Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Thursday, May 14, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 780

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

By
Himalayan Tribune
-
June 9, 2024
0

अछाम, २७ जेठ : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए ।

खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । “पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।” पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो ।खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।

नेप्से परिसूचक ओरालो लाग्यो

By
Himalayan Tribune
-
June 9, 2024
0

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव १८ मा सीमित भएको छ । एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता शेयर रु पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ मा कारोबार भयो ।

नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । यस्तै बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स सात दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर पाँच दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

By
Himalayan Tribune
-
June 9, 2024
0

काठमाडौँ: विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । “बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ ।

बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ । उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रुपमा सहभागी हुनुहुनेछ । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बङ्गा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरु नेपाल आउने जनाइएको छ । सहसचिव नेपालका अनुसार विश्व बैंकका दाता करिब ६० र साझेदार ९० भन्दाबढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुनेछन् ।

सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा रहेको बताउनुभयो ।

उहाँले साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास आयोजकको छ । बैठकमा आगामी तीन वर्षमा आइडिएले गर्ने प्रमुख कामका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछन् । बैठकपछि अध्यक्ष बङ्गासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपासमा रहेका विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जाने कार्यसूची रहेको जनाइएको छ ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएका विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठकको तयारीबारे छलफल गर्नुभएको थियो । त्यसअघि मन्त्री पुनले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएकाबेला वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँगको भेटमा पनि आइडिए बैठकबारे कुराकानी गर्नुभएको थियो । आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड-१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो । विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र छ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

By
Himalayan Tribune
-
June 9, 2024
0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गर्नुभएको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम छ ।

सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालका साथमा उहाँकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

By
Himalayan Tribune
-
June 9, 2024
0

वीरगञ्ज (पर्सा): भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताउनुभयो । “ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टिकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताका लागि दुई महिनाअगावै सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकले प्रयोग गर्ने उताका सवारीसाधनलाई अस्थायी अनुमति लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता थियो, अब त्यो सेवा ठोरी छोटी भन्सारबाटै प्रवाह भएको छ ।

यसले पर्यटकीय गतिविधिमा ठूलो फाइदा पुर्याएको छ ।” वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी साही मीनाले भारत र नेपालबीच सदियौँदेखिको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई दुवै देशका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय र नेपालीले भ्रमण गर्नुपर्नेमा जोड दिनुभयो । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले केही समय यता ठोरी नाकाबाट भारतीय पर्यटकको सङ्ख्या बढिरहेको बताउँदै उनीहरूलाई भ्रमणमा प्रोत्साहन गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।

इलाममा आदिवासी जनजाति महोत्सव

By
Himalayan Tribune
-
June 9, 2024
0

फिक्कल (इलाम): इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिनुभयो । “आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

By
Himalayan Tribune
-
June 9, 2024
0

फुङ्लिङ (ताप्लेजुङ): जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश गरिएको छ । गाउँपालिकाले जारी गरेको घोषणापत्रमा शिक्षणमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दामाथि हाजिर भई पठनपाठनमा संलग्न भएमा शिक्षक दिवसका अवसरमा प्रोत्साहन गरिने उल्लेख छ ।

विद्यालय हाताभित्र राजनीति गतिविधिमा प्रतिबन्ध लगाइएको तथा हाल कायम रहेको गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिका समयानुकूल परिमार्जन गरिने छ । प्रधानाध्यापकको छनोट प्रचलित कानुन, ऐन तथा नियमावलीबमोजिम गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, विषयगत र प्रविधिमा दक्खल राख्ने शिक्षकको छनोट गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई विद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आवश्यक तालिम दिइने भएको छ । यसैगरी विद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री बनाइने छभने शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई सुदृढ बनाइने तथा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

By
Himalayan Tribune
-
June 9, 2024
0

तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो ।

हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताउनुभयो । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

By
Himalayan Tribune
-
June 9, 2024
0
म्याग्दी: जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए ।
शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिनुभयो । स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उहाँले बताउनुभयो । एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताउनुभयो ।
भेटेरिनरी अस्पतालका पशु चिकित्सक भरत रेग्मीको टोलीले एक हजार दुई सय ५९ वटा पशुपक्षीका लागि औषधि वितरण गरेको जनाएको छ । बेनी अस्पतालका डा रामु सापकोटा, सुधानु प्रधान, विद्या अधिकारी, समिर भण्डारी, रोशन आचार्य, करुणा कार्की, आयुषा मानन्धर, अशोक पन्त, अस्मिता कटुवाल, मदन सापकोटा, मनकाजी थापा, सैनिक अस्पतालका डा मिलन न्यौपाने, सेविका श्रेष्ठ, अमित तुलाचन र विक्रमजङ्ग थापाको टोलीले सेवा प्रवाह गर्नुभएको थियो । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । शिविरमा मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिएका थिए ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

By
Himalayan Tribune
-
June 9, 2024
0

काठमाडौँ हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा ती प्रदेशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउ अनुरोध गरेको छ ।

1...779780781...1,303Page 780 of 1,303

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune