Monday, May 11, 2026
Home Blog Page 842

नेकपा स्थापनाको आज हीरक महोत्वस

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ ।

नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् ।

मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताउनुभयो ।

हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा÷राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित) लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताउनुभयो ।

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

0

सिरहा: दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो ।

“छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यसले हामीलाई उत्साहित बनाएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँछौँ ।”

डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनका लागि सहयोग, लहान नगरपालिकाले सडक बाटोे निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, वडा नं १५ ले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्यापर्यटन प्रवद्र्धन गर्न सहयोग गरेपछि यस क्षेत्रको विकास सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरणले पर्यटकलाई आकर्षित गरेको छ । यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि उद्यान, प्राणी उद्यान केन्द्रलगायत संरचना यहाँ निर्माण गरिएका छन् । करिब ५६ हेक्टरमा फैलिएको लहान–१५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो ।

आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्न साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे (घरबास) प्रवद्र्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट ३८ जनाले रोजगार पाएका छन् ।

नजिकै रहेको प्रसिद्ध राजदेवी मन्दिरलाई पनि जोडेर यस क्षेत्रको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । सिमसार पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर थप पूर्वाधार निर्माणमा जोड दिइने उहाँले बताउनुभयो ।

“विश्वविद्यालयको ध्यान राष्ट्र र जनताप्रति उत्तरदायी जनशक्ति उत्पादनमा जानु आवश्यक छ”: प्रधानमन्त्री

0

सुदूरपश्चिम: प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम विश्व विद्यालयको चौथो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको छ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानु आवश्यक छ। युवाहरू राष्ट्रका भविष्य हुने भएकाले विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ।”

वैज्ञानिकहरूले मान्छे अदृश्य हुने विशेष उपकरण बनाए

0

काठमाडौं । लन्डनस्थित इनभिजिबिलिटी शिल्ड कम्पनीको टोलीले मानिस अदृश्य हुने प्रविधि बनाएको छ । यो प्रविधि विकास गर्न चार वर्ष लागेको थियो। यो एक प्रकारको शिल्ड हो जसको पछाडि गएपछि मानिस अदृश्य हुन्छ ।

अदृश्यता शिल्ड डिजाइनर ट्रिस्टन थम्पसनले भने: ‘सम्भावनाहरू अनन्त छन् तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यी शिल्डहरू धेरै रमाइलो छन्। एउटा शिल्ड जुन तपाईं आफ्नो काँधमा झुन्ड्याउन सक्नुहुन्छ, र कसैले तपाईंलाई देख्न सक्दैन। दुई वर्षअघि कसैले पनि यस्तो गर्न सक्छ भन्ने सोचेका थिएनन् । तर हामीले गर्‍यौं।’

शिल्डको सतहमा अल्ट्रा लार्ज प्रिसिजन लेन्स एरे भएका कारण यसले काम गर्छ । यसले शिल्ड पछाडि उभिएको व्यक्तिको परावर्तन हटाउँछ। सरल भाषामा बुझ्दा – हामी कुनै चीज वा व्यक्तिको शरीर त्यतिबेला देख्न सक्छौं जब त्यसमा प्रकाश परावर्तित हुन् र हाम्रो आँखामा आउँछ । यस एरे शिल्डले यो परावर्तन हटाउने काम गर्दछ जसको कारण अगाडिको व्यक्तिले केहि देख्न सक्दैन।

टमाटरको ससको बारेमा नराम्रो कुरा गर्दा गर्भवती महिला पक्राउ, लामो जेल सजाय हुन सक्ने

0

काठमाडौं । एक गर्भवती महिलाले सामाजिक सञ्जालमा टमाटरको ससको बारेमा नराम्रो कुरा लेख्दा उनी पक्राउ परेकी छिन् । टमाटरको सस बनाउने कम्पनी एरिस्को फुड्सले उनीमाथि मुद्दा हालेको छ ।

कम्पनीले ३९ वर्षीया चिओमा ओकोलीमाथि कम्पनीको ब्राण्डको छविलाई बिगारेको आरोप लगाएको छ । महिलाले यो टमाटर सस हदभन्दा धेरै गुलियो छ भनेकी थिइन् । सामाजिक सञ्जालमा महिलाको टिप्पणीपछि अहिले नाइजेरियाको लागोसमा सिभिल अदालतमा मुद्दा चलिरहेको छ ।

टमाटर ससको खुला क्यानको तस्बिर फेसबुकमा सेयर गरेपछि उनले यसको बारेमा नराम्रो प्रतिक्रिया दिएकी थिइन् । उनले आफ्ना १८ हजार सामाजिक संजाल फलोअरहरूलाई उक्त ब्रान्डको टमाटर ससको बारेमा आफ्नो विचार साझा गर्न पनि आग्रह गरेकी थिइन् ।

गर्भवती ओकोलीलाई प्रहरीले एउटा चर्चबाट पक्राउ गरेको थियो । उनले सीएनएनलाई बताएअनुसार उनी घण्टौंसम्म चुहिएको छाना भएको भिजेको कक्षमा उभिरहेकी थिइन्।

उनले भनिन्- ‘जेलमा सिट थिएन, त्यसैले भोलिपल्टसम्म उभिएँ। मेरा खुट्टा पानीमा थिए । कहिलेकाहीँ, म मेरो खुट्टामा दबाब कम गर्न स्क्वाट स्थितिमा बसें। म गर्भवती छु र घरमा रहेका मेरा छोराछोरीहरूको बारेमा सोच्दै थिएँ।’

ओकोलीलाई एरिस्को फूड्स लिमिटेड विरुद्ध सार्वजनिक आक्रोश भड्काउने उद्देश्यले षड्यन्त्र सहित दुई अलग-अलग अपराधको आरोप लगाइएको थियो। सबैभन्दा गम्भीर आरोपमा उनलाई सात वर्षसम्म जेल सजाय हुन सक्छ।

उनीमाथि एरिस्को फुड्स लिमिटेडको बारेमा गलत सूचना फैलाएर ग्राहकलाई उक्साएको आरोप पनि लागेको छ । यसका लागि उनलाई तीन वर्षसम्मको जेल सजाय र ७० लाख नाइरा (८ लाख रूपैयाँ) जरिवाना हुन सक्छ।

एरिस्कोले उनीविरुद्ध नागरिक मुद्दा पनि लगाएको छ । कम्पनीले भनेको छ,‘धेरै आपूर्तिकर्ताहरूले उनको टिप्पणी पछि कम्पनीसँग सम्बन्ध तोडेका छन् र अब पाँच अर्ब नायरा (५७ करिड रूपैयाँ) क्षतिपूर्तिको माग गरिरहेका छन्।’

 

राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही गर्न ७७ जिल्लामै निर्देशन

0

काठमाडौं। राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ ।

सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडि बढेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न सबै जिल्ला इकाईहरूलाई निर्देशन दिएको हो।

निर्देशनमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं. ०७८–०४०८, निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेको समेत उल्लेख गरिएको छ।

 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

0

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पतिको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यस अघि गत असोजमा पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले वैशाख २५ मा कसुर निर्धारण गर्न पेशी तोकेको छ ।

 

सत्ता सहकार्यलाई परिणाममुखी बनाउने एमालेको प्रतिबद्धता

0

काठमाडौं। नेकपा एमालेले सत्ता सहकार्यलाई परिणाममुखी बनाउने प्रतिवद्धता जनाएको छ। यस कार्यलाई कमजोर पार्ने कुनै पनि काम कुनै पनि सत्तारुढ दलबाट नगर्न एमालेले आग्रहसमेत गरेको छ।

आइतबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कमजाेर पार्ने काम नगर्न आग्रह गरेको हो।

एमालेले आफूसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग नयाँ सत्ता समिकरण निर्माण भएकोप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

साथै एमालेले सत्तारुढ ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत प्रमुख समस्याहरूलाई समाधान गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।

 

गर्मी बढेसँगै आगलागी घटना बढ्दै

0

सुदूरपश्चिम: कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइ राखिएको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिनुभयो । प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो ।

जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि दुई दिनअघि आगलागी भएको थियो । भजनी, बर्दगोरियालगायत क्षेत्रको गहँुबाली पनि आगलागी भएको छ । आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ ।
केही दिनदेखि गर्मीबढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागिका घटना बढाउन मद्दत पुर्याइरहेको स्थानीयवासीले बताएका छन् । गहुँ काटेर खाली रहेको खेत(गहुँको नलमा) मा पनि आगलागि भइरहेको छ ।

गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगङ्गा नगरपालिकाका वीरबहादुर शाहू जलेर घाइते हुनुभएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्णरुपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले यसपाली पर्याप्त वर्षा हुननसक्दा बढेको गर्मीसँगैको सुक्खा मौसमले डढेलोको कहर देखिएको बताउनुभयो । “ठाउँठाउँका वन क्षेत्रमा डढेलो लाग्ने समस्या बढेको छ, निभाउने कामपनि सतर्कता अपनाई भइरहेको छ ।” उहाँले भन्नुभयो ।

डढेलो हुननदिन डढेलो लाग्नपूर्व र डढेलो लागि सकेपछि गर्नुपर्ने सबै क्रियाकलाप गर्ने गरिएको उहाँले बताउनुभयो । आगो लगाउँदा वनमा घाँसको नयाँ पालुवा उम्रिन्छ भन्ने कतिपय समाजमा गलत सोचाइ देखिएको र चुरोट बिडी सेवन गर्नेले यसको ठुटो जथाभाबी वनमा फ्याकिदिने गर्दा गर्मी मौसममा वन डढेलोको समस्या बढ्ने गरेको बताइएको छ ।

जिल्लाको फुलवारी, गौरीगङ्गालगायतका क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । गर्मी बढेसँगै मध्याह्नको समयमा तातो हावा (लु) चल्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बन्न थालेको छ । हावाहुरीले धनगढीको बजार क्षेत्रमा निर्माणाधीन सडकबाट उड्ने धुलोमाटोले वरपरका व्यापारिक पसल र निजी घरधनीले हैरानी खेप्नुपरेको छ । उड्ने धुलोमाटोले सडकको आवागमन पनि असहज बनेको छ ।

“निर्माण भइरहेका सडकबाट उड्ने धुलोमाटो सफा गर्दैमा दिन बित्ने गरेको छ, व्यापार व्यवसाय पनि ठप्प छ ।” स्थानीय राजेश चौधरीले गुनासो गर्नुभयो । केही दिनदेखि धनगढीमा गर्मी ह्वात्तै बढेको छ । चार दिनअघि ३७ दशमलब चार डिग्रिसेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव छ डिग्री सेल्सियस पुगको थियो । यस्तै २०डिग्रीसेल्सियस निम्न तम तापक्रम बढेर २२ दशमलब छ डिग्री पुगेको थियो ।

आज अधिकतम तापक्रम र निम्न तम तापक्रम अघिल्ला दुईदिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिनुभयो । कार्यालयका प्रमुख साहले यसवर्ष विगतको तुलनामा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो । “यसवर्ष हिउँदेयाममा ठूलो वर्षा नभएको र ग्लोबल वार्निङको प्रभावले गर्दा गर्मी बढ्ने अनुमान विश्व मौसम सङ्गठनले गरेको छ”, उहाँले भन्नुभयो, “गर्मी बढ्दा अनावश्यक रुपमा घरबाहिर नजान र झोलिलो पर्दाथ सेवन गर्दा गर्मीबाट जोगिन सकिन्छ ।”

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने

0

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताउनुभयो । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौँ आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उहाँले जिकिर गर्नुभयो ।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

इयूको उडान प्रतिबन्ध हटाउन पहल

पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभो, “नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।”

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनुभएका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताउनुभएको छ । उहाँले सिइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गर्नुभयो ।