Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Sunday, May 10, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 825

राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्छः मन्त्री चौधरी

By
Himalayan Tribune
-
May 3, 2024
0

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज अयोाजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री चौधरी त्यस्तो बताउनुभएको हो ।

लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताले केही काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोगप्राप्त नभएको उहाँको भनाइ छ । “हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा आशा जगाउने र नतिजा दिनेगरी काम गर्नुपर्छ भनेर योजना अगाडि बढाउँछौँ । पार्टी नेतृत्वले पनि सोहीअनुसार निर्देशित गर्नुहुन्छ तर कर्मचारीले भने नियम कानुन ते¥याएर हुँदैन भन्नुहुन्छ र यसले समस्या भइरहेको छ”, मन्त्री चौधरीले भन्नुभयो ।

त्यसैगरी उहाँले न्यून बजेट भएका कार्यक्रम कार्यान्वयन गर्नुको सट्टा अफ्ठ्यारोमा पार्ने काम भइरहेका भन्दै कर्मचारी र राजनीतिक नेतृत्वबीच तालमेलको अवस्था बनाउन जरूरी रहेको धारणा राख्नुभयो । “राज्यको स्थायी सरकार भनेको कर्मचारी प्रशासन नै हो । राजनीतिक नेतृत्व त आउने जाने भइरहन्छ । त्यसैले कर्मचारीबीच मिलेर काम गर्नुको विकल्प छैन”, मन्त्री चौधरीको भनाइ थियो ।

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छः मन्त्री थापा

By
Himalayan Tribune
-
May 3, 2024
0
लम्की (कैलाली): सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले पुनस्र्थास्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । शुक्रबार कैलालीको लम्कीमा मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले केही समयअघि मुक्त कमैया, कम्लहरी, हलियोको व्यवस्थापनका लागि कार्यविधि पारित गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि आफूले पहल गर्ने बताउनुभयो । “मुक्त कमैयाका महिला र बालवालिकाको अवस्था मैले नजिकबाट देखेकी छु, उहाँहरूका समस्या बुझेकी छु ।
त्यसैले ति समस्या समाधानका लागि लागि म पहल गर्नेछु”, उहाँले भन्नुभयो । संविधानसभा सदस्य सुक्दैया चौधरीले कमैयाहरुको व्यवस्थापनमा ध्यान दिन सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया, कम्लरी र हलियाको व्यवस्थापनका लागि कार्यविधि ल्याएकामा धन्यवाद दिँदै अन्य प्रदेशले पनि यससम्बन्धी कार्यविधि ल्याउन ध्यानाकर्षण गराउनुभयो । मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर मालपोतमा लालपुर्जाको अभिलेख नभएको, छुट कमैयाको तथ्याङ्क संकलनको काम अगाडि नबढेका भन्दै सोसम्बन्धी आवश्यक कार्यका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता बालाराम भट्राईले कमैयाहरुको जीविकोपार्जनका लागि आयआर्जन, रोजगारी र पुनस्र्थापनाका काम अगाडि बढाउन तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । शुक्रबारदेखि लम्कीचुहा नगरपालिका—१ लम्कीस्थित मुक्त कमैया एकता शिविरमा सुरुभएको सम्मेलन भोलीसम्म चल्ने छ ।

सिधाकुरा डटकमको मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

By
Himalayan Tribune
-
May 3, 2024
0

काठमाडौँ: सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज अनलाइनका कार्यकारी सम्पादक नविन ढुगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको हो ।

सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बिहीबार बयान लिइसकेको छ भने अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतबार बयान लिने यसअघि नै तय गरिसकेको छ । तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो । अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो ।

सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

By
Himalayan Tribune
-
May 3, 2024
0

जनकपुर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित एक टोलीले आज मुख्यमन्त्रीसँग भेटगरी अग्निपीडितको बसोबासका लागि अहिलेसम्म कुनै काम अगाडि नबढेका भन्दै तत्काल प्रदेश सरकारले पहलकदमी लिन आग्रह गरेको हो ।

त्यस अवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ ठाकुर, तमलोपाका रविशङ्कर सुभाष, उमेश मण्डल, विभा ठाकुर, विमला साह, वैद्यनाथ साहलगायतको सहभागिता रहेको थियो । उहाँहरुले एकद्वार प्रणालीको नाममा राहत वितरण गर्न चाहनेहरूलाई समेत अवरोध गरिएको भन्दै त्यसमा सहजीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

कांग्रेस प्रदेशसभा सदस्यसमेत रहनुभएका रामसरोज यादवले राजनीतिक आस्था, पहुँच र प्रभावका आधारमा नभई पीडितको अवस्था र आवश्यकताका आधारमा राहत वितरण गरिनुपर्ने र घरबासका लागि प्रदेश सरकारले तत्काल प्याकेज घोषणा गरी काम अगाडि बढाउनुपर्ने माग आफूहरुले राखेको बताउनुभयो । उहाँले अहिलेसम्म बसोबासलगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा दुःख प्रकट गर्दै यथाशीघ्र सो कार्य गर्न आग्रह गरिएको समेत जानकारी दिनुभयो । मटिहानी नगरपालिका—६ जरलहवा बस्तीमा गत वैशाख १२ गते भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेका छन् भने थप करिब ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।

त्यसैगरी मधेश प्रदेशमा भूमिगत जलको सतह घट्दै गएकाले खानेपानीको संकट आउन नदिन अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न पनि आग्रह गरिएको र मधेश प्रदेश बढ्दै गएका हत्या र दुर्घटनाका घटना न्यूनकिरणमा समेत गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गरिएको थियो ।

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो

By
Himalayan Tribune
-
May 3, 2024
0

चैनपुर, (बझाङ) : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ ।

मध्याह्नतिर वातावरण प्रदुषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मध्याह्नको बेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन । यो पटकको प्रदूषणले भने बझाङको अवस्था निकै कष्टकर भएकोे छ ।” डिभिजन वन कार्यालय बझाङका अनुसार जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेकाले समुदायमा जनचेतना फैलाउँदा पनि स्थानीयले अटेर गरेका छन् । कार्यालयका सूचना अधिकारी कपिल रावलले आगो लगाउने मान्छेलाई कारबाहीका लागि सूचना नै जारी गरेको बताउनुभयो । “डिभिजन वन कार्यालयले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियानअन्तर्गत माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, डेमो गराउनेलगायतका कार्य गर्दा पनि अटेर गरेपछि आगो लगाउनेलाई कारबाही गर्नका लागि सूचना निकालेका छौँ ।” गोप्य सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

सूचना अधिकारी रावलले स्थानीयले घाँस पलाउने, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने गरेको बताउनुभयो । कतिपय ठाउँमा वन्यजन्तुको सिकारका लागिसमेत जानाजान आगो लगाउने गरेको उहाँले बताउनुभयो । रावलका अनुसार आगलागी भएको ठाउँमा नियन्त्रणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेना खटिनुभएको छ । हिन्दुकुश हिमालयका मानिसको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार बझाङमा वित्थडचिर, दुर्गाथली, थलारा, मष्टा गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा आगलागी भएको छ ।

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

By
Himalayan Tribune
-
May 3, 2024
0

बाजुरा: जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो हो । बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले राससलाई जानकारी दिनुभयो ।

बैठकले मार्तडी–कोल्टी सडकखण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँचवटा बस हुनुपर्ने निर्णय भएको उहाँले बताउनुभयो । बुढीनन्दा, बडीमालिका र बुढीगङ्गा नगरपालिकाले मर्मतसम्भार गरी सडक सञ्चालन गर्ने, सडक किनारका संरचना तत्काल हटाउन आवश्यक प्रबन्ध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । मार्तडी–कोल्टी सडकखण्ड निर्माण नभइसकेकाले तत्काल बस सेवा सञ्चालन गर्न कठिन हुने बस व्यवसायी रामचन्द्र गिरीले बताउनुभयो । “मार्तडी–कोल्टी ४२ किलोमिटर खण्डमा जिप चलाउन समस्या छ बस कसरी चलाउने ?”, उहाँले प्रश्न गर्नुभयो । मार्तडी–कोल्टी सडक शिलान्यास भएको २५ वर्ष बितिसक्दा पनि त्यो अझै पूरा भएको छैन ।

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

By
Himalayan Tribune
-
May 3, 2024
0

वासिङ्टनडिसी: यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेर्हौं, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् । “हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले रासससँग कुरा गर्दै भन्नुभयो । मूर्ति लिन उहाँलाई हवाइ पठाइएको थियो । पुग्नुभएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उहाँले बताउनुभयो ।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । । यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

By
Himalayan Tribune
-
May 3, 2024
0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

By
Himalayan Tribune
-
May 3, 2024
0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उहाँले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताउनुभएको छ ।

“प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ ।

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउँदै राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।

सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्दै उहाँले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने बताउनुभएको छ ।

“समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्छन् । यस्ता अफवाहले नागरिकलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने गर्दछन् । त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मेहनत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु”, सन्देशमा भनिएको छ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रोसामु रहेको वास्तविकता औँल्याउँदै राष्ट्रपति पौडेलले यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।

“जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट हामीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । हाम्रो लामो राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेको छ । मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुँदै जानेछ भन्ने अपेक्षा गरेको छु”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ नाराले वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको देखिन्छ भन्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले पारेको असरको समीक्षा गर्दै त्यसबाट नागरिकलाई सचेत बनाएर यो सङ्कट निवारणमा सबैको भूमिकाको खोजी गर्न यो नाराले प्रेरित गर्ने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।

नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न प्रेसजगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते

By
Himalayan Tribune
-
May 2, 2024
0

बेइजिङ। दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किएर भासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २:१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए।

उक्त घटनामा २४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन्। अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार रअनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन्। राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ।

1...824825826...1,299Page 825 of 1,299

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune