Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Monday, May 11, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 843

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

By
Himalayan Tribune
-
April 21, 2024
0

त्रिवेणी (रुकुम पश्चिम): रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो । ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विक र सार्कीको एक¬–एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो । ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ । स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो ।

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण सङ्कलन हुने उहाँले जानकारी दिनुभयो । आगलागीका कारण भने खुलेको छैन । दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन् ।

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै

By
Himalayan Tribune
-
April 21, 2024
0

झापा: कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ । मैनाचुली–रोशन जेभीले रु ५७ करोड १८ लाखमा सडक निर्माणको ठेक्का लिएको छ । जसमध्ये सुरुङ्गा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो ।

अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेकोे बताउनुभयो ।

इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि.सं. २०७६ मंसिर ३० गते चार वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक वर्षको म्याद थप गरी विसं २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ । “सडक सम्पन्न गर्न अझै रु १५ करोड रकम चाहिन्छ”, उहाँले भन्नुभयो, “तर कार्यालयसँग अब रु १५ लाख जति मात्र बजेट बाँकी छ ।”

उहाँले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताउनुभयो । उहाँका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।

 

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

By
Himalayan Tribune
-
April 21, 2024
0

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । “तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र थिया । “यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ”, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भन्नुभयो ।

सात वर्षअघि रु १३ लाख खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिनुभयो । खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गर्नुभएका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका बताउनुभयो ।

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

By
Himalayan Tribune
-
April 21, 2024
0

काठमाडौँ: हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ । लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

By
Himalayan Tribune
-
April 21, 2024
0

दमौली (तनहुँ): जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिनुभयो ।

उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गर्नुभयो । उहाँले भन्नुभयो, “पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम सङ्कलनकोे क्रम जारी छ ।” रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गर्नुभएको छ ।

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

By
Himalayan Tribune
-
April 20, 2024
0

पेरिस। फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन।

शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाई पक्राउ गरेका थिए।’

सन् १९६३ मा इरानमा जन्मेका संदिग्धलाई प्रहरीले भित्रबाट ‘हिंसक कारबाहीको धम्की दिएको देखिएपछि आफ्नै सहमतिबाट बाहिरिएपछि पक्राउ गरेको एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीले जनाएको छ।

तर यस घटनामा भने कुनै पनि विस्फोटक पदार्थ भेटिएको छैन, न उनीसँग न त उनको कारमा वा भवनमा नै कतै पनि नभेटिएको अभियोजनकर्ताले जनाएका छन्।

एक प्रहरीका अनुसार ती व्यक्तिलाई बिहान ११ बजे कन्सुलर कार्यालयमा प्रवेश गरेको सिसिटभी फुटेजमा देखिएको थियो, जसमा ग्रेनेड र विस्फोटक भेस्ट लगाएको जस्तो देखिन्थ्यो त्यसपछि प्रहरीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो।

उक्त व्यक्ति पछि कार्यालय छाडेर भाग्न खोजे पछि पक्राउ परेका थिए। प्रहरी स्रोतका अनुसार गत सेप्टेम्बरमा भएको घटनामा इरानी दूतावास नजिकै आगजनी गर्ने प्रयास गरेको आशंकामा पक्राउ परेका उही व्यक्ति अर्को प्रयास गरेको खुलेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

By
Himalayan Tribune
-
April 20, 2024
0

वासिंगटन। विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरूका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ।

एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका लागि कूल ११ अर्ब अमेरिकी डलरको प्रतिबद्धता घोषणा गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विश्व बैंक समूहको लिभरेजिङ क्षमताले प्रदान गरिएका स्रोतहरूमा १० वर्षमा छदेखि आठ गुणा गर्न अनुमति दिन्छ र प्रतिज्ञा गरिएको स्रोतहरूमा निश्चित परिस्थितिमा यो १० गुणासम्म पुग्न सक्छ।

यी प्रतिज्ञा गरिएका स्रोतहरूले सीमापार चुनौतीहरूको सामना गर्न र विकास लक्ष्यहरूलाई अगाडि बढाउन तत्काल कोषमा ७० अर्ब डलरसम्म उपलब्ध गराउन सक्छ।

‘हामीले यी नयाँ वित्तीय साधनहरू विकास गर्न कडा परिश्रम गरेकाले हाम्रो उधारो क्षमतालाई बढावा दिन्छ, दाता कोषलाई बढाउँछ र अन्ततः हामीलाई धेरै मानिसको जीवनमा सुधार गर्न अनुमति दिन्छ’, विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले भने, ‘यी मुलुकका उदारता हामीेले बैंक सुधार गर्न गरेको प्रगतिको समर्थन हो र विश्वव्यापीरूपमा विकासका लागि उनीहरूको साझा प्रतिबद्धताको सकेत पनि हो।’

बेल्जियम, फ्रान्स, जापान, अमेरिकालगायत ११ मुलुकले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्ममा प्रतिज्ञा गरेका छन् भने डेनमार्क, जर्मनी, इटाली, लाटभिया, नेदरल्यान्ड्स, नर्वे र बेलायतले हाइब्रिड पूँजीका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

जापानले नयाँ लिभेवल प्लानेट फन्डमा प्रारम्भिक योगदान गर्नका लागि प्रतिबद्धता जनाएको छ। मुलुकहरूको आपसी योगदानले पर्यावरणीय चुनौतीहरूको सामनामा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमाथि प्रष्ट पार्दछ।

इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो

By
Himalayan Tribune
-
April 20, 2024
0

गाजा । इजरायल र प्यालेस्टाइन बिचमा अझै युद्द जारी छ । गत अगस्ट ७ देखी सुरू भएको सो युद्दका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

सोही अवधिमा थप ६३ जना घाइते भएका छन्, गाजा पट्टीमा युद्ध सुरु भए देखि घाइते हुनेको कुल सङ्ख्या ७६,८३३ पुगेको सो मन्त्रालयले जनाएको छ ।

नेपाल हङकङसँग पराजित

By
Himalayan Tribune
-
April 20, 2024
0

काठमाडौं। नेपाल हङकङसँग पराजित भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यसअघि टस  जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाएका थिए। त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए।

त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्वाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए।

यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एशिया कपका लागि छनौट भएको छ। एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहदै एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुवैमा छनौट हुन असफल भएको छ।

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने

By
Himalayan Tribune
-
April 20, 2024
0
फिक्कल (इलाम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताउनुभएको हो ।
उहाँले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताउनुभयो । “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला”, उहाँले भन्नुभयो, “२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।” उहाँले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताउनुभयो । “सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ, चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला, पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला”, उहाँले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भन्नुभयो ।
लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताउनुभयो । रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।
1...842843844...1,300Page 843 of 1,300

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune