Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 781

राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

By
Himalayan Tribune
-
June 8, 2024
0

न्यूयोर्क : महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित हुनुभएको छ । उहाँ उक्त पदमा पुनः निर्वाचित हुनुभएको हो । शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ । नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा

By
Himalayan Tribune
-
June 7, 2024
0

मोरङ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कांग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य कुनै विकल्पमा नजाने प्रष्ट पार्नुभयो ।

महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिनुभयो ।

महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताउनुभयो । उहाँले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाति रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

By
Himalayan Tribune
-
June 7, 2024
0

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ । मन्त्रालयको बेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक तथा सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने र समसामयिक विषय परिमार्जन गरिने बताउनुभयो ।

यही जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असार ३२ गतेको निर्णयबाट तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएको थियो । विसं २०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष उक्त प्रतिवेदन बुझाइएको थियो ।

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी

By
Himalayan Tribune
-
June 7, 2024
0

काठमाडौँ: विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मकवानपुरको उत्तरपश्चिम भेगस्थित मनहरी गाउँपालिकामा सञ्चालित खोरिया सुधार कार्यक्रम, नवलपुरमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रम, कास्कीमा सञ्चालित रुपा ताल पुनःस्थापना, तनहुँमा सञ्चालित पर्यापर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धनलगायत कार्यक्रम प्रभावकारी भएको सो अवसरमा जानकारी गराइयो । जलवायु परिवर्तनबाट आउने समस्या समाधान गर्न यी कार्यक्रम गरिएको नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि आसानी मेडागंगोडा–लेबले बताउनुभयो । जलवायु परिवर्तनको समस्याबाट पर्ने प्रभाव न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजाति लक्षित कार्यक्रम भएकाले आयोगका तर्फबाट सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । “जनजातिको जीवनस्तर सुधार गर्न अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा जलवायु परिवर्तनले जनजाति समुदायमा पारेका प्रभाव र अनुदान कार्यक्रमका माध्यमबाट यसलाई न्यूनीकरण गर्न गरिएका प्रयासका विषयमा विभिन्न समूहमा संवाद गरिएको थियो ।

समूह संवादमा वन तथा वातावरण, अर्थ, परराष्ट्र, पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, वातावरण विभाग, विभिन्न स्थानीय तह, नेपाल नगरपालिका सङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन

By
Himalayan Tribune
-
June 7, 2024
0

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखा प्रमुख प्रवीण रानाले अनुगमनका कममा दिएको निर्देशन पालना नगरे आगामी आर्थिक वर्षमा पालिकाभित्रका सहकारीलाई खारेजीसम्मका प्रक्रियामा लैजान सकिने जानकारी दिनुभयो । “बैठक समयमा नबसेको, ऋण दिँदा कागजात नमिलेकोलगायत विभिन्न समस्या देखिएका छन्”, प्रमुख रानाले भन्नुभयो । उहाँले ऋणीले रकम फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको अवस्था पनि रहेकाले त्यसलाई सुधार गर्न निर्देशन दिइएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र एक सय १२ सहकारी छन् । तर उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचनामा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएको बताइएको छ । “निष्क्रिय सहकारी निश्चित गरेका छैनौँ, एकपटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रियामा जान्छौँ”, सहकारी शाखा प्रमुख रानाले भन्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ । सहकारी शाखा प्रमुख राना प्रत्येक वर्ष एकपटक सहकारीमा पुग्ने योजना रहे पनि जनशक्ति अभावले सम्भव नभएको बताउनुहुुन्छ । “बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालु आवको अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ”, उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । उपमहानगरपालिकाले सहकारी सुधार अभियानअन्तर्गत नगरभित्रका सहकारीको अनुगमन गरिरहेको छ । चालु आवमा १५ सहकारीमा अनुगमन भइसकेको छ । सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको छ । उहाँले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको उल्लेख गर्दै लापरबाही भेटिए सहकारी ऐनबमोजिम कारबाही गरिने प्रष्ट पार्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मा जानुको विकल्प छैन ।” नेपालगञ्ज उपमहानगरपालिकाले चालु आवमा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको थियो । उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरिबी निवारण व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

By
Himalayan Tribune
-
June 7, 2024
0

काठमाडौँ: दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ । सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो । सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो ।

हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराउनुभएको थियो । पाकिस्तानका प्रधानमन्त्रीले १९औँ सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव विनयमोहन क्वात्रा, अर्का सचिव जयदीप मजुमदार तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर सचिवालयका गतिविधिबारे जानकारी दिनुभएको थियो । ती अवसरमा भारतीय नेतृत्व तथा अधिकारीहरूले सार्क प्रक्रियाप्रति समर्थन जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

By
Himalayan Tribune
-
June 7, 2024
0

खोटाङ: पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले राससलाई बताउनुभयो । “मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)ले सहकार्य गरेको छ । निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ ।” जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)को सहकार्यमा निर्माण हुनेछन् । डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी रु दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि रु दुई लाख ३५ हजार बजेट विनियोजन भएको छ । रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरु विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो ।

डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो । पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राईले बताउनुभयो । बिरुवा वितरण यसैबीच डिभिजन वन कार्यालय खोटाङले यस वर्ष विभिन्न प्रजातिका ८० हजार बिरुवा गाउँलेलाई वितरण गर्ने तयारी गरेको छ । कार्यालयको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत डालेघाँस, धुपी सल्ला, तेजपत्ता, जाकाराण्डालगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा उत्पादन गरेर वितरण हुन लागेको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भाँडबेँसीमा ४० हजार खयरका बिरुवा उत्पादन गरिएको छ । प्रतिगोटा रु १० का दरले सामुदायिक वन उपभोक्ता समितिलाई भुक्तानी दिनेगरी खयरका बिरुवा उत्पादन गर्न लगाइएको डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालय खोटाङ तथा सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका बिरुवा यसै वर्ष वितरण गरिने जनाइएको छ । उत्पादित बिरुवा सामुदायिक वन उपभोक्ता समितिलाई निःशुल्क उपलब्ध गराइने छ ।

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

By
Himalayan Tribune
-
June 7, 2024
0

काठमाडौँ: चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका निम्ति आफ्ना मित्रहरूलाई प्रोत्साहन गर्न आह्वान गर्दै त्यस निम्ति महावाणिज्यदूतावासबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त महावाणिज्यदूतावासका अनुसार होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले चिनियाँ पर्यटकहरूलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्न नेपालका होटल व्यवसायी आतुर रहेका बताउँदै नेपाल भ्रमणमा आउन चिनियाँ नागरिकहरूलाई आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्ड, होटल सङ्घ नेपाल र महावाणिज्यदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा सिचुवान प्रान्तीय सरकार, छन्दु नगरपालिका, सिचुवान ट्राभल एजेन्सी सङ्घ, होटल सङ्घ चीनका प्रतिनिधिका साथै छन्दुमा रहेका नेपाली समाज र सञ्चारमाध्यमका प्रतिनिधि गरी दुई सयजनाभन्दा बढीको सहभागिता थियो ।

त्यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । यसैबीच, होटल सङ्घ नेपाल र सिचुवान ट्राभल एजेन्सी सङ्घबीच सहायता आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । दुवै संस्थाले सहकार्यसम्बन्धी उक्त समझदारीपत्र आदानप्रदान पनि गरेका छन् ।

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

By
Himalayan Tribune
-
June 7, 2024
0
फिक्कल (इलाम): जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।
शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताउनुभयो । “धेरैजसो शिक्षक कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि त्यस्ता शिक्षकलाई स्थानीयस्तरबाटै राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउने कदम चालिएको हो”, अध्यक्ष केरुङले रासससँग भन्नुभयो, “निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ, कुनै शिक्षकले निर्णयको उल्लङ्घन गरेको पाइएमा शिक्षा ऐनबमोजिम कारबाही गरिनेछ ।” विद्यालय हाताभित्र राजनीतिक कार्यक्रममा रोक यसैबीच चुलाचुली गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम पनि आयोजना गर्न नपाइनेगरी प्रतिबन्ध लगाएको छ । “गाउँपालिकाभित्रका कुनै पनि शैक्षिक संस्थामा राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको छ”, अध्यक्ष केरुङले भन्नुभयो, “यसलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।” चुलाचुलीमा आठवटा माध्यमिक विद्यालय, १३ आधारभूत विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र १६ वटा बालविकास केन्द्र छन् ।
त्यहाँ पाँच हजार बढी विद्यार्थी अध्ययनरत छन् । चुलाचुलीले शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । चुलाचुलीले अङ्ग्रेजी माध्यमका लागि २५ जना शिक्षक दरबन्दी खडा गरी अनुदान दिँदै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ । स्थानीय भाषाको प्रवर्द्धनका लागि चुलाचुलीले ‘मातृभाषा शिक्षा’ समेत लागू गरेको छ । चुलाचुली–१ को जनता मावि, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला, शिवज्योति आवि र चुलाचुली–४ किराँत चोलुङ आविमा ‘लिम्बू भाषा’ पठनपाठन गर्दै आएको छ । ‘मातृभाषा शिक्षा’का लागि गाउँपालिकाले एक–एक जना भाषा शिक्षक अनुदान उपलब्ध गराएको छ ।

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व

By
Himalayan Tribune
-
June 7, 2024
0

काँक्रेविहार (सुर्खेत): बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो ।

गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट रु ८५ लाख राजस्व सङ्कलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा सङ्कलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो । गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा सङ्कलककर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा झण्डै रु ४१ लाख बढी सङ्कलन भएको उहाँले बताउनुभयो ।

यार्सा गुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति रु पाँच सय र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु दुई हजार र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु तीन हजारका दरले प्रवेश शुल्क उठाएको वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । कुल सङ्कलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने छ । कार्यालयले यार्सा सङ्कलक र राजस्वको विस्तृत विवरणानुसार डोल्पाको तोइजम क्षेत्रबाट एक हजार पाँच सय यार्सा सङ्कलक पाटन प्रवेश गरेको र त्यहाँबाट रु १५ लाख राजस्व सङ्कलन भएको छ ।

यसैगरी, मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा सङ्कलक पाटन प्रवेश गर्दा रु एक लाख ९४ हजार, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका दुई हजार ४१ जना यार्सा सङ्कलकबाट रु २९ लाख ७४ हजार पाँच सय राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । डोल्पाको क्षेप्का क्षेत्रबाट गएका चार सय ७३ जना सङ्कलकबाट रु तीन लाख ७९ हजार राजस्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट एक सय तीनजना सङ्कलक पाटन प्रवेश गरेका र उनीहरूबाट रु एक लाख ७७ हजार राजस्व उठेको छ । डोल्पाको त्रिपुरा क्षेत्रबाट चार सय ५० यार्सा सङ्कलक पाटनतर्फ जाँदा रु दुई लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट दुई हजार सात सयजना यार्सा सङ्कलक पाटन गएका र उनीहरूबाट रु ७० लाख ३७ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न सात जिल्लाका स्थानीय जाने गरेका छन् । मुगुमा यार्सा सङ्कलकबाट ६९ लाख राजस्व मुगुको कार्मारोङ गाउँपालिकामा यसपटक यार्सा सङ्कलकबाट रु ६९ लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । अझै पनि सङ्कलकहरु आउने क्रम जारी रहेकाले राजस्व रकम बढ्ने छ । गत वर्ष यार्सा सङ्कलकबाट रु ४६ लाख राजस्व सङ्कलन भएको र यसपटक रु ६९ लाख ५२ हजार पाँच सय जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ । यार्सा राजस्व सङ्कलन टोली प्रमुख महेशबहादुर मल्लले यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्लाभित्रकालाई प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क लिइएको बताउनुभयो ।

यसपटक यार्साबाट करिब रु ७० लाख राजस्व सङ्कलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । कोराना महामारीका कारण चार वर्षसम्म यार्साबाट राजस्व उठेको थिएन । गत वर्ष भने रु ४६ लाख राजस्व सङ्कलन भएको थियो । मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ । करिब चार हजार पाँच सय जना यार्सा खोज्न पाटनमा आएको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष च्यावा लामाले रासस प्रतिनिधिलाई बताउनुभयो ।

1...780781782...1,301Page 781 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune