Friday, May 15, 2026
Home Blog Page 762

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

0
फाइल तस्बिर

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

0

फिक्कल (इलाम): जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् । बाख्रापानल प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् ।

किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा रु ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने रु १० लाख तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो । “ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ”, वडा अध्यक्ष लिम्बूले भन्नुभयो, “यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।”

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

0

रसुवा: चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ । राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उहाँले बताउनुभयो । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।

भारतद्वारा अफगानिस्तान पराजित

0

काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए । भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।

अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।

बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

0
सांकेतिक तस्बिर

बागमती: कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तक्र्रियामा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले नेपालमा आयात हुने विषादीमध्ये करिब ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक र उपत्यकाका तीन जिल्लामा खपत हुने गरेको जानकारी दिनुभयो ।

नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको जनाउँदै उहाँले सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो । किसानले कीरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस, ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्वान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्यूटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादीहरूको प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ ।

उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभावी विषादीको प्रयोग गर्दा कृषि उत्पादनको उत्पादन लागत बढ्नुका साथै वायु, माटो र जल प्रदूषणका साथै जलवायु परिवर्तनको समस्या बढ्दै जाने उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपाङ्गता भएका शिशु जन्मिने, वङ्शानुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताउनुभयो ।

विषादीका कारण मानव स्वास्थ्य जोखिम परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उहाँले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । किसानलाई अग्र्यानिक कृषि उत्पादनमा जोड दिन सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति सरोकारवालाको ध्यानाकर्षण

0

काठमाडौँ: मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन् । नेपाल नेटवर्कले बिहीबार आयोजना गरेको मिडिया काउन्सिल विधेयक अन्तर संवाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुर्नलेखन गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् । अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको तथा संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी छ । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगतले पूर्ण बहिष्कार गरेर अगाडि बढ्ने बताउनुभयो ।

सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलको अध्यक्ष नियुक्त गर्ने प्रावधान कानुन सचिवले न्यायाधीश नियुक्ति गरेजस्तै भएकाले त्यसमा उहाँले असहमति जनाउनुभयो । विधेयक राष्ट्रियसभामा ल्याउनुअघि सञ्चार मन्त्रालयले डा आचार्यको संयोजकत्वमा गठित विज्ञ समूहमार्फत मस्यौदा तयार गर्न लगाएको थियो । विज्ञ समूहले बुझाएका सबै विषय फेरबदल गरेर विधेयक आएको पूर्व अध्यक्ष डा आचार्यको भनाइ छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विधेयकको सैद्धान्तिक अवधारणा पत्रमा नै दर्जनौँ अस्पष्टता रहेको बताउनुभयो । प्रेस काउन्सिल स्वायत्त, स्वतन्त्र र जिम्मेवार निकायको मर्मलाई आत्मसाथ गर्दै विधेयक आउनुपर्नेमा सरकार अन्तरगतको विभाग बनाउने गरी विधेयक आएको उहाँको भनाइ छ । विधेयक पुर्नलेखनकै आवश्यकता रहेकाले काउन्सिले लिखित रुपमा संसदीय समितिलाई सुझाव दिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

विधेयकको दफा ३३ मा काउन्सिललाई स्वायत्तता दिने भन्ने तर सञ्चार मन्त्रालयलाई वार्षिक प्रतिवेदन बुझाउने भनिएको विषय नमिल्दो भएको उहाँको तर्क छ । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं फ्रिड्म फोरमका अध्यक्ष तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलभन्दा पनि पछाडी फर्किनेगरि विधेयक आएको टिप्पणी गर्नुभयो । काउन्सिल पूर्ण रुपमा स्वायक्त हुनुपर्ने मत जाहेर गर्दै उहाँले सचिव नेतृत्वको समितिले अध्यक्ष सिफारिस गर्ने र सरकारको प्रतिनिधि काउन्सिलको सदस्य रहने कुरा सरासर गलत भएको बताउनुभयो ।

विधेयकमा सञ्चार मन्त्रालयको सहसचिव काउन्सिलमा सदस्य रहने प्रस्ताव गरिएको उल्लेख गर्दै पूर्व अध्यक्ष दाहालले यो पूर्ण रुपमा स्वायक्त हुनुपर्छ भन्नुभयो । “सरकारले त्यहाँ पनि आफ्नो प्रतिनिधि खोज्नुहुँदैन । कर्मचारी तन्त्रको घेराबन्दीमा परेर स्वतन्त्र मिडिया कायम रहन सक्दैन”, उहाँले भन्नुभयो । सांसद कमलादेवी पन्त र राजेन्द्रलक्ष्मी गैरेले विधेयकमा सरोकारवालले राखेका सवालभन्दा बाहिर गएर विधेयक पारित गर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड

0

बहुआयामिक विकासमा ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको विश्वास

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभएको भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत विकासको अवधारणाअनुरूप निजी क्षेत्रसमेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा–(मुग्लिन) भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सिर्जना हुने लक्ष्य लिइएको छ ।” वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यावहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहमा आयोजनाबीच दोहोरोपना हुन नदिने नीति लिइएको उल्लेख गर्दै उहाँले ठूला आयोजना सङ्घबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका प्रदेशबाट र साना आयोजना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानतर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रममा कम रकम देखिए पनि यस प्रकारका आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी दिनुभयो । रामायण तथा बुद्ध ‘सर्किट’ निर्माण गर्ने सहमति कार्यान्वयनमा प्रधानमन्त्री दाहालले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने विषयमा भएको सहमति गम्भीरताका साथ कार्यान्वयन प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले शिव, बुद्ध र किरात परिपथको विकास गर्न यसवर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिनुभयो । “नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “रामायण सर्किटलगायत शिव, बुद्ध र किरात परिपथको विकास गर्न यसवर्ष बजेट सुनिश्चित गरिएको छ ।”

उहाँले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले देशका विभिन्न भागमा रहेका गुठी, सार्वजनिक जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा

0

काठमाडौँ: नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र पर्नुभएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा पर्नुभएका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आउनुभएका तनहुँका थापा हाल बेलायतमा बस्दै आउनुभएको छ । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुनुभएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउनुहुन्छ । “नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ”, काठमाडौँमा रहनुभएका थापाले भन्नुभयो । विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जित्नुभएको थियो ।

चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुनुहुन्छ ।

कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बग्यो

0

पर्वत: उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो ।

बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । बाढीबाट रु डेढ करोड बराबरको क्षति भएको छ । यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो ।

अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो ।

पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन । यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उहाँले बताउनुभयो । इन्जिनियर गौतमले ठेकेदारलाई एक÷दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताउनुभयो । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए ।

विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो । विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो ।

त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।