Wednesday, June 10, 2026
Home Blog Page 727

वेब सिरिज ‘जस्ट लभ’ निर्माण

0

काठमाडौं: सहरिया परिवेशलाई समेटेर वेब सिरिज ‘जस्ट लभ’ निर्माण भएको छ ।योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’ की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरी मिलेर यो सिरिज निर्माण गरेका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियोमा अभिनय गरेकी छन् ।

निर्माण पक्षले सिरिजका तीन ओटा पोस्टरसमेत सार्वजनिक गरेको छ । सिरिजमा मुनाल शिशिर कोइरालाको डेब्यू निर्देशन छ । निर्देशक कोइरालाले थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । मेघा सिरिजको रुपमा निर्माण भएको ‘जस्ट लभ’मा कथा, पटकथा, संवाद र गीतसमेत कोइरालाकै छ ।

सिरिजमा समीप निरौला, मुस्कान लामा, किरण नेपाली, गौरव हमाल, सुबास शाह, बालदीप राई, रेस्मा केसी, सरु ढुंगेल, बिनिता दाहाल, पार्वती श्रेष्ठ, तृष्णा खड्का, नवीन सिंह, विशाल डंगोल, प्रिया गहतराज र मुनाल शिशिर कोइरालाको अभिनय छ । किरणले पोई पर्यो काले, हात्तीछाप, दुई नम्बरीलगायतका फिल्म निर्माण गरेका छन् । उनले पोई पर्यो काले, दिलमाया, नम्बरी सुन फिल्ममा पनि अभिनय गरेका छन् ।
हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा दीपकराज विश्वकर्माको संगीत, मुनाल शिशिर कोइरालाको गीत, सुजन श्रेष्ठको छायांकन, सुबास शाहको सम्पादन, विष्णु खड्काको कलर, सन्दीप चौधरीको टाइटल र एनिमेसन, प्रिया नगरकोटी पाण्डेको मेकअप छ ।

तनहुँका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच

0

दमौली (तनहुँ): जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो ।

उक्त कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उहाँले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिनुभयो ।

उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुनर्स्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो ।

कार्यालयले कार्यान्वयन गर्ने योजना सङ्ख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताउनुभयो । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् ।

उक्तआर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताउनुभयो ।

पहिरो गएपछि गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध,एक घर बगायो

0

गुल्मी: गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बाढीले घर बगायो

त्यसैगरी अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
हावाहुरीसहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा क्षति पुर्याएको छ ।

वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीन दर्जनभन्दा बढी सडकहरु समेत अबरुद्ध बनेको जनाइएको छ । वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्त भइ सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।

अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि तयार

0

काठमाडौं: स्टार अभिनेता अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि तयार भएको छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो फिल्मको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनी आवेदन आह्वान गरेको छ ।

कुनै पनि सुन्दर सांगीतिक धुनबीना हरेक प्रकारका प्रेमकथा अपूरो हुने भन्दै निर्माण कम्पनी अनन्या फिल्मसले यो फिल्मको थीममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अवावर प्रदान गर्दै सार्वजनिक आह्वान गरेको हो ।

इच्छुक जो कसैले पनि जेरी अन टपुको प्रेमिलो पृष्ठभुमीमा रहेर संगीत तयार गरि यही भदौ मसान्तसम्म अनन्या फिल्मसको आधिकारिक इ-मेल ananyaflims1@gmalifs.com मा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिभावान जो कसैसँग पनि सहकार्यको लागि तयार रहेको उल्लेख गरेका छन् । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मको निर्माणमा न्यौपानेसँग दीपक भण्डारीले सहकार्य गरेका छन् । जेरी अन टपुलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण अधिकार लिएको छ ।

चार हजार ६ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता आयोजना

0

म्याग्दी: विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले चार हजार ६ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् ।

लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन् । समुद्री सतहबाट चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे ।

गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विजयी विष्टले नौ होलको खेलमा तीन अण्डर हान्दै २१ स्कोर बटले । तीनवटा होलमा पार, एउटामा त्रिपल बुगी र पाँचवटा होलमा बुगी खेलेका थिए ।

पाँचवटा होलमा पार, एउटामा डबल बुगी र बाँकी तीनवटा होलमा बुगी हिर्काउँदै दुई अण्डर २० स्कोर प्राप्त गरेका नेपाल गल्फ एशोसिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा द्वितीय भए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले १४ स्कोरसहित पुरुषतर्फको ग्रस उपाधि जितेका प्रतियोगिताका चिफ मार्सल भुवन गुरुङले बताए । यसअघिका दुई वर्ष लगातार उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङको ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन ।

महिलातर्फको उपाधि जितेकी बालकाशी गुरुङले पाँच अण्डर २३ स्कोरको नतिजा निकालेकी थिइन् । चार अण्डर २२ स्कोर प्राप्त गरेकी धरानकी झुना राई दोस्रो भइन् । संयोग शाहीले ‘लङगेष्ट ड्राइभ’ हिर्काउनुभयो भने महिला गल्फर मेदाङ लामाले ‘क्लोजेष्ट टु दी पिन’को ट्रफी पाइन् । याक पुरस्कार राखिएको ‘होल इन वान’ कसैले जितेनन् ।

प्रतियोगितामा सहभागी हुनका लागि काठमाडौँ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए । विजयी खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले ट्रफी वितरण गरेका थिए ।

सो अवसरमा लेवथाङ गल्फ कोर्सको स्तरोन्नतिका लागि हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले एक हजार डलर आर्थिक सहयोग गरेका छन् । तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान)मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फकोर्ष मान्ने गरिएको थियो । लोवथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारबाट पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टिबक्स, फेयरवे र ग्रीन, फ्रन्टलाइन र ब्याकलाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडकयात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।

 

मधेश आन्दोलनका बन्दीको रिहाइका लागि भएको सम्झौता कार्यान्वयन गर्न सरकारसँग जसपा नेपालको माग

0

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न चरणमा भएका मधेस आन्दोलनका क्रममा आन्दोलनकारी माथि लगाइएका मुद्दाहरू खारेज गर्न माग गरेको छ ।

जसपा नेपालको साउन २७ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गर्न सरकारसँग भएका सम्झौताअनुरूप बन्दीको रिहाइ गर्न माग गर्ने निर्णय गरेको हो ।

आज बैठकका ६७ बुँदे निर्णय सार्वजनिक गर्दै जसपाले मधेस आन्दोलनका बन्दीको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्ति फुकुवा गर्न माग गरेको छ । “आफ्नो पहिचानका लागि आन्दोलनमा लागेका आदिवासी जनजाति, लिम्बूवान्, किरात आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दाहरू सरकारले फिर्ता लिई समस्याको न्यायोचित समाधान गरिनुपर्दछ,’ जसपाले भनेको छ ।

अध्यक्ष उपेन्द्र यादवले बैठकले बन्दीहरूको रिहाइ, मुद्दा खारेजीका साथै सहिद परिवारहरूको भरण–पोषण, शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गरिनुपर्ने माग गर्नुहुँदै उहाँले सङ्घीय निजामती ऐन संसद्बाट पारित गरी कर्मचारी समायोजनसम्बन्धी बाँकी कार्यहरू सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष यादवले प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउनुपर्ने र आवश्यक ऐन निर्माण गरी संविधानको अनुसूची ६ र ७ मा भएका व्यवस्थानुसार प्रदेशहरूलाई अधिकार र स्रोतसाधन प्रदान गर्न पनि माग गर्नुभयो ।

संविधानमा व्यवस्था भएबमोजिम विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र कायम गरी त्यसको क्षेत्राधिकार निर्धारण गर्न, जिल्ला समन्वय समिति आवश्यक नरहेको र त्यसको भूमिका पनि आवश्यक नदेखिएकाले हटाउनु उचित हुने जसपाको ठहर छ । स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहनेगरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न, संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख÷राष्ट्रपतीय प्रणाली व्यवस्था गर्न पनि जसपाको माग छ ।

यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधनका लागि संविधानविज्ञ सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरिनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहित राज्य संरचना र राज्य शक्तिको बाँडफाँडलगायत प्रावधानहरू संशोधन गर्न पनि जसपा नेपालले माग गरेको छ । मिटरब्याजपीडितको समस्या समाधान गर्न तथा प्रदेशमा औद्योगिक करिडोर घोषणा गर्न, पर्यटन तथा उद्योग, कलकारखाना सञ्चालनका लागि लगानीकर्तालाई प्रोत्साहन गर्न आवश्यक कानुनी, विधि र प्रक्रिया छिटोछरितो र सहज तुल्याउन अनुरोध गरेको छ । यसैगरी, उच्च शिक्षालाई रोजगारमुखी बनाउन, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउन, कृषिको आधुनिकीकरणलगायत विषयमा पनि जसपाले ध्यानाकर्षण गराएको छ ।

दुई हिमताल फुट्दा थामे क्षेत्रमा बाढी आएको निष्कर्ष, बाढीको जोखिम कायमै

0

सोलुखुम्बु: सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ । शुक्रबार दुई ओटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्र्दै उहाँले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभयो ।

“आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो”, उहाँले भन्नुभयो, “निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ ।”

जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । “थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो”, प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, “बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुईवटा जोखिम रहेको जानकारी प्राप्त भएको छ ।” खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

जल तथा मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ । विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम नौ दशमव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ । शुक्रबार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ ।

जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।”

बाढीपीडितलाई राहत

बाढीपीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई सङ्घ र स्थानीय सरकारले नगदसहित राहत प्रदान गरेका छन् । आज बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुग्नुभएका रक्षामन्त्री राई नेतृत्वको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद रु १५ हजार र तीन–तीन थान त्रिपाल वितरण गरिएको हो । स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई रु ५० हजारका दरले वितरण गरिएको छ । पूर्ण क्षतिग्रस्त २० घरपरिवारमध्ये सबै घरका बासिन्दा त्यहाँ नरहेको बताइएको छ । प्रजिअ पाण्डेले लत्ताकपडाका लागि प्रदेश सरकार र खाद्यान्नका लागि खाद्य व्यवस्था विभागलाई पत्राचार गरिएको बताउनुभयो ।

नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा आज प्रभावित स्थानबाट सातजनाको सकुशल उद्धार गरेको जनाएको छ । प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाइएको छ । बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावरहाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण जारी रहेको सेनाले जनाएको छ ।

बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ । साथै बाढी भोटेकोशी हुँदै दूधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ । बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको स्थानीयले बताएका छन् ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवातजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । आवतजावत विच्छेद भएपछि माथिल्लो खुम्बुको जनजीवन प्रभावित बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खुम्बु यतिबेला अस्तव्यस्त छ, बत्ती नहुँदा सञ्चार सेवा अवरुद्ध भएको छ भने हिमताल फुट्ने खतरा उत्तिकै छ ।”

टर्कीको संसदमा सत्ता पक्ष र विपक्षबीच मुक्का हानाहान, तीन विपक्षी सांसद घाइते

0

काठमाडौं। टर्कीको संसदमा सत्ता पक्ष र विपक्ष बीच मुक्का हानाहान भएको छ। संसदको भिडियोमा सांसदहरूले एक-अर्कालाई लात र मुक्का प्रहार गरेको देखिएका छन् ।करिब ३० मिनेटसम्म चलेको यो झडपमा तीन विपक्षी सांसद घाइते भएका छन्।

एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए।

झगडा चर्किएपछि र सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थालेका थिए। यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शुक्रबार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो । यसमा सांसद केन अटलेको चर्चा चलिरहेको थियो । अटालेले सन् २०१३ मा एर्दोगान सरकारको विरोध गरेका थिए, जसमा धेरै हिंसा भएको थियो। यसपछि अटाले पक्राउ परेका थिए । अटाले सन् २०१३ देखि जेलमा छन् । उनलाई सन् २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो।

गत मे महिनामा भएको निर्वाचनमा अटाले विजयी भएका थिए । उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बने । यसपछि एर्दोगनको पार्टीले अटालेको संसदको सदस्यता खारेज गर्ने विधेयक ल्यायो। यो निर्णयलाई अदालतमा पुनरावेदन गरिएको थियो।अगस्ट १ मा, टर्कीको सर्वोच्च अदालतको निर्णय आयो जसमा संसदको निर्णयलाई उल्टाइएको थियो। अटाले फेरि सांसद बने । अदालतले उनको सांसदको रूपमा सबै अधिकारहरू पुनर्स्थापित गर्यो।

अदालतले अटलेलाई जेलबाट रिहा गर्न पनि आदेश दिएको छ । वास्तवमा अटाले जेलमा रहेका कारण आफ्नो क्षेत्रमा काम गर्न नसकेको भन्दै अदालतमा निवेदन दिएका थिए । उनी आफ्नो संसदको कार्यकाल पूरा गरेपछि फेरि जेल जानेछन् । उनको मागलाई अदालतले स्वीकार गरेको छ ।

अदालतको यो निर्णयमाथि संसदमा बहस चलिरहेको थियो।अटालेको आफ्नै पार्टीका नेता अहमद सिकले भाषण दिइरहेका थिए। उनको भनाइले संसदमा हंगामा सुरु भयो । झडपका कारण संसदको बैठक अवरुद्ध भयो । तीन घन्टाभन्दा बढीको ब्रेकपछि बैठक पुनः सुरु भएको थियो। एर्दोगानको पार्टी विरुद्धको बयानका लागि स्पिकरले विपक्षी दलका नेता सिकलाई हप्काए । सभामुखले सिकमाथि आक्रमण गर्ने नेताहरुलाई पनि गाली गरे। झगडामा संलग्न दुवै सांसदलाई प्रतिबन्ध लगाउन भनिएको छ।

मुख्य विपक्षी पार्टी सीएचपीका प्रमुख ओज्गुर ओजेलले हिंसाको निन्दा गरेका छन्। संसदमा यो सबै भइरहेको देख्दा आफूलाई लाज लागेको उनले बताए।

बंगलादेशको हिंसामा ६५० जनाको मृत्यु भएको राष्ट्रसंघको दाबी

0

काठमाडौं: संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउँदै हिंसामा ६५० जनाको मृत्यु भएको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघले बंगलादेशमा भएको हिंसाबारे १० पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार जुलाई १६ देखि अगस्ट ४ सम्मको हिंसामा झण्डै ४ सय जनाको मृत्यु भएको थियो। ५–६ अगस्टमा भएको हिंसामा करिब २५० जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शुक्रबार जेनेभामा यो प्रतिवेदन सार्वजनिक गरेको हो। रिपोर्टका अनुसार मृत्यु हुनेमा प्रदर्शनकारी, दर्शक, पत्रकार र विभिन्न बलका सुरक्षाकर्मी रहेका छन्। हिंसामा हजारौं मानिस घाइते समेत भएका छन्।

धेरै क्षेत्रमा कर्फ्यू लगाइएका कारण जानकारी संकलन गर्न कठिनाइ भएकोले मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। सरकारले अस्पताललाई जानकारी दिन पनि रोकेको रिपोर्टमा उल्लेख छ। बंगलादेशमा गत जुनमा आरक्षणको विरोधमा प्रदर्शन सुरु भएको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मीले मानवअधिकार उल्लंघन गरेको आरोप पनि लागेको थियो।

प्रतिवेदनमा धार्मिक अल्पसंख्यकहरूविरुद्ध लुटपाट, तोडफोड र आगजनीका घटनाहरू पनि भएका छन्। प्रतिवेदनले बंगलादेशमा द्रुत रूपमा कानून र व्यवस्था पुनर्स्थापना गर्न आवश्यक रहेको बताएको छ भने हिंसाका दोषीहरूलाई जवाफदेहिता निर्धारण गर्न आवश्यक रहेको उल्लेख गरेको छ।

 

जनार्दनले पार्टी फुटाउने आशङ्का हट्यो : प्रचण्ड

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का हटेको बताएका छन्।

आज पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारेका हुन् ।

केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदैछन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताए । उनले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको जानकारी दिएका हुन् ।

‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो । कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो । त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए । तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ,’ उनले भने ।

उनले थपे, ‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन । तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन् । यसले यदाकदा के भयो भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु । तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु ।’

उनले आज बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा गरेको जिकिर गरे । शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेको र त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने पनि उनले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी र स्थायी कमिटीको बैठकपछि अब केन्द्रीय समितिको बैठकको तयारी भइरहेको जानकारी दिए । उनले बैठकमा पार्टी एकतालाई सुदृढ गर्ने र पार्टीभित्र शङ्का–उपशङ्का, विवाद मतभेदहरूलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गरेर जनतामा लिएर जाने विषयमा छलफल भएको पनि बताए ।

‘हाम्रो सापेक्षतामा त्यसलाई समाधान गर्ने दिशामा अघि बढेका छौँ । यस्तो बेलामा मैले पोस्टबहादुर बोगटीलाई अझ बढी सम्झेका छौँ,’ उनले भने, ‘उहाँ भइदिएको भए के हुन्थ्यो होला रु पार्टी लाइनलाई विकसित गर्ने सन्दर्भमा र पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा हामीलाई उहाँ अपरिहार्य थियो ।’

उनले पार्टीमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै पार्टीमा नयाँ सङ्कल्पका साथ जानुपर्ने जिकिर गरे । लिडरसिपको अगाडि हुँदासम्म सबै राम्रो छ भन्ने तर पछाडि हुँदा चाहिँ गाली गर्ने प्रवृत्ति भएकाले यस पटक सबैलाई आफ्ना कुरा खुलस्त राख्न भनिएको पनि जानकारी दिए । ‘साथीहरूले दुई दुई घण्टासम्म पनि बोल्नुभयो । मलगायत अरू लिडरले धैर्यतापूर्वक उहाँहरूका कुरा सुन्नुभयो,’ उनले भने ।

फरक प्रसङ्गमा प्रचण्डले आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारा अन्तरत काम सुरु गरेपछि सङ्ख्या भएका दलहरूले बढो अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए । आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो ।

उनले भने, ‘मैले अन्तिम पटक विश्वासको मत लिँदा मैले ती सबै कुराको प्रतिवाद र व्याख्या गर्दै के गर्ने भनेर भनेको थिए । समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग मिलेर विश्वासको मत लिँदै गर्दा एमाले नेताले नेपाली कांग्रेसका नेतालाई हाम्रो बोलचाल बन्द भयो भन्नुभयो र तलबाट कांग्रेसका नेताले बोलचाल खोल्ने हो भनेर बोलेको कुरा प्रतिकात्मक थियो । मैले कुरा बुझेँ र मैले तपाईंहरु मिल्नुहोस् भने । तपाईंहरु मिल्नुहोस्, हामी प्रतिपक्षमा बस्छौँ भनेर भनेको थिएँ । जे भयो भयो ।’

उनले भ्रष्टाचारविरुद्ध लड्दा लड्दै आफूलाई हटाएको हो भनेर जनताले बुझेको दाबी गरे । यसबाट पार्टीलाई चुनौती र अवसर दुवै रहेको उनको भनाई थियो । ‘कांग्रेस र एमाले डरका कारणले एक हुनुभयो– कारबाहीबाट बच्न । भ्रष्टलाई जोगाउन एक हुनुभयो । बहानाबाजी जरुरी नै छैन । तर, म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु, हामीलाई जनता र हाम्रो वर्गसँग जोडिन वातावरण बनाइदिनुभयो,’ उनले भने ।