Sunday, May 10, 2026
Homeसामाचारमधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

जनकपुर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित एक टोलीले आज मुख्यमन्त्रीसँग भेटगरी अग्निपीडितको बसोबासका लागि अहिलेसम्म कुनै काम अगाडि नबढेका भन्दै तत्काल प्रदेश सरकारले पहलकदमी लिन आग्रह गरेको हो ।

त्यस अवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ ठाकुर, तमलोपाका रविशङ्कर सुभाष, उमेश मण्डल, विभा ठाकुर, विमला साह, वैद्यनाथ साहलगायतको सहभागिता रहेको थियो । उहाँहरुले एकद्वार प्रणालीको नाममा राहत वितरण गर्न चाहनेहरूलाई समेत अवरोध गरिएको भन्दै त्यसमा सहजीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

कांग्रेस प्रदेशसभा सदस्यसमेत रहनुभएका रामसरोज यादवले राजनीतिक आस्था, पहुँच र प्रभावका आधारमा नभई पीडितको अवस्था र आवश्यकताका आधारमा राहत वितरण गरिनुपर्ने र घरबासका लागि प्रदेश सरकारले तत्काल प्याकेज घोषणा गरी काम अगाडि बढाउनुपर्ने माग आफूहरुले राखेको बताउनुभयो । उहाँले अहिलेसम्म बसोबासलगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा दुःख प्रकट गर्दै यथाशीघ्र सो कार्य गर्न आग्रह गरिएको समेत जानकारी दिनुभयो । मटिहानी नगरपालिका—६ जरलहवा बस्तीमा गत वैशाख १२ गते भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेका छन् भने थप करिब ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।

त्यसैगरी मधेश प्रदेशमा भूमिगत जलको सतह घट्दै गएकाले खानेपानीको संकट आउन नदिन अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न पनि आग्रह गरिएको र मधेश प्रदेश बढ्दै गएका हत्या र दुर्घटनाका घटना न्यूनकिरणमा समेत गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गरिएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका