Wednesday, June 10, 2026
Home Blog Page 726

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

0

काठमाडौँ: सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरुप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुनेगरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।

सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विसं २०८३ भदौसम्म नलिने जनाएको छ ।

उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

गत साउन १८ गते प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गर्नुभएको थियो । उहाँले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।

यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरुले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिनुभएको थियो । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गर्नुभएको थियो । उहाँले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राख्नुभएको थियो ।

युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गर्नुभएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौँबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्नेगरी अनुमति लिएको जनाइएको छ ।

कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

एक महिना पनि टिकेन रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’

0

जानकी (बाँके): बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रङ्गशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको हो।
राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

“निर्माण सम्पन्न भएको एक महिनामै ट्रयाक उप्किनु भनेको एकदमै कम गुणस्तरको सामान प्रयोग भएको भन्ने बुझ्नुपर्दछ”, उहाँले भन्नुभयो । ठेकेदार कम्पनीले उक्त ट्रयाक राखेपलाई हस्तान्तरण गर्न बाँकी छ ।

‘सेन्थेटिक ट्रयाक’ निर्माणका क्रममा राखेपले केन्द्रबाटै इञ्जिनियर तथा कर्मचारी टोली खटाएको थियो । लुम्बिनी प्रदेश र जिल्लास्थित खेलकुदका पदाधिकारीका अनुसार निर्माण गर्ने छुट्टै अनुगमन समिति नहुँदा ठेकेदार कम्पनीले मनपरी काम गर्दै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा खटिएका प्राविधिक टोली काठमाडौँमा रहेको र आफु यस विषयमा अनविज्ञ रहेको बताउनुभयो । “कामको प्राविधिक भाग हेर्ने निकाय काठमाडौँमा हुनुहुन्छ । हामीले यहाँ हेर्दा ठेकेदारले काम गरेकै देखिन्थ्यो । कहाँनेर के कुरा नमिलेर ट्रयाक उप्कियो, हामी पनि अनविज्ञ छौँ”, उहाँले भन्नुभयो, “यो खेलप्रेमीका लागि मात्र नभई राखेप लजिज्त हुनुपर्ने विषय बन्न पुग्यो ।” ट्रयाक उप्किएको विषयमा राखेप केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो विषयमा राखेपलाई जानकारी गराई सकेको छु । माथिबाट विज्ञ टोली आएर छानविन गरेपछि वास्तविक पत्ता लाग्ला ।”

जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले खेल क्षेत्रको विकासका लागि राखेप जिम्मेवार नभएकै कारण संरचना नबन्दै भत्कने गरेको बताउनुभयो । “एक महिनामै ‘सेन्थेटिक ट्रयाक’ उप्कनुले राखेपको गैरजिम्मेवारीपन प्रष्ट दखिएको छ” उहाँले भन्नुभयो, “करोडाँैको ठेक्कामा गुणस्तरलाई मध्यनजर गर्न आवश्यक थियो । गुणस्तरमा ध्यान नदिएकै कारण आज नेपालगञ्ज रङ्गशालाको यो दुर्दशा हुन पुगेको हो ।”

राखेपले सन् २०२३ मार्च २३ मा उक्त ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न रु नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ मा ठेक्का सम्झौता गरेको थियो । सो कम्पनीले सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको हो ।

बझाङको टुमेडा पहिरोः चार जनाको मृत्युु, छ जनाको जीवितै उद्धार

0

बैतडी: अविरल वर्षाको कारण बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।

गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो हो । उहाँले भन्नुभयो, “चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।”

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल :स्वास्थ्य मन्त्रालय

0

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन”, उहाँले भन्नुभयो ।

उहाँले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताउनभयो । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालिन् घोषणा गरेको छ ।

सर्ने तरिका

मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

लक्षण

मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।

अण्डाको मूल्य घट्यो

0

काठमाडौँ । आकासिएको अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका छन् ।

उनका अनुसार असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।
यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेको भनाई छ ।

देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको उनले बताए । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको लामिछानेले बताए ।

रूसमा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

0

काठमाडौं: रुसको पूर्वी तटमा ७.० म्याग्निच्युडको भूकम्पपछि एउटा ज्वालामुखी विस्फोट भएको छ। रूसको पूर्वी क्षेत्र कामचटकामा अवस्थित सिभलुच ज्वालामुखी विष्फोट भएको हो । यो ज्वालामुखी करिब १ लाख ८० हजार जनसङ्ख्या भएको तटीय सहर पेट्रोपाभ्लोभस्क-कामचात्स्कीबाट करिब २ सय ८० माइल टाढा छ।

ज्वालामुखीबाट उठेको खरानी समुद्र सतहबाट ८ किलोमिटर (५ माइल) सम्म उचाइमा पुगेको रूसको सरकारी समाचार एजेन्सी तासले आइतबार बिहान रिपोर्ट गरेको छ ।

युएस जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार भूकम्पको केन्द्र पेट्रोपाभ्लोभस्क-कामचाट्स्कीबाट करिब ५५ माइल टाढा थियो र यसको गहिराई करिब ३० माइल थियो।

भूकम्पबाट कुनै “ठुलो क्षति” नभएको तासले रिपोर्ट गरेको छ । यद्यपि भवनहरूलाई अब सम्भावित क्षतिको लागि जाँच गरिँदैछ । रूसी आपतकालीन मन्त्रालयले भूकम्पका कारण सुनामीको चेतावनी जारी गरेको छैन ।

यसअघि, अमेरिकी सुनामी चेतावनी प्रणालीले यस भूकम्प पछि भूकम्पको इपिसेन्टरबाट ३०० किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक सुनामी छालहरू आउने सम्भावना भएको जनाएको थियो ।

पाकिस्तानमा एमपक्स संक्रमणको पहिलो केस भेटियो

0

काठमाडौं: पाकिस्तानमा एमपक्स संक्रमणको पहिलो केस भेटिएको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार एमपक्सबाट संक्रमित व्यक्ति खैबर-पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार संक्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने यकिन भइरहेको र व्यक्तिको नमूना पनि लिइएको छ ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले एमपक्सबारे एक एडभाइजरी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो।

यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन्। स्वास्थ्य मन्त्रालय कुनै पनि परिस्थितिको सामना गर्न सतर्क छ।

यसअघि स्वीडेनमा एमपक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपक्स भएको जनाएको छ ।

अफ्रिकाका केही भागहरूमा फैलिएको एमपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।

डब्ल्यूएचओले पनि एमपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा वर्णन गरेको छ।

एमपक्स एक संक्रामक रोग हो, जसलाई पहिले मंकीपक्स पनि भनिन्थ्यो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको ठूलो आक्रमणले विशेष महत्वको पुल ध्वस्त

0

काठमाडौं: रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काएको छ ।

रुसी अधिकारीहरूलाई उद्धृत गर्दै ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य ठाउँबाट काटिएको बताएको छ ।

युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भएको थियो । तर अहिले पुल भत्किएपछि अवरुद्ध हुन सक्छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने – हाम्रो सेनाले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदैछ।

जेलेन्स्कीका अनुसार कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्छन्।

यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए ।

ओलेक्सान्डर सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् ।

रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटर अगाडि बढेका छन् ।

यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो । तर युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ ।

 

युद्धविराम धोका हो: हमास

0

काठमाडौं: प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई धोकको संज्ञा दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए ।

अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, “हामी पहिलेभन्दा युद्धविरामको नजिक छौं।”

हमासका एक वरिष्ठ अधिकारीले युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए ।

हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ ।

इजरायलले भने कि “बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको हमासलाई मनाउने कोसिस गर्ने अमेरिका र मध्यस्थकर्ताहरूको प्रयासको हामी सराहना गर्छौं ।”

यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबीचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा पुर्पक्षका लागि थुनामा

0

काठमाडौं: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न आरोपमा पक्राउ परेका बेचन झालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई यस्तो आदेश दिएको हो।

झालाई राजनीतिको माथिल्लो ‘नेक्सस’का रुपमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो। उनलाई प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै पक्राउ गरेर नेपाल ल्याएको थियो।

उनीविरुद्ध कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतको थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागार सुनधारा चलान गरिएको छ।