Wednesday, June 10, 2026
Home Blog Page 724

डोनाल्ड ट्रम्प इलन मस्कलाई आफ्नो सल्लाहकार बनाउन तयार

0

काठमाडौं: अमेरिकी पूर्व राष्ट्रपति र यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक इलन मस्कलाई राष्ट्रपतिको सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई सोधिएको थियो – मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे उनले विचार गर्नेछन् ? जवाफमा ट्रम्पले आफूले यस्तो विचार गर्ने बताए ।

उनले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए । ट्रम्पले यदि मस्क आफ्नो सल्लाहकार बन्न राजी भएमा आफू मस्कलाई पद दिन तयार रहेको बताए ।

टेस्ला र स्पेसएक्सका मालिक इलन मस्कले हालै डोनाल्ड ट्रम्पसँग सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए ।

सो क्रममा उनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलगायतका धेरै विषयमा कुरा गरे ।

नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा

0

काठमाडौं: घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो।

श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ए बाट अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

 

किराना पसलको मालिकको सम्पत्ति २३ अर्ब? सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

0

काठमाडौँ : शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध स्रोत खुलाउन नसकेको २३ अर्बभन्दा बढी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

कोहलपुरमा होलसेल व्यापार र किराना स्टोर सञ्चालन गर्ने शर्मा दम्पतीले पछिल्लो १५ वर्षमा २३ अर्ब ४१ करोड २९ लाख रकम आर्जन गरेर सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धान निष्कर्ष छ ।

गीता शर्माले आफ्ना पतिले कोहलपुरमा बसेर ‘ढकाल किराना स्टोर’ सञ्चालन गरेको र धानको खरिद बिक्री गर्ने गरेको बयान दिएकी छन् । उनीहरुले २०६२ बाट काठमाडौँको शान्तिनगरमा किराना होलसेल पसल सुरु गरेका थिए । त्यसपछिका १५ वर्षदेखि सहकारी क्षेत्रमा आबद्ध भएर अकुत सम्पत्ति आर्जन गरेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले शर्माविरुद्ध २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार र गीता शर्माको हकमा ५२ करोड ३३ लाख ३२ हजार बिगो माग दाबी लिएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय भक्तपुरमा छ । शर्माकी पत्नी ४१ वर्षीया गीता शर्मा शिखर अर्गनाइजेशनकी निर्देशक र तुलसी सहकारीको अध्यक्ष हुन् । उनीहरुले सहकारीको निक्षेप आफ्ना ४९ वटा निजी कम्पनीमा लगानी गरेर अर्बौँ ठगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । ठगी मुद्दामा उनीहरू अहिले मुद्दा पुर्पक्षका लागि कारागारमा छन् ।

विभागले शिव शिखर सहकारीका म्यानेजर ३५ वर्षीय पुस्कर मल्ल, अध्यक्ष ३७ वर्षीय सुशिल बानियाँ, सचिव ४४ वर्षीय तेज बहादुर तामाङ, मोरङ घर भएका ब्यवस्थापक लिलानाथ गौतम, सविना न्यौपाने र सम्पत्ति जफत गर्ने प्रयोजनार्थ ऋण अधिकृत मुकुन्द कपालीलाई पनि सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी कायम गरेको छ ।

शर्मा दम्पतीले सर्वसाधारणको निक्षेप निजी स्वामित्वमा रहेका शिवशिखर एग्रो प्रालि, शिखरदिप फुड इण्डष्ट्रिज प्रा.लि, गोरखा टि एण्ड कफी इण्डष्ट्रिज, शिखर मेसिनरी एण्ड अटोमोबाईल्स प्रालि, नटराज एग्रो प्रालि, गार्डेन मार्ट प्रालि, तुलसी फुड इण्डष्ट्रिज प्रालि, उपकार गार्मेन्ट प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एण्ड मल्टी सोलुसन, तुलसी मोटर पम्प इन्डष्ट्रि, तुलसी कृषि अनुसन्धान प्रालि, गोर्खा वेभरेज, उपकार मिडिया ग्रुप, शिखर अग्रनाइजेशन, होटल पोप लाइफ प्रालि, शिव शिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एण्ड ओयल इण्डष्ट्रिज र टेक्नो डोन प्रालिसहिका ४९ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । ती कम्पनीहरु केदारनाथ र गिताको नाममा संचालनमा थिए । विभागले २२ वटा कम्पनीहरूलाई पनि प्रतिवादी कायम गरेको छ ।

सहकारीलाई डुबाउने गरी आफैँले कर्जा लिए आफ्नै कम्पनीहरुमा लगानी गरेर राजस्व छलेर गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको भक्तपुर जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

कोलकाता बलात्कार प्रकरण: कोलकातामा डाक्टरको बलात्कारपछिको हत्याको मुद्दामा भारतको सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने

0

काठमाडौं: कोलकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले मंगलबार सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतको वेवसाइटमा अपलोड भएको अगस्ट २० गतेको सूची अनुसार उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले गर्नेछ । यस विषयमा अदालतले आफैँ संज्ञान लिइसकेको छ ।

कोलकाता उच्च अदालतले हालै पश्चिम बङ्गाल प्रहरीको मुद्दा सीबीआईलाई सुम्पेको थियो। कोलकाता घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन जारी छ।

योसँगै बीजेपी र तृणमूलले यो सम्पूर्ण मामिलामा एकअर्कालाई आक्रमण गरिरहेका छन् । भाजपाका प्रवक्ता गौरव भाटियाले सोमबार पार्टीको तर्फबाट पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ममता बनर्जी अराजकतावादी भएको बताएका थिए।

यसको जवाफमा टीएमसीका प्रवक्ता कुणाल घोषले भने ‘गौरव भाटिया को हुन् ? पहिले उन्नाव, हाथरस र मणिपुरका लागि भाजपाले माफी माग्नुपर्छ।’

जेलमा रहेका इमरान खानले बेलायतको निर्वाचनमा उम्मेदवार बन्न आवेदन दिए

0

काठमाडौं: एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।

इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्।

उनले इमरान खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि आफ्नो आवेदन फारम बुझाएको बताए ।

यसैबीच, अक्सफोर्ड विश्वविद्यालयले भने यसबारेमा केही बताएको छैन।

विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ। भोटिङ अक्टोबर २८ मा अनलाइन हुनेछ।

इमरान खानमाथि व्यक्तिगत लाभका लागि गैरकानूनी रूपमा सरकारी उपहार बेचेको आरोप लगाइएको छ ।

इमरान खानले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् ।

संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानको हिरासत स्वेच्छाचारी भएको बताएको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा- युद्धबिराम हुनसक्ने आशा

0

काठमाडौं: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि प्रयासहरू अघि बढाउन इजरायलको भ्रमणमा छन्।

गत वर्ष अक्टोबरमा इजरायल र हमासबीच युद्ध सुरु भएयता ब्लिन्केन नवौं पटक यस क्षेत्रमा पुगेका छन् ।

ब्लिन्केनको भ्रमणको केही दिनअघि अमेरिकाले इजरायल र हमासबीच शान्ति स्थापना गर्न नयाँ संशोधित प्रस्ताव पेश गरेको थियो ।

गत हप्ता दोहामा भएको शान्ति वार्ताका क्रममा अमेरिकाले युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेको थियो ।

यद्यपी हमासले युद्धविराम सम्झौताका लागि गरिएका प्रयासलाई धोकाको संज्ञा दिएको छ । हमासले इजरायली सेनालाई गाजा पट्टी पूरै छोड्न आग्रह गरेको छ।

एन्टोनी ब्लिन्केनले यो भ्रमणका क्रममा इजरायली सरकारलाई सम्झौताका लागि दबाब दिने प्रयास पनि गर्न सक्छन्।

अमेरिकाले अर्को हप्तासम्म इजरायल र हमासबीच शान्ति सम्झौता गर्न सक्ने आशा गरेको छ । तर, यस विषयमा इजरायल र हमास दुवै पक्षबाट कुनै सकारात्मक प्रतिक्रिया आएको छैन ।

दुवै पक्षले एकअर्कालाई शान्ति सम्झौतामा अवरोध गरेको आरोप लगाउँदै आएका छन् । आइतवारको एक विज्ञप्तिमा हमासले इजरायली प्रधानमन्त्रीले युद्धलाई लम्ब्याउने उद्देश्यका साथ सम्झौताका लागि नयाँ शर्त र मागहरू राखेको आरोप लगाएको छ।

हमासले शान्ति सम्झौता असफल हुनुको सबैभन्दा ठूलो कारण इजरायल भएको मानेको छ ।

हमासको एक स्रोतले साउदी अरबको मिडियासँग कुरा गर्दै शान्ति सम्झौताका सर्तहरूमा फिलाडेल्फिया करिडोरमा इजरायली सेना घटाउने कुरा पनि समावेश गरेको बताएको थियो।

फिलाडेल्फिया करिडोर इजिप्टको सिमाना छुने गाजा नजिकको जमिनको साँघुरो पट्टी हो।

नेपालमा टिकटक पुन: चल्ने- प्रतिबन्ध हटाउने सरकारको तयारी

0

काठमाडौं: सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। यस अघि ‘प्रचण्ड’ सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध वर्तमान सरकारले खुलाउन गृहकार्य सुरु गरेको छ।

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको भन्दै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी रेखा शर्माले सम्हालेकी थिइन्।

अहिले सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस एमालेको नयाँ सरकार बनेपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन तालुकदार सञ्चार मन्त्रालयलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशन पछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउन गृहकार्य सुरु गरिसकेका छन्।

स्रोतका अनुसार सञ्चार मन्त्री गुरुङले टिकटक खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेका छन्। यस अघि मन्त्रिपरिषद्को निर्णयबाटै प्रतिबन्ध लगाइकाले खुलाउन पनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सञ्चार मन्त्रीको तयारी रहेको छ।

टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाइसकेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुलाउने प्रस्ताव पारित गर्नेगरी तयारी थालिएको सञ्चार मन्त्रालयले जनाएको छ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले टिकटक खुलाउन टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयबाट पत्र आएको र सो पत्रको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा होः सभापति देउवा

0

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताउनुभयो ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो”, शुभकामना सन्देशमा उल्लेख छ ।

सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताउनुभएको छ ।सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने उहाँले उल्लेख गर्नुभएको छ ।

जलसतह मापकहरूको पारिश्रमिक बढाउन माग

0

गोदावरी (कैलाली)– सुदूरपश्चिम प्रदेशमा कार्यरत जलसतह मापक ९गेज रिडर०को पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसका अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश समितिले धनगढीमा आयोजना गरेको एक कार्यक्रममा सरोकार भएकाहरूले हाल दैनिक रु दुई सय ज्याला दिने गरिएकामा सो रकम बढाउन माग गरेका हुन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अत्यन्त न्यून ज्याला दिने गरिएकाले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकअनुरूप समायोजन हुनुपर्ने बताउनुभयो । उहाँले पारिश्रमिक बढाउने सवालमा आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलसतह मापकको जोखिम बीमा गर्नका लागि प्रदेशसभामा छलफल चलाइएकाले चाँडो निकास निस्किने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले जलसतह मापकले गरेका माग जायज भएकाले निर्णय प्रक्रियामा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विशेष पहल आवश्यक रहेकामा जोड दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जय साहले मापकको पारिश्रमिक बढाउनका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको बताउनुभयो । सुदूरपश्चिमका विभिन्न नदीमा गरी हाल ३१ जना जलसतह मापक कार्यरत रहेका उहाँले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका प्रदेश समितिका अध्यक्ष देवीप्रसाद खनालले सरकार आफैँले न्यूनतम पारिश्रमिक निर्धारण गरे पनि त्यसलाई कार्यान्वयन नगर्नु राम्रो नभएको बताउनुभयो । जलसतह मापक मानबहादुर चौधरीले आफूहरूले धेरैको ज्यान बचाउने काम गर्दै आए पनि न्यूनपारिश्रमिकका कारण दैनिक गुजारा टार्न समस्या भएको गुनासो गर्नुभयो ।

यसैबीच, जलसतह मापकहरूले पारिश्रमिक वृद्धि, आवश्यक सेवासुविधा तथा सुरक्षासम्बन्धी सामग्री, स्वास्थ्य बीमा, जीवन बीमा, दुर्घटना बीमालगायतको माग गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीलाई मागपत्र बुझाएका छन् ।

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

0

खोटाङ: झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिक रुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ । हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।

यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ । यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित ढुङ्गै/ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण सुरु गरिएको रक गार्डेनलाई महत्वका साथ हेरिएको छ । लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् ।

ककनीडाँडामा रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ । रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”

फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ ।

रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा विकसित हुन थालेको छ । हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ । तराईका जिल्लाबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकबाट रक गार्डेन पैदल २०–२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

रक गार्डेन सम्पन्न गर्न रु पाँच करोडभन्दा बढी लाग्ने गरी डिपिआर तयार भएको नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभयो । “रक गार्डेन निर्माणमा अहिलेसम्म करिब रु तीन करोड खर्च भइसकेको छ । निर्माणाधीन अवस्थामै पर्यटकको रोजाइमा परेकाले निर्माणको कामलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले रक गार्डेन आवतजावत गर्ने सडक ढलान भइरहेको छ । सडक ढलानको काम सम्पन्न भएपछि सहजरुपमा आवतजावत गर्न हुन्छ ।”

तीन तहका सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्नेगरी स्तरोन्नति थालिए हो । नगरपालिकाभित्र पर्ने सबै पर्यटकीयस्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमलगायत दर्जन बढी धार्मिक तथा पर्यटकीयस्थल छन् । ती सबै धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका धार्मिक तथा पर्यटकीयस्थललाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ । यसभित्र धार्मिक तथा पर्यटकीयस्थलको परिचय, महत्व, विशेषता, दूरीलगायत विषय समेटिनेछन् । यसले बाहिरबाट आउने पर्यटकका लागि यहाँका धार्मिक तथा पर्यटकीयस्थलका बारेमा बुझ्न र घुम्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” नगरपालिकाले सुरु गरेको पर्यटन प्रवर्द्धनका कामप्रति प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् ।