ पुर्जी जारी गरिएको छ ।