Wednesday, June 10, 2026
Home Blog Page 723

राजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत कार्य यथाशीघ्र गर्न माग

0

राजविराज (सप्तरी): राजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत छिटो सम्पन्न गर्न माग गर्दै सडक बहस तथा धर्ना कार्यक्रम गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारी सडकखण्डमा बुधबार बिहान १० बजेदेखि १२ ‘छिन्नमस्ता मन्दिरसम्म जाने मूल सडकको विषयमा प्रमुखसँग संवाद कार्यक्रम’ सहित सडकमा धर्ना कार्यक्रम गरिएको हो ।

राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटोको ठाउँठाउँमा खाल्डाखुल्डीका कारण पानी जमेर पोखरी बनेपछि धार्मिक पर्यटक तथा स्थानीयलाई सास्ती भएको छ । बाटो बिग्रेका कारण १२ किमीको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेकाले अविलम्ब सडक मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।

धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्षलगायत जनप्रतिनिधिका साथै भक्तजन तथा स्थानीयवासी सहभागिता थियो । अध्यक्ष विद्यानन्द चौधरीले सडक मर्मतको माग गर्दै गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौँ पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासनबाहेक केही नपाइएको सुनाउनुभयो ।

हिन्दूहरू चाड बडादसैँ नजिकिँदै गएकाले त्यसअघि नै सडक निर्माण तथा मर्मत गर्न दबाब स्वरुप आज सडकमै धर्ना बस्नुपरेको उहाँको भनाइ छ ।

मुस्ताङको लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

0

म्याग्दी: मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई ओटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ ।

दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हाँै ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो ।

विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।

भारतमा पनि चर्कियो आरक्षणको मुद्दा, आज भारत बन्दको आह्वान, धेरै राज्यमा बन्दको प्रभाव

0

काठमाडौं: बंगलादेशबाट सुरु भएको आरक्षणको मुद्दा भारतमा पनि सुरु भएको छ। अनुसूचित जाति र जनजातिको आरक्षणमा क्रिमी लेयरको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आह्वान गरेका छन्।

यो बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ । बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भएका छन्। झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

बिहारको जेहानाबादमा बन्दका समर्थकहरूले सडकमा नारा लगाएका थिए भने बिहारको आरामा बन्दका समर्थकहरुले रेल लाइनमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् । राजस्थानका धेरै सहरहरूमा पसलहरू बन्द छन्। बन्दको प्रभाव धेरै राज्यमा प्रष्ट देखिएको छ ।

दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि समर्थन गरेका छन् । बहुजन समाज पार्टीकी प्रमुख मायावतीले सर्वोच्च अदालतको फैसलाबारे संविधान संशोधन गर्न सरकारसँग माग गर्दै हिंसाविहीन शान्तिपूर्ण रुपमा भारत बन्द गर्न अपिल गरिन् ।

मायावतीका भतिजा आकाश आनन्दले बसपा कार्यकर्ताहरूलाई भारत बन्दमा पार्टीको झण्डा बोकेर शान्तिपूर्ण रूपमा सहभागी हुन आग्रह गरे।

यसैबीच बिहारको लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलले यो बन्दलाई समर्थन गरेको छ भने केन्द्रीय मन्त्री जीतनराम मांझीले यसलाई ‘विपक्षीको भारत बन्द’ भनेका छन् ।

अर्कोतर्फ, बन्दलाई ध्यानमा राख्दै प्रशासनले राजस्थानका धेरै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । राज्यका धेरै जिल्लाका शैक्षिक संस्था बन्द गर्न आदेश जारी गरिएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउमा निषेधाज्ञा जारी गरिएको छ र प्रशासनलाई बन्दका क्रममा कुनै पनि किसिमको हिंसा नगर्न निर्देशन दिइएको छ ।

मध्य प्रदेशको प्रशासनले भारत बन्दका बेला विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।

यसअघि २ अप्रिल २०१८ मा दलित संगठनहरूले आह्वान गरेको भारत बन्दमा मध्य प्रदेशमा धेरै ठाउँमा हिंसा भड्किएको थियो र ६ जनाको मृत्यु भएको थियो।

आरक्षणमा कुन विषयमा विवाद भएको हो ?

भारतको सर्वोच्च अदालतले अगस्ट १ मा आफ्नो २० वर्ष पहिलेको फैसला उल्ट्याउँदै आरक्षणभित्र पनि आरक्षण दिन सकिने फैसला गरेको थियो । अर्थात छुट्याइएका निश्चित कोटाभित्र पनि फरक फरक जातिका लागि फरक फरक कोटा संख्या तोक्न सकिने भएको थियो ।

२० वर्षअघि अदालतले अनुसूचित जाति आफैंमा एउटा समूह हो, त्यसमा समावेश जातका आधारमा थप विभाजन गर्न नसकिने बताएको थियो । तर अब त्यसलाई उल्ट्याएर अनुसूचित जातिभित्र पनि कुनै जातिलाई धेरै र कुनैलाई थोरै संख्यामा आरक्षण दिन सकिने व्यवस्था गरेको हो ।

अदालतले आफ्नो नयाँ निर्णयबारे राज्यहरूलाई आवश्यक निर्देशन पनि दिएको थियो । अदालतले राज्य सरकारले स्वेच्छाचारी ढंगले निर्णय लिन नपाउने भनेको थियो । यसका लागि दुई सर्त तोकेको थियो । पहिलो शर्तमा अनुसूचित जातिभित्रको कुनै एक जातिलाई शतप्रतिशत कोटा दिन पाइँदैन। दोस्रो शर्तअनुसार अनुसूचित जातिमा समावेश कुनै एक जातको कोटा निर्धारण गर्नुअघि राज्यमा अनुसूचित जातिको कूल संख्यामा त्यो जातिको हिस्साको ठोस तथ्याङ्क हुनुपर्ने भनेको थियो ।

पाकिस्तानी संसदमा महत्वपूर्ण फाइलहरू मुसाले खाइदिएपछि…

0

काठमाडौं: पाकिस्तानको संसदले यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ । यसमा राजनीतिज्ञको कुनै सरोकार छैन तर वास्तविक समस्या संसद भवनमा रहेका मुसाको हो ।

उनीहरूले नयाँ सांसदहरूमा डरको वातावरण सिर्जना गरेका छन्। नेताहरुको कार्यालयमा मुसाको चहलपहल देखिएको छ ।

२००८ मा भएको बैठकको अभिलेख हेर्न आधिकारिक समितिलाई सोध्दा समस्याको खुलासा भएको हो। यी फाइलहरू हेर्न खोज्दा तिनीहरूमध्ये धेरैलाई मुसाले खाएको भेटिएको हो ।

राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानले बीबीसीलाई भने, “यस भवनमा रहेका मुसाहरू यति ठूला छन् कि बिरालाहरू पनि उनीहरूसँग डराउँछन्।”

पाकिस्तानमा यो समस्या यति बढेको छ कि हललाई मुसा मुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट तोकिएको छ ।

धेरैजसो मुसा पहिलो तल्लामा रहेको जानकारी छ । सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।

यस क्षेत्रमा खाना हल पनि छ। दिउँसो संसदमा मानिसहरू उपस्थित हुँदा मुसा देखिँदैनन् । तर राति धेरै नोक्सान गर्छन्।

राष्ट्रिय सभाका एक अधिकारीले भने, ‘साँझमा कोही नहुँदा मुसाहरू म्याराथन जस्तै दौडिन्छन्, यहाँ काम गर्ने कर्मचारीलाई बानी परेको छ, तर पहिलो पटक यहाँ कोही आउँदा उनीहरूले डराएको महसुस गर्छन् ।

यसका लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि जारी गरिएको छ । जसमा मुसा नियन्त्रण गर्न प्राधिकरणलाई सहयोग पुग्ने कीट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ ।

हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएका छन् ।

६१० किलोका व्यक्तिले तौल घटाएर ६४ किलोका भए

0

काठमाडौं: संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले ५४६ किलो तौल घटाएर सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले सो तौल घटाएका हुन् ।

२०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्।

खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल गर्यो ।

२०१३ मा खालिदको वजन ६१० केजी थियो। २०२३ सम्म उनको वजन घटेर ६४ किलो भएको थियो। पहिले खालिद आफ्नो ओछ्यानबाट उठ्न पनि सक्दैनथे । त्यसैले उनको घर जाजानदेखि राजधानी रियादको किंग फहाद मेडिकल सिटीसम्म उनलाई फोर्क-लिफ्ट क्रेन र विशेष बेडद्वारा लगिएको थियो।

जहाँ उनको उपचार योजनामा ​​फिजियोथेरापी सत्रका साथै अनुकूलित आहार र व्यायाम पनि समावेश गरिएको थियो । उनको ग्यास्ट्रिक बाइपास सर्जरी पनि गरिएको थियो ।

यो परिवर्तनको क्रममा, उनले धेरै पटक छाला हटाउने शल्यक्रिया गर्नुपर्यो, किनभने धेरै तौल घटाएपछि, छाला शरीरको आकारमा आउन सकेन। त्यसैले अतिरिक्त छाला शल्यक्रिया मार्फत हटाइएको थियो।

अहिले खालिदलाई स्माइलिङ म्यान भनेर चिनिन्छ । उनलाई यो उपनाम मेडिकल टोलीले दिएको हो ।

कोलकाता बलात्कार र हत्या प्रकरण: सर्वोच्च अदालतद्वारा कठोर टिप्पणीसहित कार्यदल गठन

0

काठमाडौं: कोलकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार केही कडा टिप्पणी गरेको छ। यससँगै सर्वोच्च अदालतले पश्चिम बंगाल सरकारलाई पनि कडा प्रश्न गरेको छ ।

भारतको प्रधान न्यायाधीशको नेतृत्वमा सर्वोच्च अदालतले यस मुद्दाको सुनुवाइ गर्दै सो-मोटो संबोधन गरेको थियो। प्रधान न्यायाधीशसँगै न्यायाधीश जेबी पर्दिवाला र न्यायाधीश मनोज मिश्र पनि यो इजलासमा थिए। सर्वोच्च अदालतले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था नभएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय कार्यदल गठन गरेको छ ।

यस कार्यदलको काम राष्ट्रिय स्तरमा स्वास्थ्यकर्मीको सुरक्षासँग सम्बन्धित प्रोटोकल तयार गर्ने हो । सर्वोच्च अदालतले यस मुद्दाको अर्को सुनुवाई अगस्ट २२ मा गर्नेछ। अदालतले बलात्कार–हत्या प्रकरणको छानबिनसँगै अस्पतालमा भीडले गरेको आक्रमणको अनुसन्धानको स्टेटस रिपोर्ट पेश गर्न पनि सीबीआईलाई निर्देशन दिएको छ ।

अदालतले कार्यस्थलको सुरक्षा, शान्ति सुरक्षा र प्रशासनको लापरवाहीका विषयमा विभिन्न टिप्पणी गरेको छ । अदालत र कानून समाचार वेबसाइट लाइभ लका अनुसार सुनुवाईको क्रममा प्रधानन्यायाधीश चन्द्रचूडले भने, “हामीले यस मुद्दाको आफैले संज्ञान लिने निर्णय गरेका छौं किनभने यो कोलकाताको एक अस्पतालमा भएको विशेष हत्यासँग सम्बन्धित मुद्दा मात्रै होइन। यसले भारतभरका डाक्टरहरूको सुरक्षासँग सम्बन्धित समस्याहरू खडा गर्छ।”

प्रधानन्यायाधीशले भने, “सुरक्षित कार्यस्थलको अवस्था सिर्जना गर्न राष्ट्रिय प्रोटोकल हुनुपर्छ। यदि महिलाहरूले कार्यस्थलमा गएर सुरक्षित महसुस गर्न सक्दैनन् भने हामी उनीहरूलाई समान अवसर दिइएको दाबीलाई अस्वीकार गर्दैछौं।”

प्रधान न्यायाधीश चन्द्रचुडले देशभरका चिकित्सकहरू सम्मिलित ‘राष्ट्रिय कार्यदल’ गठन गरी यो कार्यदलले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न देशभर अपनाउनुपर्ने उपायहरू सिफारिस गर्ने बताए ।

अदालतले धेरै राज्यहरूले डाक्टरहरूमाथि हुने हिंसाको सामना गर्न कानुन बनाएको तर यी कानुनहरूले संस्थागत सुरक्षा मापदण्डमा रहेका कमजोरीहरूलाई सम्बोधन गर्न नसकेको बताए।

सर्वोच्च अदालतले अरुलाई स्वास्थ्य सेवा दिनेको स्वास्थ्य, कल्याण र सुरक्षामा सम्झौता गर्न नहुने बताएको छ । अदालतले भनेको छ ‘भूमि स्तरमा वास्तविक परिवर्तन ल्याउन देशले बलात्कार वा हत्यासम्म पर्खन सक्दैन।’

सर्वोच्च अदालतले भन्यो, “अधिकभन्दा अधिक महिलाहरू ज्ञान र विज्ञानको अत्याधुनिक क्षेत्रहरूमा कार्यबलमा सामेल भइरहेकाले राष्ट्रको लागि सुरक्षित र मर्यादित कामको अवस्था सुनिश्चित गर्नु महत्त्वपूर्ण छ। समानताको संवैधानिक मूल्यले योभन्दा धेरै केही माग्दैन ।”

तापक्रम वृद्धिले हिमताल फुटेर थामे गाउँमा बाढी

0

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको बताएको छ।

बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिए।

स्थलगत निरिक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भई भार थेग्न नसकेको फुटेको देखिएको उनले बताए।

पोखरेलले स्थानीयहरुले सो समयमा केहि वर्ष भएपनि अहिलेसम्मकै गर्मी महसुस गरेको बताएको समेत जानकारी दिए। उनले सोलु घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भएको उल्लेख गए।

उक्त घटनाको अध्ययन गर्नका लागि सर्भे टोली सक्रिय रहेकाले केहिदिनमा नै ठोस कुरा बाहिर आउने प्राधिकरणले जनाएको छ। शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा एक्कासी बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो।

शनिबार बिहान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो।

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

0

मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ ।

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो ।

आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।”

छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैङ्क खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो ।

“छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैङ्क जाने गरेको पाएका छौँ”, उहाँले भन्नुभयो, “छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ ।”

हुप्सेकोट गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम कार्यविधिमार्फत यसका लागि केही सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड पनि बनाएको छ । कार्यक्रमबाट सुविधा लिनका लागि हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनुपर्ने छ । उक्त कार्यक्रमपछि उमेर पुगेपछि बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताउनुभयो ।

माओवादी सत्ताको खेलमा छैन: पुन

0

तुलसीपुर (दाङ): नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने बताउनुभयो । “हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ, सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ”, उपमहासचिव पुनले भन्नुभयो,“त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ ।”

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उहाँको दाबी छ ।

वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने भन्नुहुँदै पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताउनुभयो ।

आजको मौसम:यी प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।