Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 761

मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति सरोकारवालाको ध्यानाकर्षण

By
Himalayan Tribune
-
June 20, 2024
0

काठमाडौँ: मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन् । नेपाल नेटवर्कले बिहीबार आयोजना गरेको मिडिया काउन्सिल विधेयक अन्तर संवाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुर्नलेखन गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् । अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको तथा संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी छ । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगतले पूर्ण बहिष्कार गरेर अगाडि बढ्ने बताउनुभयो ।

सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलको अध्यक्ष नियुक्त गर्ने प्रावधान कानुन सचिवले न्यायाधीश नियुक्ति गरेजस्तै भएकाले त्यसमा उहाँले असहमति जनाउनुभयो । विधेयक राष्ट्रियसभामा ल्याउनुअघि सञ्चार मन्त्रालयले डा आचार्यको संयोजकत्वमा गठित विज्ञ समूहमार्फत मस्यौदा तयार गर्न लगाएको थियो । विज्ञ समूहले बुझाएका सबै विषय फेरबदल गरेर विधेयक आएको पूर्व अध्यक्ष डा आचार्यको भनाइ छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विधेयकको सैद्धान्तिक अवधारणा पत्रमा नै दर्जनौँ अस्पष्टता रहेको बताउनुभयो । प्रेस काउन्सिल स्वायत्त, स्वतन्त्र र जिम्मेवार निकायको मर्मलाई आत्मसाथ गर्दै विधेयक आउनुपर्नेमा सरकार अन्तरगतको विभाग बनाउने गरी विधेयक आएको उहाँको भनाइ छ । विधेयक पुर्नलेखनकै आवश्यकता रहेकाले काउन्सिले लिखित रुपमा संसदीय समितिलाई सुझाव दिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

विधेयकको दफा ३३ मा काउन्सिललाई स्वायत्तता दिने भन्ने तर सञ्चार मन्त्रालयलाई वार्षिक प्रतिवेदन बुझाउने भनिएको विषय नमिल्दो भएको उहाँको तर्क छ । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं फ्रिड्म फोरमका अध्यक्ष तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलभन्दा पनि पछाडी फर्किनेगरि विधेयक आएको टिप्पणी गर्नुभयो । काउन्सिल पूर्ण रुपमा स्वायक्त हुनुपर्ने मत जाहेर गर्दै उहाँले सचिव नेतृत्वको समितिले अध्यक्ष सिफारिस गर्ने र सरकारको प्रतिनिधि काउन्सिलको सदस्य रहने कुरा सरासर गलत भएको बताउनुभयो ।

विधेयकमा सञ्चार मन्त्रालयको सहसचिव काउन्सिलमा सदस्य रहने प्रस्ताव गरिएको उल्लेख गर्दै पूर्व अध्यक्ष दाहालले यो पूर्ण रुपमा स्वायक्त हुनुपर्छ भन्नुभयो । “सरकारले त्यहाँ पनि आफ्नो प्रतिनिधि खोज्नुहुँदैन । कर्मचारी तन्त्रको घेराबन्दीमा परेर स्वतन्त्र मिडिया कायम रहन सक्दैन”, उहाँले भन्नुभयो । सांसद कमलादेवी पन्त र राजेन्द्रलक्ष्मी गैरेले विधेयकमा सरोकारवालले राखेका सवालभन्दा बाहिर गएर विधेयक पारित गर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड

By
Himalayan Tribune
-
June 20, 2024
0
काठमाडौँ: नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल महिला सङ्घले आज यहाँ अयोजना गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै सङ्ख्यामा महिला उम्मेदवार बनाउने गरेकाले विजयी हुनेको सङ्ख्या पनि कम हुने भन्दै महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको बताउनुभयो । “प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो”, उहाँले भन्नुभयो ।
त्यसअघि पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउने उहाँको भनाइ छ । सभापति देउवाले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा पनि अझ सशक्त र प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गर्नुभयो । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उहाँले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गर्नुभयो । भोलिका दिनमा यस्तै महत्वपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला सङ्घले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले महिला सङ्घसँग राजनीतिक सङ्घर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न सङ्घ लाग्नुपर्ने धारणा राख्नुभयो । कांगेस प्रवक्ता डा प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता नभएसम्म कसैले पनि अधिकार नपाउने भएकाले कांग्रेसले समयसमयमा विभिन्न राजनीतिक आन्दोलन गर्नुपरेको बताउनुभयो ।
उहाँले प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्नेमा जोड दिनुभयो । उषा राउत मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेत्री पुष्पा भुसाल, कांग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङलगायले कांग्रेसभित्र महिलामैत्री वातावारण रहेको बताउनुभएको थियो । संविधान, विभिन्न कानुन र पार्टी विधानमा भएका महिला अधिकार, समावेशी समानुपातिसम्बन्धी व्यवस्था कार्यान्वयनमा उहाँहरुले जोड दिनुभएको थियो । —

बहुआयामिक विकासमा ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको विश्वास

By
Himalayan Tribune
-
June 20, 2024
0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभएको भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत विकासको अवधारणाअनुरूप निजी क्षेत्रसमेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा–(मुग्लिन) भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सिर्जना हुने लक्ष्य लिइएको छ ।” वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यावहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहमा आयोजनाबीच दोहोरोपना हुन नदिने नीति लिइएको उल्लेख गर्दै उहाँले ठूला आयोजना सङ्घबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका प्रदेशबाट र साना आयोजना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानतर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रममा कम रकम देखिए पनि यस प्रकारका आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी दिनुभयो । रामायण तथा बुद्ध ‘सर्किट’ निर्माण गर्ने सहमति कार्यान्वयनमा प्रधानमन्त्री दाहालले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने विषयमा भएको सहमति गम्भीरताका साथ कार्यान्वयन प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले शिव, बुद्ध र किरात परिपथको विकास गर्न यसवर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिनुभयो । “नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “रामायण सर्किटलगायत शिव, बुद्ध र किरात परिपथको विकास गर्न यसवर्ष बजेट सुनिश्चित गरिएको छ ।”

उहाँले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले देशका विभिन्न भागमा रहेका गुठी, सार्वजनिक जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा

By
Himalayan Tribune
-
June 20, 2024
0

काठमाडौँ: नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र पर्नुभएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा पर्नुभएका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आउनुभएका तनहुँका थापा हाल बेलायतमा बस्दै आउनुभएको छ । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुनुभएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउनुहुन्छ । “नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ”, काठमाडौँमा रहनुभएका थापाले भन्नुभयो । विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जित्नुभएको थियो ।

चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुनुहुन्छ ।

कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बग्यो

By
Himalayan Tribune
-
June 20, 2024
0

पर्वत: उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो ।

बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । बाढीबाट रु डेढ करोड बराबरको क्षति भएको छ । यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो ।

अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो ।

पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन । यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उहाँले बताउनुभयो । इन्जिनियर गौतमले ठेकेदारलाई एक÷दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताउनुभयो । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए ।

विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो । विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो ।

त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

By
Himalayan Tribune
-
June 20, 2024
0

भक्तपुर : युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिनुभयो । नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो ।

उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो । गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उहाँले बताउनुभयो ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् । एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता था श्रेष्ठले जानकारी दिनुभयो ।

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

By
Himalayan Tribune
-
June 20, 2024
0

गोलबजार : सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीबाट कटान भएपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक महेश कार्कीको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाली सेना बरख गण राजविराजबाट १५ जना नेपाली सेनाका जवान र नेपाल प्रहरी चौकी बेल्ही, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्हीका प्रहरीसहितको टोलीले तटबन्ध निर्माण थालेको हो ।

गत वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले बलान नदी नियन्त्रण योजनाअन्तर्गत रु तीन करोड ९९ लाख १७ हजार आठ सय ८५ को लागतमा बाँध बनाएको थियो तर गत वर्षको अविरल वर्षाले बाँध भत्काएपछि जिल्ला विपद् व्यवस्थान समितिको अगुवाइमा तटबन्ध निर्माण थालिएको हो ।

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

By
Himalayan Tribune
-
June 20, 2024
0

बरहथवा (सर्लाही): बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरः सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहाल

By
Himalayan Tribune
-
June 20, 2024
0

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचि छन् । विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थाल्नुभएको हो ।

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

By
Himalayan Tribune
-
June 20, 2024
0

गण्डकी: गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ ।

प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् । प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पु¥याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ”, भन्नुभयो । पोखरा महानगरपालिका–२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्गे पुल वरदान सावित भएको बताउनुभयो । याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन सुरु गरेको उहाँले सुनाउनुभयो । “हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै टिमिरेचौर थियो, त्यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो”, उहाँले भन्नुभयो, “पछि सबै हेम्जातिर सरेपछि त्यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।” प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । उहाँले पुल बनाउन जग्गादान गर्नुभएको थियो ।

खेतमा आवातजावतको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले पछाडि परेको टिमिरेचौरमा अहिले चहलपहल देखिन्छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत रु ९१ लाखको लगानीमा उक्त पुल बनेको हो । तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ ।

1...760761762...1,302Page 761 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune