Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 760

परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

By
Himalayan Tribune
-
June 21, 2024
0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारणलाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले कहिल्यै पनि देश र जनतालाई माया नगर्ने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताउनुभयो । “सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन र रहँदैन पनि”,

प्रधानमन्त्री दाहालले भन्नुभयो, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ । सबै बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस् र डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैन ।” नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीको भूमिका निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।” क्रान्तिपछि भएका महत्वपूर्ण कामलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्ने र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बुद्धिजीवीको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताउनुभयो ।

बुद्धिजीवीले जनमतलाई समाजवादी दिशातर्फ डोर्याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । उहाँले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पार्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले शान्ति प्रक्रियाको हस्ताक्षरकर्तामध्येका एक नेता प्रधानमन्त्री रहनुभएको वर्तमान अवस्थामा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन विशेष पहल लिनुपर्ने सुझाव दिनुभयो । आन्तरिक कमजोरीका बाबजुत नेपाली कांग्रेस ऐतिहासिक र सैद्धान्तिकरुपमा प्रजातान्त्रिक संस्था रहेको उल्लेख गर्दै वाग्लेले मुलुकमा भरपर्दो अर्को प्रजातान्त्रिक संस्थाको आवश्यकता औँल्याउनुभयो । “यो मुलुकमा प्रजातान्त्रिक संस्थाको नाम र कामका हिसाबले आवश्यक छ, अहिलेको सन्दर्भमा त्यो आवश्यकता कसैले सम्बोधन गर्नसक्छ भने त्यो वर्तमान प्रधानमन्त्री नै हो”, उहाँले भन्नुभयो ।

सङ्गठनका पूर्वअध्यक्ष नरेश भण्डारीले जनतामा अग्रगामी चेतनाको बिज रोप्न बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनमा बुद्धिजीवी सङ्गठनले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धिजीवी सङ्गठनका पूर्वअध्यक्ष भण्डारी तथा सङ्गठनका पूर्वअध्यक्ष एवं फ्रयाक्सन इञ्चार्ज डा खिमलाल देवकोटालाई सम्मान गर्नुभएको थियो ।

रोशी गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’

By
Himalayan Tribune
-
June 21, 2024
0

धुलिखेल (काभ्रेपलाञ्चोक): जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् । सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयानुसार बिहीबारदेखि लागू हुनेगरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको महानिर्देशक सुवेदीले राससलाई बताउनुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका दूधराज तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वडाध्यक्ष निरध्वज लामा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अशोक गौतम, राप्रपाका प्रतिनिधि कुवेर गौतम र रोशी माविका प्रधानाध्यापक रामशरण सिग्देलले घोषणा गरेको कार्यलाई निरन्तर अघि बढाउनसक्नुपर्छ भन्नुभयो ।

कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम

By
Himalayan Tribune
-
June 21, 2024
0

तनहुँ: जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो । कोदोको मःम, सेलरोटी, मदिरा, फापरको रोटी, सिस्नोको सुप, बेलको जुसलगायत स्थानीय स्रोतबाट उत्पादन गरी बजारीकरण सहज बनाइने गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

खाद्य स्वच्छता कायम गर्न ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारालाई व्यावहारिक कार्यन्वयनका लागि कोदोलगायतका स्थानीय उत्पादनलाई बढावा दिन लागिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमले पशु सेवा तथा प्रसार कार्यक्रमअन्तर्गत अध्यक्षसँग पशु कार्यक्रम सञ्चालन गरिने छ । घरेलु तथा साना उद्योगतर्फका विभिन्न कार्यक्रम समावेश गरिएको छ ।

उहाँले भन्नुभयो, “स्थानीय सीप स्रोत, साधन एवं प्रविधिको प्रयोगलाई बढवा दिई व्यावसायिक उत्पादन गर्न अग्रसर गराउने योजना रहेको छ ।” स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटीमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रम गाउँपालिकाले लिएको छ ।

पर्यटन, सहकारी विकास, बैंक तथा वित्तीय क्षेत्रका विषय समेटिएका छन् । स्वास्थ्य क्षेत्रतर्फ ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई स्वास्थ्यको मूल आधार बनाइएको छ । अपाङ्गता, ज्येष्ठ नागरिक र अन्यतर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडेर अघि बढाइने जनाइएको छ ।

वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास

By
Himalayan Tribune
-
June 21, 2024
0

झापा: आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उहाँलाई सताइरहन्छ ।

गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उहाँले सुनाउनुभयो । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु भएसँगै त्रसित उनीहरू कनकाईमा पानीको सतह बढेको नियालिरहन्छन् । राति निद्रामा रहेका बेला बस्तीमा बाढी पस्ने पीरले उनीहरू निश्चिन्त निदाउन सक्दैनन् । प्रत्येक वर्षको वर्षायाम यसरी नै बित्ने गरेको छ ।

बस्तीमा बाढी पस्न नदिन भरपर्दो बाँधको व्यवस्था नहुँदा वर्षेनी सास्ती झेल्नु परेको वडा नं १ का सदस्य राजभक्त सुनुवारले बताउनुभयो । विसं २०७४ देखि नै जनप्रतिनिधि बन्नुभएका उहाँले नदीकटान र बाढी नियन्त्रण रोक्न प्रदेश र सङ्घीय सरकारको सहयोग नहुँदा समस्या भएको बताउनुभयो । उहाँले जनताको तटबन्धन कार्यक्रममार्फत बाँध बाँध्न पटकपटक माग गर्दा सुनुवाइ नभएको गुनासो गर्नुभयो । “हाम्रो पीडा कसले बुझ्ने ?, पालिकाको थोरै बजेटले बाँध बनाउन पुग्दैन”, उहाँले भन्नुभयो, “कुन बेला खोलामा बगेर मरिएला भन्ने त्रासमै बित्ने गरेको छ बर्खा ।”

होक्लाबारी बाढीजन्य विपद्को उच्च जोखिम भएको बस्ती हो । सो क्षेत्रका एक सय तीन परिवारलाई पूर्वमा कनकाई र पश्चिममा कमल बनियानी खोलाले घेरेको छ । यी दुईले एक सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएको गौरीगञ्जकै सिमलडाँगी, टप्पुबस्ती र कुञ्जीबारीमा हरेक वर्षायाममा आतङ्क सृजना गर्दै आएका छन् ।

बस्तीमा बाढी पस्नेबित्तिकै होक्लाबारीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इन्द्रेणी आधारभूत विद्यालयलाई आश्रयस्थल तोकिएको वडा सदस्य सुनुवारले बताउनुभयो । उक्त विद्यालय नै कनकाई र कमल बनियानीको बाढीको चपेटामा पर्नसक्ने उहाँले बताउनुभयो ।

बर्खाका बेला होक्लाबारी क्षेत्रमा आवागमनका लागि डुङ्गा नै चलाउनुपर्ने बाध्यता छ । पालिकाले सो क्षेत्रका बासिन्दाको सुविधाका लागि डुङ्गाको व्यवस्था गरिदिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीले गौरीगञ्जको वडा नं १ र २ अन्य वडाको तुलनामा बढी विपद्को जोखिममा रहेको बताउनुभयो । उहाँले वर्षाका कारण हुने विपद्को पूर्वतयारी पूरा गरिसकेको जानकारी दिनुभयो । “आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सबै सावधानीको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “राहत कोष र आवश्यक विपद् सामग्रीको तयारीसँगै प्रभावित क्षेत्रको अवलोकनसहित तथ्याङ्क सङ्कलन गरिसकेका छौँ ।”

अध्यक्ष राजवंशीले स्थानीय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । वडा नं १ कै कुञ्जिबारी, टाप्पुबस्ती, बिर्खेबस्ती, माझीगाउँ पनि बाढीको उस्तै त्रासमा रहेको छ । जिल्लाका झापा, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी विस्थापित हुन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका १५ स्थानीय तहका नौ हजार नौ सय १९ परिवार बाढीको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

By
Himalayan Tribune
-
June 21, 2024
0

लुम्बिनी बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनुभयो ।

आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

By
Himalayan Tribune
-
June 21, 2024
0
फाइल तस्बिर
काठमाडौँ: हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सम्भावित बाढीपहिराको जोखिमबाट पनि सचेत रहन आग्रह गरेको छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ । भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

By
Himalayan Tribune
-
June 21, 2024
0

फिक्कल (इलाम): जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् । बाख्रापानल प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् ।

किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा रु ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने रु १० लाख तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो । “ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ”, वडा अध्यक्ष लिम्बूले भन्नुभयो, “यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।”

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

By
Himalayan Tribune
-
June 21, 2024
0

रसुवा: चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ । राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उहाँले बताउनुभयो । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।

भारतद्वारा अफगानिस्तान पराजित

By
Himalayan Tribune
-
June 21, 2024
0

काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए । भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।

अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।

बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

By
Himalayan Tribune
-
June 20, 2024
0
सांकेतिक तस्बिर

बागमती: कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तक्र्रियामा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले नेपालमा आयात हुने विषादीमध्ये करिब ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक र उपत्यकाका तीन जिल्लामा खपत हुने गरेको जानकारी दिनुभयो ।

नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको जनाउँदै उहाँले सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो । किसानले कीरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस, ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्वान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्यूटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादीहरूको प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ ।

उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभावी विषादीको प्रयोग गर्दा कृषि उत्पादनको उत्पादन लागत बढ्नुका साथै वायु, माटो र जल प्रदूषणका साथै जलवायु परिवर्तनको समस्या बढ्दै जाने उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपाङ्गता भएका शिशु जन्मिने, वङ्शानुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताउनुभयो ।

विषादीका कारण मानव स्वास्थ्य जोखिम परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उहाँले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । किसानलाई अग्र्यानिक कृषि उत्पादनमा जोड दिन सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

1...759760761...1,302Page 760 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune