Wednesday, June 17, 2026
Home Blog Page 1334

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

0

गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।

२०७७ साल फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दाबी छ । तर खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरिएको थियो । यद्यपि उद्धारकै क्रममा महिलाको मृत्यु भएको थियो ।

हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सिमाको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ ।

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

0

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।

चितवनमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

0

पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् ।

प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज दिउँसो ११ः५ बजे मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्र्याक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान आज १०ः४० बजे भएको हो ।

सुनको भाउ तोलामा ५ सयले घट्यो

0

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको को छ ।

बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख दिने

0

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले सहयोग गर्ने भएको छ । जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ दिने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता जोशीको उपचारमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

नेता जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल नर्भिक अस्पताल पुगेका थिए । सोहीक्रममा पोखरेलले आर्थिक सहयोगको निर्णय भएको जानकारी दिएका थिए ।

अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीका परिवारका सदस्यसँग भेटेका थिए । उनलाई जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन् ।

गत फागुन १४ गते मस्तिष्कघात भएपछि जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । जोशीको उपचारमा डा राजिव झाको नेतृत्वमा चिकित्सक टोलीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको छ ।

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

0

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ ।

खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका २ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरानो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

होटलको कोठाबाट दोगडाकेदार गाउँपालिका वडाध्यक्ष र महिला प्रहरीको नियन्त्रणमा

0

बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष भरत महरा र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उहाँले नै प्रहरीलाई खबर गर्नुभएको थियो ।

शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उहाँले भन्नुभयो, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’

महोत्तरीमा घर जल्दा लाखौँको क्षति

0

महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो।

पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रु चार लाखको क्षति भएको हो । रामवलीको घरमा भएको आगलागी अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

राराको सतह घटेको आशंका

0

रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।

निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको थियो । ‘अहिलेको १० सेमि घटेको अनुमान छ तर नाप्ने मेसिन नहुँदा यकिन थाहा छैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ ।’

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्छन् । पर्याप्त हिमपात नहुँदा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनार पनि पहिलेभन्दा तल गएको बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले

0

न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो ।

यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाइ तामाङ मन्त्री पदबाटै बिदा हुन विवश भए । उनको घोषणा अलपत्र पर्यो । पछि आएका अरु कानुनमन्त्रीले तामाङको जस्तो योजना ल्याउन नसक्दा न्यायाधीशको सम्पत्ति सार्वजनिकसम्बन्धी कानुन बन्न सकेको छैन । अरु मन्त्रीहरुले यस विषयमा खासै चासो नदिएको मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने र कानुन निर्माण हुनुपर्ने भन्दै नेपाल बारले पटकपटक ध्यानाकर्षण गर्दै आइरहेको छ । न्यायपरिषद् ऐनले न्यायाधीशको सम्पत्तिको अभिलेख बुझाउनुपर्ने उल्लेख गरेको छ तर सर्वाजनिक गर्ने विषयमा कुनै कुरा उल्लेख गरेको छैन । हालको कानुनअनुसार न्यायाधीश विवादमा तानिए मात्रै सम्पत्ति सार्वजनिकको कुरा उठ्न सक्छ । तर सिधै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नुपर्छ भन्ने व्यवस्था कतै उल्लेख भएको छैन ।

आजको राजधानी दैनिकमा समाचार छ ।