टी-२० विश्वकप क्रिकेट: पाकिस्तान पहिलो खेलमै स्तब्ध- अमेरिकाले मार्यो बाजी
काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गत भएको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको छ।
सुपर ओभरमा अमेरिकाले पाकिस्तानमाथि ५ रनले जित हात पारेको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए । जवाफमा पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो ।
जारी विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो ।
टी–२० विश्वकपमा अमेरिकाको भने यो पहिलो सहभागिता हो । आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा टोली सहभागी बनेको हो ।
प्रतियोगितामा आयोजक अमेरिकाको यो लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।
यो विश्वकपमा सुपर ओभरबाट खेलको निर्णय भएको दोस्रो अवसर हो । यसअघि गत जेठ २१ गते समूह बी अन्तर्गत नामिबिया र ओमानबिचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा नामिबिया विजयी बनेको थियो ।
आजको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतकीय इनिङ्स खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, एरोन जोन्सले नटआउट रहँदै २६ बलमा ३६ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियस गाउसले २६ बलमा ३५ रनको योगदान दिए ।
नितिश कुमारले १४ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।
सदाब खानले २५ बलमा ४० रनको योगदान दिए । उनले एक चौका र ३ छकका प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडे ।
अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट लिए भने सौरभ नेत्रभाल्करले २ विकेट हात पारे । अली खान र जस्दीप सिंहले १–१ विकेट लिए ।
एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिने
काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताउनुभएको छ । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा सङ्गठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।
प्राकृतिक स्रोत र साधनले भरपूर बिम्स्टेक क्षेत्रले सङ्गठनका माध्यमबाट विकास गरेको भए पनि अझ बढी जनकेन्द्रित कार्य गर्न नेतृत्व तहको सामूहिक बुद्धिमता एवं दृष्टिकोण आवश्यक भएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ । उहाँले छैटौँ बिम्स्टेक शिखर सम्मेलनको तयारी भइरहँदा विश्वव्यापी रूपमा थपिएका नयाँ चुनौतीको सामना गर्दै क्षेत्रीय सहयोगलाई अझ सृदृढ बनाउने कार्ययोजना तयार गर्न जरुरी भएको बताउनुभएको छ ।
सन्देशमा उपप्रधानमन्त्रीले बिम्स्टेक सचिवालयले गरेका कामको प्रशंसा गर्दै बिम्स्टेक बडापत्र लागू भएकामा खुसी व्यक्त गर्नुभएको छ । साथै उहाँले नेपाल सरकारका तर्फबाट सङ्गठनलाई गतिशील तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने
काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ ।
पूर्वाधारविज्ञ, कलाप्रेमी, फोटोपत्रकार, राजनीतिक पार्टीका नेता, समाजका प्रतिष्ठित व्यक्ति प्रदर्शनी अवलोकनमा आउनेक्रम जारी रहेको तथा केही विशिष्ट पदाधिकारीहरूबाट पनि प्रदर्शनी हेर्ने इच्छा व्यक्त भएकाले पुनः समय थप गरी जेठ मसान्तसम्म पुर्याएको रासस व्यवस्थापनले जनाएको छ । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको प्रदर्शनी यसअघि यही जेठ १७ गते एक हप्ताका लागि समय थप भई जेठ २४ गतेसम्म पुर्याइएको थियो ।
रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी अवलोकनका लागि विभिन्न राजनीतिक दलका नेता, विशिष्ट पदाधिकारी, पूर्वाधारविज्ञ, पत्रकार, चित्रकारसहित आमसर्वसाधारणको आउनेक्रम जारी रहेकाले जेठ मसान्तसम्म समय थप गर्नुपरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो । सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रथम राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रदर्शनी अभिरुचिपूर्वक अवलोकन गर्नुभएको छ ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, सङ्घीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र दिलेन्द्रप्रसाद बडू, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताले तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा महेन्द्र विष्ट र गोविन्द आचार्य, राससका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईँसहित वरिष्ठ पत्रकार, प्राध्यापक, विद्यार्थी, विकास एवं कलाप्रेमी आमसर्वसाधारण तस्बिर प्रदर्शनीमा सहभागी हुनुभयो ।
प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरू समावेश छन् । विसं २०७२ को गोरखा भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदाका साथै सडक, पुल, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटनका पुनःनिर्मित भौतिक संरचना, नवनिर्मित पूर्वाधार, हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, एकीकृत बस्ती, राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाका राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा समाविष्ट छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ वटा तस्बिर राखिएका छन् । गणतन्त्र दिवसका अवसरमा गत वर्ष पनि राससले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको थियो ।
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताउनुभएको छ । सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकाङ्क्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय सङ्गठनले केही उल्लेखनीय उपलब्धि हासिल गरे पनि त्यस दिशामा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, “सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग अभिवृद्धि, व्यापार लगानी र पर्यटनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने र विकासका गतिविधिमा सबै नागरिकलाई समाहित गरी गरिबीको दुष्चक्रमा परेका दशौँ लाखलाई त्यसबाट मुक्त गर्न बिम्स्टेक क्षेत्रमा अथाह अवसर र सम्भावना छन् ।” प्रधानमन्त्रीले सङ्गठनको संस्थागत विकास प्रक्रिया बढाउन तथा बिम्स्टेक क्षेत्रका सबैको हितका निम्ति यसका तुलनात्मक लाभका क्षेत्र र विविध सामथ्र्यको उपयोगबाट आपसी सहकार्य र साझेदारीका साथै सहायता प्रवर्द्धनका लागि सहमति भएका क्षेत्रमा सङ्गठनले क्रमशः प्रगति गरेको बताउनुभएको छ । जनता–जनताबीचको सम्पर्क विस्तारको मुख्य भूमिकामा रहेको नेपालले यस क्षेत्रको साझा समृद्धिका लागि सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर अर्थपूर्ण साझेदारी र एकता तथा मैत्रीको भावनाका साथ काम गर्ने बताउनुभएको छ ।
बिम्स्टेकको सफलतामा नै यो क्षेत्रको शान्ति, समृद्धि र जनताको साझा हित निहित रहेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले विकास परियोजनाको कार्यान्वयनका लागि बृहत् राजनीतिक प्रतिबद्धता तथा समझदारी कायम गर्न अपरिहार्य भएको बताउनुभएको छ । उहाँले गत महिनादेखि लागू भएको बिम्स्टेक बडापत्र जनता केन्द्रित विकासका साथै बिम्स्टेक क्षेत्रको समग्र विकासमा सहयोगी भएको उल्लेख गर्नुभएको छ । व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संशाधन, पर्यटन, कृषि, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका निम्ति सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासमा सघाउने बिम्स्टेकको लक्ष्य हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाी मुुलुकहरूको उपक्षेत्रीय सङ्गठन (बिम्स्टेक) समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना ६ जुन १९९७ मा स्थापना भएको हो ।
इजरायलसँग प्रत्यक्ष युद्धको लागि तयार रहेको हिजबुल्लाहको घोषणा
काठमाडौं । इजरायल-हमास युद्धको बीचमा, लेबनानबाट सञ्चालित संगठन हिजबुल्लाहले इजरायलसँग प्रत्यक्ष युद्धको तयारी गरिरहेको छ। अल जजीराका अनुसार हिज्बुल्लाहका उपप्रमुख शेख नइम कासिमले मंगलबार लेबनान-इजरायल सीमामा दुईबीचको दुश्मनी बढ्दै गएको बताए। उनले यदि इजरायली सेना लेबनान पुग्यो भने इजरायलको सिमाना भित्र विनाश गर्ने उनले बताए ।
हिजबुल्लाह नेता कासिमले इजरायललाई धम्की दिँदै भने, “यदि उनीहरू युद्ध चाहन्छन् भने हामी त्यसका लागि तयार छौं।” जवाफमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्ध उत्तरी क्षेत्रमा ठूलो कारबाहीको तयारी गरिरहेको चेतावनी दिएका छन्।
लेबनानसँगको सिमाना नजिक रहेको किरियत शमोना क्षेत्रको भ्रमणका क्रममा इजरायली प्रधानमन्त्रीले इजरायललाई नोक्सान पुर्याउने र हामी चुप लागेर बस्छौँ भन्ने सोच्नेले ठूलो गल्ती गरिरहेको बताएका छन् ।
हिजबुल्लाले लगातार दुई दिनदेखि इजरायलमा ड्रोन आक्रमण गरिरहेको छ। बीबीसीका अनुसार हिजबुल्लाहले सोमबार इजरायली सीमा भित्र किरियत शमोनामा ड्रोनबाट रकेट प्रहार गरेको थियो, जुन जंगलमा खसेको थियो। जसका कारण त्यहाँ आगलागी हुँदा ११ जनालाई सास फेर्न गाह्रो भएको थियो । त्यसपछि स्थानीय अधिकारीहरूले मानिसहरूलाई अस्पताल लगे।
सोमबार पहिलो पटक इजरायलमा आक्रमण गर्न ड्रोन स्क्वाड्रन पठाएको थियो । अल जजिराका अनुसार इजरायलले लेबनानको सिमानामा रहेको नाकोरा सहरमा गरेको आक्रमणको जवाफमा यो हमला गरिएको हो । यसबाट बच्नका लागि इजरायली सेनाले धेरै सहरहरूमा साइरन बजायो ताकि मानिसहरू सुरक्षित ठाउँमा शरण लिन सकून्।
इजरायली रक्षा बल आइडीएफ प्रमुख जनरल हार्जी हेलेवीले मंगलबार इजरायलले हिजबुल्लाह विरुद्ध प्रत्यक्ष युद्ध लड्ने वा नलड्ने भनेर छिट्टै निर्णय गर्ने बताएका छन्। हलेवीले भने, “हामीले विगत ८ महिनादेखि उनीहरूमाथि हमला गरिरहेका छौँ। हिजबुल्लाहले यसका लागि ठूलो मूल्य चुकाउनुपरेको छ। तर पछिल्लो समय हामीले आफ्नो प्रतिरक्षालाई पनि मजबुत बनाएका छौं। हामी पूर्णरूपमा उसलाई आक्रमण गर्न तयार छौं।”
फिलिपिन्समा ज्वालामुखी विस्फोटपछि स्कुल-कलेज बन्द, खरानीको बादल ५ किलोमिटर माथिसम्म उड्दै
काठमाडौं । फिलिपिन्सको माउन्ट कन्लाओनमा सोमबार ज्वालामुखी विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ज्वालामुखी नेग्रोस टापुमा रहेको छ।
विस्फोटपछि आकाशमा पाँच किलोमिटर उचाइमा खरानीको बादल मडारिएको थियो । त्यहाँ अझै पनि ज्वालामुखीका फोहोर र तातो खरानी निरन्तर बाहिर निस्किरहेको छ।
सुरक्षा अधिकारीहरूले त्यहाँबाट मानिसहरूलाई बाहिर निकाल्न थालेका छन्। नेग्रोसका गभर्नर जोस लाक्सका अनुसार मानिसहरूलाई ओक्सीडेन्टल प्रान्तमा सारिएको छ, जहाँ अहिलेसम्म ७०० भन्दा बढी मानिसहरू राहत शिविरहरूमा बसिरहेका छन्।
फिलिपिन्स सरकारले मानिसहरूलाई ज्वालामुखी क्षेत्रमा जान प्रतिबन्ध लगाएको छ। सरकारले सो क्षेत्रमा सल्फ्युरिक ग्यास फैलिन सक्ने चेतावनी दिएको छ । सल्फ्युरिक ग्यासले छालाको एलर्जी र श्वासप्रश्वासमा समस्या निम्त्याउँछ।
स्थानीयवासीका अनुसार ज्वालामुखी विष्फोटपछि त्यसको फोहोर सडक र खोलामा बगेको थियो । जसका कारण धेरै क्षेत्रका सडक बाढी र हिलोले भरिएका छन् । ज्वालामुखीमा स–साना विस्फोटहरू निरन्तर भइरहेका छन् । जसका कारण आकाश धुवाँले भरिएको छ ।
विस्फोटका कारण कन्लाओन सहरका विद्यालय र कलेजहरू बन्द गरिएका छन् । साथै उक्त क्षेत्रबाट हुने उडानहरु पनि रद्द गरिएको छ । यहाँ हालसम्म ३२ उडान रद्द भएका छन् । सुरक्षा अधिकारीहरूले आगामी दिनमा थप विस्फोट हुने आशंका गरेका छन्। उद्धार टोली २४सै घण्टा मानिसको उद्धारमा खटिने उनले बताए ।
यसअघि गत वर्ष फिलिपिन्समा माउन्ट मेयोन ज्वालामुखी विस्फोट भएको थियो । त्यतिबेला यस ज्वालामुखीबाट २ किलोमिटर उचाइसम्म धुवाँको मुस्लो उठिरहेको थियो, जसका कारण मानिसलाई सास फेर्न गाह्रो भइरहेको थियो । सरकारले सावधानीका रुपमा माउन्ट मेयोनको ६ किलोमिटरसम्मको क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरेको थियो ।
नेप्से परिसूचक ओरालो
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार ७७ दशमलव ७८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ३४ मा सीमित भएको छ । कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार, इमर्जिङ नेपाल,मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ८८,माण्डु हाइड्रोपावर आठ दशमलव ४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले सात दशमलव ५८ कमाएका छन् । त्यस्तै,माई खोला हाइड्रोपावर छ दशमलव ४०,ज्योति विकास बैंकको ऋणपत्र पाँच दशमलव ३१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ३१, पोखरा फाइनान्स पाँच १२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाए ।
वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै हुने
काठमाडौँ: सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ । आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सो सेवाको शुभारम्भ गर्नुभयो । आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधावीमा नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी दिनुभयो । उहाँले साउदी अरेबियाको रियादस्थित नेपाली राजदूतावासमा भने यो सेवा सन् २०२१ बाट सुरु गरिए पनि वैदेशिक रोजगार विभागमा नजोडिएकाले मागपत्र प्रमाणीकरण भए पश्चात पुनःकागजातमा छाप लगाएर पठाउनुपर्ने अवस्था रहेकोमा अब भने छाप लगाउन नियोगमा धाइरहनु नपर्ने भएको उल्लेख गर्नुभयो ।
प्रमाणीकरणको यो व्यवस्था नहुँदा रोजगारदाता कम्पनी तथा सम्बन्धित एजेन्सीहरु नियोगमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षणमा कठिनाइ हुने, धेरै लागत लाग्ने र कार्यप्रक्रिया पारदर्शी नहुनेलगायतका गुनासा प्राप्त हुने गरेको थियो ।
परराष्ट्रमन्त्री श्रेष्ठले उक्त सेवा आजबाट कार्यान्वयन भएपछि सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोगमा अनलाइनबाट आवेदन गर्ने र त्यो आवेदन स्वीकृति भएपछि मात्रै राजस्व रकम भुक्तानी हुने पनि जानकारी दिनुभयो । “त्यसपछि अनलाइनबाट नै उक्त कागजातहरु वैदेशिक रोजगार विभागमा आइपुग्ने र विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्राप्त हुनेछ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “यस व्यवस्थाबाट सम्बन्धित रोजगारदाता कम्पनी, श्रमिक छनोट गर्ने कम्पनी सबैले आफ्नो घर वा कार्यालयबाट मागपत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन्, आवेदनको प्रगति विवरण हेर्न सक्ने, कुनै कागजात नपुगेमा अनलाइनबाटै हेर्न सक्ने, बिचौलियाजन्य कार्य निरुत्साहित हुने, रोजगारदाता र श्रमिक छनोट गर्नेलगायतका विवरण यस प्रणालीमा सुरक्षित हुन्छ ।” यस प्रणालीका कारण कागजातहरु चाहेको बेला जुनसुकै समयमा हेर्न सकिने र उक्त मागपत्रका आधारमा लगिएका श्रमिकमाथिको जोखिम कम हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट विद्युतीय सुशासन कायम भई सेवाग्राहीले लाभ लिने पनि उहाँले बताउनुभयो ।
त्यस अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइनबाट मागपत्रको प्रमाणीकरणले अझै श्रमिकको हकहित र रोजगारदाता कम्पनीहरुको नियन्त्रण र सहजीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो सेवालाई चुस्त बनाउनका लागि केही सुझाव प्रस्तुत गर्दै मन्त्री अर्यालले प्रणालीलाई चुस्त बनाएर लैजान कन्सुलर सेवा विभागलाई आग्रह गर्नुभयो । उहाँले तलब दर नेपाली पैसा वा अमेरिकी डलरमा राख्न पाउने व्यवस्था गर्न पनि विभागलाई आग्रह गर्नुभएको छ । यो सेवाको बारेमा रोजगारदाता कम्पनी तथा सम्बद्ध व्यक्तिहरुलाई प्रशिक्षण जरुरी रहेको उहाँले औँल्याउनुभयो ।
कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले सेवालाई क्रमिक रुपमा अनलाइनमार्फत दिने काम जारी रहेको बताउँदै सोही अनुरुप यो नयाँ सेवा थप गरिएको बताउनुभयो । यसले स्रोत साधन, समयको बचतसँगै गुणत्मक सेवा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका लागि मागपत्र, प्रतिबद्धतापत्र, कार्यसम्झौता, नमूना रोजगारी सम्झौताटलगायतका कागजातहरु प्रमाणिकरण गर्न आवश्यक हुन्छ । यो प्रणाली सुरु भएसँगै अब त्यही कागजातहरु अनलाइबाटै प्रमाणीकरण सुरु भएको हो ।
ललितपुरका घर-घरमा नगरप्रहरी अभियान
पाटन (ललितपुर): ललितपुर महानगरपालिका नगरप्रहरीले सेवा सुविधाबारे जानकारी दिन तथा विकास निर्माण र कर व्यवस्थापनलाई नागरिकमैत्री बनाउन घरघरमा नगरप्रहरी अभियान सुरु गरेको छ । “ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार” भन्ने नाराका साथ आफ्ना गतिविधिहरू, विकास निर्माणका काम र सामाजिक काम गर्दै आएको सुन्दर ललितपुर नगरी, घरघरमा नगरप्रहरी परिचालन अभियान आजबाट सुरु भएको हो ।
ललितपुरले सुरु गरेको यो अभियान देशकै नयाँ नौलो भएको दाबी गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले यस अभियानले बहुआयामिक महत्व कायम गर्ने धारणा राख्नुभयो । “निर्वाचन जितेर जनप्रतिनिधि जनताको घरदैलोमा पुग्न नसकेको अवस्थामा घरघरमा पुगेर त्यसको रिक्ततालाई मेट्दै उनीहरुको सेवा, सुविधा र सहयोगमा थप मद्दत पु¥याउने छन् भन्ने हाम्रो विश्वास छ, वडा अध्यक्षलाई पनि काम गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो । अभियानमा भएका राम्रा नराम्रा अनुभव, गतिविधि तथा सुधार गर्नुपर्ने पक्षलाई समेटेर नगरप्रहरी प्रमुखले प्रत्येक हप्ताको जानकारी महानगर प्रमुखलाई गराउने व्यवस्थापन भएको उहाँले जानकारी गराउनुभयो ।
यो अभियानमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग सहकार्य गरिने जानकारी गराउनुहुँदै नगरप्रमुख महर्जनले नगर प्रहरीको कामबाट विगतमा नगरवासीबाट आउने गुनासोमा ७० प्रतिशत कम भएको बताउनुभयो । उहाँले नगरप्रहरीकै सक्रियतामा सडकको सरसफाइ र वृक्षरोपण गरिएका बोटबिरुवाको संरक्षण र त्यसमा नियमित पानी दिएर सहरलाई सुन्दर बनाउन काम गर्दै आएको जानकारी गराउनुभयो । वृक्षरोपण गरिएका बोटबिरुवा संरक्षणका लागि प्रोत्साहन र दण्ड र जरिवानाको नीतिलाई पनि महानगरले अवलम्बन गर्दै आएको बताउँदै विगतमा बोटबिरुवा मास्ने एक जनालाई रु एक लाख र अर्कालाई रु १५ हजार जरिवाना गरिएको जानकारी गराउनुभयो । एक जनाको फाइदाका लागि धेरैको ज्यान जोखिममा राख्न सकिन्न भन्दै प्रमुख महर्जनले वातावरण प्रहरी परिचालन गरेर सवारीसाधनको धुँवा परीक्षण गर्ने र मापदण्डअनुसार नभए तत्कालै कारबाहीका लागि पठाइने व्यवस्था मिलाइने बताउनुभयो ।
नगरप्रहरी परिचालनले नगरबासीको दिनचर्या र धार्मिक तथा सामाजिक काममा सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले संस्कृति र सम्पदा संरक्षणमा ललितपुरको नगरप्रहरीले गरेका काम उत्कृष्ट रहेको भन्दै ललितपुर प्रहरीले नगरप्रहरीसँग मिलेर धेरै राम्रो काम सम्पादन गर्न सकेको बताउनुभयो । उहाँले घरघरमा नगरप्रहरीसँगै समुदायमा प्रहरी कार्यक्रमलाई पनि संयुक्तरूपमा जोडेर काम गर्न सकियो भने अपराध नियन्त्रण र विपद् व्यवस्थापन काम गर्न सकिने बताउनुभयो । उहाँले ललितपुरलाई संसारकै सुरक्षित र भयमुक्त समाज निर्माण गर्न सम्भव छ भन्नुहुँदै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायमका लागि सूचना आवश्यक भएको बताउनुभयो ।
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले यस अभियानले महानगरबाट प्रवाह हुने सेवा थप प्रभावकारी हुने भन्दै नागरिकको अपेक्षा सम्बोधन गर्न सम्भव हुने बताउनुभयो । महानगरका नीति, नियम, कर व्यवस्थापनका कानुन, विकासका विषयमा जानकारी दिन महानगरमा रहेका एक लाखभन्दा बढी घरमा नगरप्रहरी परिचालन हुने नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराउनुभयो । अहिले ललितपुर महानगरले एम्बुलेन्स, शवबहान, ढल निकासको सरसफाइका लागि जेटिङ मेसिनको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।










