Sunday, May 10, 2026
Home Blog Page 823

काठमाडौँ महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ ।

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई रु १०/१० लाख उपलब्ध गराउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छ ।”

दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ ।

‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’

0

काठमाडौँ: स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्दै यसलाई थप सशक्त रूपमा अगाडि बढाइनुपर्नेमा जोड दिइएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज ‘भर्चुअल’ रूपमा आयोजित ‘स्वास्थ्य बीमा कार्यक्रमः अवधारणा, चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रियामा सहभागीहरूले समाजवादी मोडेलमा आधारित रहेको हुनाले स्वास्थ्य बीमा कार्यक्रमको स्थायित्व अनिवार्य रहेको बताउनुभयो ।

उहाँहरुले सेवा उपभोग गर्ने क्रममा बीमितले दुःख पाएको अवस्था रहेकाले त्यसमा सुधारका लागि बीमा बोर्डले प्रविधिको प्रयोग बढाउनपर्नेमा जोड दिनुभयो । सहभागीले स्वास्थ्य बीमा कार्यक्रमलाई सबल बनाउन बीमित गराउने नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्वास्थ्य सेवाका सबै कार्यक्रम एक ठाउँबाट सञ्चालन हुनसके यस कार्यक्रमको प्रभावकारिता बढ्ने र कार्यक्रम सञ्चालनका लागि स्रोत सुनिश्चित गर्न सहयोग पुग्ने सहभागीको विश्वास थियो । सेवा उपभोग गर्ने सन्दर्भमा बीमितले विभिन्न जटिलता भोग्न परिरहेको उल्लेख गर्दै उहाँहरुले बीमितका गुनासो सुन्ने र समाधानका लागि पहल गर्न आवश्यक छुट्टै निकाय निर्माण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमालाई स्थायित्व दिनुको विकल्प नरहेको बताउनुभयो । उहाँले अस्पतालले दिने सेवासँग सम्बन्धित रहेकाले स्वास्थ्य बीमाप्रति बीमितको विश्वास बढाउने समग्र स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वउपाध्क्ष डा भोजराज अधिकारीले पनि अस्पतालको सेवा सुधार नगरी बीमा कार्यक्रम कार्यान्वयनमा देखापरेका समस्या समाधानमा चुनौती देखिएको बताउनुभयो । बीमितले बीमा कार्यक्रममार्फत सेवा लिने ठाउँ अस्पताल रहेकाले अस्पतालको सेवा सुधारमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “स्वास्थ्य क्षेत्रमा राज्यले सञ्चालन गरिरहेका अन्य कार्यक्रमलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा जोड्नुपर्छ”, डा अधिकारीले भन्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन बोर्ड लागिपरेको बताउनुभयो । योगदानमा र आपसी समझदारीमा आधारित कार्यक्रम भएको हुनाले खर्चअनुसारको आम्दानी सुनिश्चित हुन नसक्दा केही कठिनाइ देखापरेको उहाँको भनाइ छ ।

बीमितमार्फत कम रकम उठ्ने तर खर्च बढी हुने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष डा लोहनीले आम्दानीको आधारमा सबै औपचारिक क्षेत्रलाई समेट्न नसकिएको बताउनुभयो । उहाँले कर्मचारी, शिक्षकलगायत क्षेत्रलाई आम्दानीको आधार हुने कानुनी व्यवस्था रहेकाले उक्त काममा बीमा बोर्ड लागिपरेको बताउनुभयो । त्यसमा बीमा बोर्डले मात्र निर्णय गरेर सम्भव नहुने भएकाले सरकारको साथ चाहिने उहाँको भनाइ छ ।

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

0

सर्लाही: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो ।

मिटरब्याजपीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो ।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकतत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।”

मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै उहाँले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गर्नुभयो ।

उहाँले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ’ देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । यसअघि उहाँले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमूना माविको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

0

म्याग्दी: समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ ।

आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता रहेको बैठकमा छवटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।

आधार शिविरमा शुक्रबार बैठक सम्पन्न गरी आज त्यहाँबाट फर्कनुभएका अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णयानुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिने जानकारी दिनुभयो ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । हरेक वर्ष जुन ३ मा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ मनाउने गरिएको छ । यसअघिका वर्षमा पोखरा र कास्कीको अन्नपूर्ण गाउँपालिकाको भूगोलमा अन्नपूर्ण दिवस मनाइएको र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमालको रोयल्टी नपाएको अध्यक्ष पुनले बताउनुभयो ।

“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दाबी गरेपछि गत मङ्सिरमा अध्यक्ष बालानन्द पौडेलसहितको टोलीले स्थलगत अध्ययन गरेर जानुभएको थियो”, उहाँले भन्नुभयो, “अन्नपूर्ण दिवस मनाउन बजेट विनियोजन गरेको पर्यटन बोर्डले म्याग्दीमा कार्यक्रम आयोजना गर्न गरेको प्रस्तावलाई बेवास्ता गरेकाले दबाबका लागि निर्णयसहित पत्राचार गरिएको हो ।”

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानवपाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गको प्रवर्द्धनका लागि आधार शिविरमा समन्वय बैठक र जनप्रतिनिधिहरूको पदयात्रा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

चालु वसन्तयाममा अन्नपूर्ण आरोहणको अनुमति लिएका २५ जना आरोहीले रु ५१ लाख ६१ हजार आठ सय ८० रोयल्टी तिरेका पर्यटन विभागले जनाएको छ । गत वसन्तयाममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए । हुुमखोला हुँुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हँुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

प्रशासकीय अधिकृत सुवेदीका अनुसार समन्वय बैठकले अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्गलगायत पर्यटकीयस्थलको प्रवर्द्धनमा एकताबद्ध भएर पहल गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा भूपू खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, भूपू खेलाडी मञ्चका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङको टोलीले अन्नपूर्ण आधार शिविरलाई लक्षित गरेर म्याराथन प्रतियोगिता सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरेको छ ।

नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रूपमा रहेको छ ।

प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री

0

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई आज कथ्मंदुमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गरेका छन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, “प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।”

प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका छन् । यसको निकासका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी गराएका छन् । यही वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो ।

 

विद्युत् सर्ट हुँदा घरमा आगलागी: २५ लाख बढीको क्षति

0

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार विद्युत सर्ट हुँदा आगलागीबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन ओटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताउनुभयो ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । “ठगुन्ना परिवारको घर गोठमा आगलागी हँुदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भन्नुभयो, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।” आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

 

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

0

काठमाडौँ: नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।

पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो

गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।

बयानब्बे लाखको लागतमा खानेपानी आयोजना निर्माण

0

म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ९२ लाख २४ हजार नौ सय ८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो ।

“यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, उहाँले भन्नुभयो, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो ।

नेवा संस्थाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।
नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताउनुभयो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उहाँले बताउनुभयो ।

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

0

काठमाडौँ: सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको राससलाई बताउनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिनुभयो । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।
–––

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

0

काठमाडौँ: निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”

आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उहाँले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिनुभयो ।

कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताउनुभयो । उहाँले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।