Sunday, May 10, 2026
Home Blog Page 824

विद्युत् सर्ट हुँदा घरमा आगलागी: २५ लाख बढीको क्षति

0

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार विद्युत सर्ट हुँदा आगलागीबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन ओटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताउनुभयो ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । “ठगुन्ना परिवारको घर गोठमा आगलागी हँुदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भन्नुभयो, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।” आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

 

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

0

काठमाडौँ: नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।

पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो

गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।

बयानब्बे लाखको लागतमा खानेपानी आयोजना निर्माण

0

म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ९२ लाख २४ हजार नौ सय ८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो ।

“यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, उहाँले भन्नुभयो, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो ।

नेवा संस्थाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।
नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताउनुभयो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उहाँले बताउनुभयो ।

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

0

काठमाडौँ: सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको राससलाई बताउनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिनुभयो । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।
–––

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

0

काठमाडौँ: निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”

आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उहाँले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिनुभयो ।

कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताउनुभयो । उहाँले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दुबईमा फेरि मुसलधारे पानी परेपछि एडभाइजरी जारी, उडान अवरुद्ध

0

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा गत महिना आएको भीषण बाढीको केही दिनपछि बिहीबार बिहान अबुधाबी र दुबईमा भारी वर्षा र आँधी आएको छ । यसपछि धेरै उडानहरू रद्द गरियो र दुबईमा बस सेवाहरू स्थगित गरियो।

खलीज टाइम्सको रिपोर्टका अनुसार दुबई आउने पाँच उडानहरू रातभर डाइभर्ट गरिएको थियो, जबकि नौ आगमन र चार बाहिर जाने उडानहरू रद्द गरियो। रिपोर्टका अनुसार धेरै इमिरेट्स उडानहरू पनि रद्द गरिएका छन्।

पानी परेको करिब एक घण्टापछि अपराह्न ४ बजे देशको मौसम विभागले अलर्ट जारी गर्दै देशका अधिकांश भूभागलाई बादलले ढाकेको सङ्केत गरेको हो । मे ३ सम्म देशमा प्रतिकुल मौसमी अवस्था रहने अनुमान गरिएको छ ।

स्थानीय मिडिया रिपोर्टका अनुसार अबु धाबीका केही क्षेत्रहरूमा सडकहरूमा पानी जमेको रिपोर्ट गरिएको छ, जबकि जेबेल अली, अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल, दुबई इन्डस्ट्रियल सिटी, दुबई इन्भेस्टमेन्ट पार्क र जुमेराह गाउँ त्रिभुजमा तीव्र हावा चलेको रिपोर्ट गरिएको छ।

क्यानडाका विश्वविद्यालयहरूमा पनि प्यालेस्टाइनको पक्षमा प्रदर्शन

0

काठमाडौं । अमेरिकामा इजरायल विरुद्धको विद्यार्थी आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ । देशका दुई दर्जनभन्दा बढी विश्वविद्यालयमा विद्यार्थी आन्दोलनमा छन् । हालसम्म दुई हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् । यस्तो अवस्थामा यो विरोध अहिले अमेरिकाबाट बढेर क्यानडाका विश्वविद्यालयहरूमा पुगेको छ ।

क्यानडाका धेरै विश्वविद्यालयका विद्यार्थीहरूले गाजामा इजरायलको आक्रमणको विरुद्ध आवाज उठाइरहेका छन्। विद्यार्थीहरूले क्यानडाको टोरन्टो विश्वविद्यालय र मोन्ट्रियलको म्याकगिल विश्वविद्यालयमा प्रदर्शन गरेका छन् ।

क्याम्पसमा नै पाल टाँगेर यी विद्यार्थीले विरोध गरिरहेका छन् । यसबाहेक भिक्टोरिया विश्वविद्यालय, भ्यानकुभर आइल्याण्ड युनिभर्सिटी र ओटावा विश्वविद्यालयमा पनि विद्यार्थी प्रदर्शन भइरहेका छन् ।

क्यानाडाका विद्यार्थीहरूको माग अमेरिकी विद्यार्थीहरूको जस्तै छ। उनीहरुको माग गाजामा तत्काल स्थायी युद्धविरामको हो । साथै, विश्वविद्यालयहरूले इजरायलसँग जोडिएका उत्पादन वा कम्पनीहरूबाट आफूलाई टाढा राख्नुपर्ने माग पनि गरेका छन् ।

अब राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा इजरायल विरोधी प्रदर्शनलाई लिएर फेरि आमनेसामने भएका छन् । एकातिर ट्रम्पले यी प्रदर्शनहरूमा आफूले अमेरिकामा जिहादलाई कुनै पनि हालतमा नसहने बताएका छन् । राष्ट्रपति बाइडेनले हिंसालाई गलत भनेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा भइरहेको इजरायल विरोधी प्रदर्शनप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । बाइडेनले भने – अमेरिकामा हामी जनताको अधिकारको सम्मान र संरक्षण गर्छौं ताकि उनीहरूको आवाजलाई बेवास्ता नगरियोस्। तर यसका लागि कुनै पनि हालतमा हिंसा, तोडफोड र घृणाको सहारा लिन सकिँदैन।

टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

0

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोली लाई आज बिदाइ गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थित रहेको थियो । टोलीमा नपरे पनि सन्दीप लामिछाने सो बिदाइ कार्यक्रममा सहभागी थिए ।

टी-२० विश्वकप खेल्ने टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन्।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

 

 

 

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

0

काभ्रेपलाञ्चोक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न निर्देशन दिनुभएको छ । उहाँले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गर्नुभएको हो ।

सचिव दङ्गालले स्थानीयस्तरमा उपभोक्ता समितिबाट भएका वा हुनसक्ने अनियमित क्रियाकलाप रोक्नसमेत स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “अनावश्यक पद सिर्जना गरी कर्मचारी राख्नु पनि अख्तियार दुरुपयोग नै हो, यसैले अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा विभिन्न प्रकारका सल्लाहकार कर्मचारी राखिएका भए पनि हटाउनुस् ।” उहाँले अख्तियारमा उजुरी पर्दैमा नआत्तिन आग्रह गर्दै नीति र नियमभित्र रहेर गरिरहेका काम नरोक्न आग्रह गर्नुभएको छ । सचिव सचिव दङ्गालले हरेका क्रियाकलापमा सरकार भएको अनुभूति दिलाउने गरी सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै उजुरीको सङ्ख्या दिनानुदिन बढिरहेको भए पनि त्यसको गाम्भीर्यता र पुस्ट्याइँ हुने आधार कमजोर भएकाले कतिपय अवस्थामा उजुरी गर्नु नपर्ने वातावरण सिर्जना गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अयोगको हेटौंडास्थित कार्यालयका प्रमुख सहसचिव उमाकान्त आचार्यले अघिल्लो आर्थिक वर्ष र चालु वर्षका उजुरी, फछ्र्याैट तथा प्रकारका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार आयोगको केन्द्रीय कार्यालय टङ्गाल र हेटौँडा कार्यालयमा काभे्रपलाञ्चोकमा अनियमिततता भएको एवं भ्रष्टाचारसम्बन्धी अनियमिततासम्बन्धी दुई सय ६१ उजुरी दर्ता भएका छन् । सोमध्ये चालु आवको वैशाख १८ गतेसम्म ८० उजुरी मात्रै फछ्र्यौट गर्न बाँकी रहेको आचार्यले बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चाकका प्रमुख दीपक गौतमले भ्रष्टाचार गर्दिनँ भनेर शपथ खानेदेखि भ्रष्टाचार हुनेगरेको पाइएकाले प्रभावकारी नियमन बढाउन र नीतिगत भ्रष्टाचार रोक्न अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका नागरिकलाई सेवा प्रदान गर्दा चुस्त–दुरुस्त बनाउन तथा जनगुनासालाई विनम्रतापूर्वक सम्बोधन गरी नागरिकलाई सहज सूचना प्रदान गर्न निर्देशन दिएको बताउनुभयो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।