Wednesday, June 10, 2026
Home Blog Page 727

बंगलादेशको हिंसामा ६५० जनाको मृत्यु भएको राष्ट्रसंघको दाबी

0

काठमाडौं: संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउँदै हिंसामा ६५० जनाको मृत्यु भएको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघले बंगलादेशमा भएको हिंसाबारे १० पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार जुलाई १६ देखि अगस्ट ४ सम्मको हिंसामा झण्डै ४ सय जनाको मृत्यु भएको थियो। ५–६ अगस्टमा भएको हिंसामा करिब २५० जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शुक्रबार जेनेभामा यो प्रतिवेदन सार्वजनिक गरेको हो। रिपोर्टका अनुसार मृत्यु हुनेमा प्रदर्शनकारी, दर्शक, पत्रकार र विभिन्न बलका सुरक्षाकर्मी रहेका छन्। हिंसामा हजारौं मानिस घाइते समेत भएका छन्।

धेरै क्षेत्रमा कर्फ्यू लगाइएका कारण जानकारी संकलन गर्न कठिनाइ भएकोले मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। सरकारले अस्पताललाई जानकारी दिन पनि रोकेको रिपोर्टमा उल्लेख छ। बंगलादेशमा गत जुनमा आरक्षणको विरोधमा प्रदर्शन सुरु भएको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मीले मानवअधिकार उल्लंघन गरेको आरोप पनि लागेको थियो।

प्रतिवेदनमा धार्मिक अल्पसंख्यकहरूविरुद्ध लुटपाट, तोडफोड र आगजनीका घटनाहरू पनि भएका छन्। प्रतिवेदनले बंगलादेशमा द्रुत रूपमा कानून र व्यवस्था पुनर्स्थापना गर्न आवश्यक रहेको बताएको छ भने हिंसाका दोषीहरूलाई जवाफदेहिता निर्धारण गर्न आवश्यक रहेको उल्लेख गरेको छ।

 

जनार्दनले पार्टी फुटाउने आशङ्का हट्यो : प्रचण्ड

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का हटेको बताएका छन्।

आज पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारेका हुन् ।

केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदैछन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताए । उनले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको जानकारी दिएका हुन् ।

‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो । कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो । त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए । तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ,’ उनले भने ।

उनले थपे, ‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन । तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन् । यसले यदाकदा के भयो भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु । तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु ।’

उनले आज बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा गरेको जिकिर गरे । शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेको र त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने पनि उनले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी र स्थायी कमिटीको बैठकपछि अब केन्द्रीय समितिको बैठकको तयारी भइरहेको जानकारी दिए । उनले बैठकमा पार्टी एकतालाई सुदृढ गर्ने र पार्टीभित्र शङ्का–उपशङ्का, विवाद मतभेदहरूलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गरेर जनतामा लिएर जाने विषयमा छलफल भएको पनि बताए ।

‘हाम्रो सापेक्षतामा त्यसलाई समाधान गर्ने दिशामा अघि बढेका छौँ । यस्तो बेलामा मैले पोस्टबहादुर बोगटीलाई अझ बढी सम्झेका छौँ,’ उनले भने, ‘उहाँ भइदिएको भए के हुन्थ्यो होला रु पार्टी लाइनलाई विकसित गर्ने सन्दर्भमा र पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा हामीलाई उहाँ अपरिहार्य थियो ।’

उनले पार्टीमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै पार्टीमा नयाँ सङ्कल्पका साथ जानुपर्ने जिकिर गरे । लिडरसिपको अगाडि हुँदासम्म सबै राम्रो छ भन्ने तर पछाडि हुँदा चाहिँ गाली गर्ने प्रवृत्ति भएकाले यस पटक सबैलाई आफ्ना कुरा खुलस्त राख्न भनिएको पनि जानकारी दिए । ‘साथीहरूले दुई दुई घण्टासम्म पनि बोल्नुभयो । मलगायत अरू लिडरले धैर्यतापूर्वक उहाँहरूका कुरा सुन्नुभयो,’ उनले भने ।

फरक प्रसङ्गमा प्रचण्डले आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारा अन्तरत काम सुरु गरेपछि सङ्ख्या भएका दलहरूले बढो अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए । आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो ।

उनले भने, ‘मैले अन्तिम पटक विश्वासको मत लिँदा मैले ती सबै कुराको प्रतिवाद र व्याख्या गर्दै के गर्ने भनेर भनेको थिए । समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग मिलेर विश्वासको मत लिँदै गर्दा एमाले नेताले नेपाली कांग्रेसका नेतालाई हाम्रो बोलचाल बन्द भयो भन्नुभयो र तलबाट कांग्रेसका नेताले बोलचाल खोल्ने हो भनेर बोलेको कुरा प्रतिकात्मक थियो । मैले कुरा बुझेँ र मैले तपाईंहरु मिल्नुहोस् भने । तपाईंहरु मिल्नुहोस्, हामी प्रतिपक्षमा बस्छौँ भनेर भनेको थिएँ । जे भयो भयो ।’

उनले भ्रष्टाचारविरुद्ध लड्दा लड्दै आफूलाई हटाएको हो भनेर जनताले बुझेको दाबी गरे । यसबाट पार्टीलाई चुनौती र अवसर दुवै रहेको उनको भनाई थियो । ‘कांग्रेस र एमाले डरका कारणले एक हुनुभयो– कारबाहीबाट बच्न । भ्रष्टलाई जोगाउन एक हुनुभयो । बहानाबाजी जरुरी नै छैन । तर, म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु, हामीलाई जनता र हाम्रो वर्गसँग जोडिन वातावरण बनाइदिनुभयो,’ उनले भने ।

अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा पुरस्कृत

0

काठमाडौँ: मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार जित्नुभएको हो ।

अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा जित्नुभएको पुरस्कारले नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा प्रदान गर्ने निर्देशक भामले बताउनुभयो । उहाँले भन्नुभयो, “यस महोत्सवको महत्वपूर्ण पुरस्कारमध्येको एक नेपाली कलाकारले पाउनुले विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिन्छ ।” उहाँले यो सफलता नेपालका चलचित्रकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल तथा ऊर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको बताउनुभयो ।

नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेत्री ल्हामोसँगै सोनम तोप्द्न, तेञ्जिङ डल्हाल, कार्म शाक्यलगायत कलाकारले अभिनय गर्नुभएको छ । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो । यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ ।
डोल्पाको चार हजार दुई सयदेखि छ हजारसम्मको उचाइमा छायाङ्कन गरिएको उक्त चलचित्रले गत साउन २३ देखि आजसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा प्रतिष्पर्धा गरिरहेको छ ।

ललितपुरको जीर्ण अदालत भवन पुनःनिर्माण गरिँदै

0

ललितपुर: ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको जीर्ण अदालत भवन पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढ़ाइएको छ ।

जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन । जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो । हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ ।

भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उहाँले बताउनुभयो । “हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ । अबको केही दिनमा काम सुरु हुन्छ”, सूचना अधिकारी पाठकले भन्नुभयो । जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

0

भोजपुर : भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित भएका छन्। मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ ।

यहाँको आमचोक गाउँपालिका २ मा सात कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन् । बसाइसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिव तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाँइले बताउनुभयो । हालसम्म १८ हजार विरुवा रोप्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्धेश्य रहेको उहाँको भनाइ छ ।

“सात जना कृषक मिलेर व्यावसायिक रुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ”उहाँले भन्नुभयो,“हालसम्म १८ हजार विरुवा विस्तार गरिसकेका छौँ । शुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केहि सहयोग पाउँदा खुसी लागेको छ ।” किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताउनुभयो । भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उहाँको भनाइ छ ।“भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ” उहाँले भन्नुभयो,“यहाँको सम्भावनाको पहिचान गरेर लोडसल्ला, सतुवा,चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौँ ।”

आमचोक क्षेत्रमा किसानहरुले उहाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ । किसानले स्वतस्फूर्त थालेको काममा केहि प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा विरुवा खरिदको लागि रु.चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उहाँको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ ।

जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ । लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताउनुभयो । लोठसल्ला खेतीको लागि समुन्द्रि सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उहाँको भनाइ छ ।

लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताउनुभयो । किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उहाँको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताउनुभयो ।“मैले पनि आमचोकमा भईरहेको लोठसल्ला खेतीको स्थलगत अनुगमन गरे”प्रमुख थुलुङले भन्नुभयो,“किसानहरुले खेती विस्तारको लागि गरिरहेको काम उदाहरणीय छ । यसले बाँझो जमिनको सदुपयोगसँगै उनीहरुलाई आयआर्जनमा जोड्न टेवा पुग्ने देखिन्छ ।”

 

उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’मनाइँदै

0

म्याग्दी: उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।

बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी विष्टले बर्खा यामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताउनुभयो । “यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,” उहाँले भन्नुभयो “बर्खायाम सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ ।”

यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

स्थानीयबासीको अनुकुलता र फुर्सद मिलाएर तीन दिन यार्तुङ पर्व मनाउने चलन छ । रानीपौवाको पुराङको जनप्रिय युवा क्लवका अध्यक्ष कैशाङ ठोक्या ठकुरीले मौलिक पर्व यार्तुङको सांस्कृति, संस्कार र मौलिकता संरक्षणसँग खेलकुद र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका उहाँले बताउनुभयो । तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको छ ।

यार्तुङ मनाएपछि खेतीबाली भित्र्याउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो सुरु नहुदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौ, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी सुरु भएपछि घर फर्कने उनीहरु सहरमा घुम्ती व्यवसाय गर्छन् ।

 

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

0

क्यानडा : क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ ।

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भरगरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ ।

अध्ययनका लागि क्यानडा आउनु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्तमात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ ।

 

उत्तर कोरियाको सिमाना वर्षौंपछि पर्यटकका लागि खुला

0

काठमाडौं: उत्तर कोरियाले झण्डै चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सिमाना खुला गर्ने भएको छ ।

उत्तर कोरियाले २०२० को प्रारम्भमा कोविड महामारीको समयमा आफ्नो सिमाना बन्द गरेको थियो ।

त्यसपछि अब उसले आफ्नो एउटा सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको छ ।

दुई चिनियाँ टुर अपरेटरहरूले चाँडै पर्यटकहरूलाई उत्तर कोरियाको पहाडी सहर सामजियोन भ्रमण गर्न अनुमति दिन सक्ने बताएका छन्।

कोभिड महामारीको बेला उत्तर कोरियाले लगाएको प्रतिबन्धमा केही खुकुलो गत वर्ष सुरु भएको थियो।

उत्तर कोरियाको सीमा बन्द भएपछि देशमा खाद्य संकट उत्पन्न भएको छ ।

आणविक कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ । जसका कारण त्यहाँको अर्थतन्त्रमा ठूलो दबाब परेको छ ।

 

अमेरिकी टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको मृत्युसम्बन्धमा एक व्यक्ति पक्राउ

0

काठमाडौं: अमेरिकी टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको मृत्युसम्बन्धमा एक व्यक्ति पक्राउ परेका छन्।

एबीसी न्यूजले यस मामिलामा धेरै व्यक्तिलाई पक्राउ गरेको बताएको छ भने एनबीसी न्यूजले यस मामिलामा कम्तिमा एक जनालाई पक्राउ गरिएको जनाएको छ।

५४ वर्षीय पेरी अक्टोबर २०२३ मा आफ्नो लस एन्जलसको घरमा अचेत अवस्थामा फेला परेका थिए । पोष्टमार्टम रिपोर्टमा पेरीको शरीरमा केटामाइनको प्रभाव देखिएको थियो ।

लस एन्जलस प्रहरीले गत मे महिनामा उनको शरीरमा यति ठूलो मात्रामा केटामाइन कसरी पुग्यो भन्नेबारे अनुसन्धान थालेको थियो ।

जब पेरी प्रसिद्धिको शिखरमा थिए, उनी पेनकिलर र रक्सीको लतमा परे। उपचारका लागि उनलाई पटकपटक पुनर्वास क्लिनिकमा पनि भर्ना गरिएको थियो ।

केटामिन डिप्रेसन, चिन्ता र दुखाइको उपचार गर्न प्रयोग गरिन्छ।

२०१६ मा, पेरीले बीबीसी रेडियो २ लाई मद्यपान र लागूपदार्थको सेवनको कारणले ‘फ्रेन्ड्स’ को सुटिङको बारेमा केहि याद नभएको बताए।

बंगलादेशमा शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो घटनामा अपहरण मुद्दा दर्ता

0

काठमाडौं: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अपहरणको मुद्दा दर्ता भएको छ । उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । अदालतले हसिनाविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ ।

बंगाली अखबार ढाका पोस्टका अनुसार यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, पूर्व कानूनमन्त्री अनिसुल हक, पूर्व आईजीपी शाहिदुल हक, पूर्व आरएबी डीजी बेनजीर अहमद र र्यापिड एक्सन बटालियन (आरएबी) का २५ अज्ञात सदस्यहरूलाई आरोपी बनाइएको छ।

उजुरीकर्ता राणाले २०१५ जून ६ का दिन राति साथीसँग घुम्न गएको बताए । त्यस क्रममा राबका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए । उनलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनलाई राजनीति छोड्न धम्की दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए । यसअघि मंगलबार हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता भएको थियो ।

हसिनाले देश छोडेको आठौं दिनमा मंगलबार हत्याको मुद्दा दर्ता भएको थियो । हसिनाको सरकारमा गृहमन्त्री रहेका असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादेर र पूर्व आईजी अब्दुल्ला अल मामुनसहित अन्य दुईलाई पनि आरोपी बनाइएको छ ।

यो मामिला मोहम्मदपुरमा आरक्षण विरोधी आन्दोलनका क्रममा १९ जुलाईमा प्रहरीको गोलीबाट एक पसले अबु सैयदको ​​मृत्युसँग सम्बन्धित छ। ढाकाका मुख्य महानगरीय मजिस्ट्रेटले पनि हत्याको अनुसन्धान गर्न आदेश दिएका छन् । राति पूर्वगृहमन्त्री असदुज्जमान, उनकी श्रीमती र दुई छोराको बैंक खाता रोक्का गरिएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । उनका छोरा जोयले सामाजिक सञ्जालमा शेख हसिनालाई उद्धृत गर्दै पोस्ट गरेका हुन् । हसिनाले भनिन्, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’

‘उनीहरू (प्रदर्शनकारीहरू) ले मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत गएकी थिइन्, त्यसपछि उनी त्यहीँ छिन् । शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयमार्फत आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।