Thursday, June 18, 2026
Home Blog Page 651

कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

0

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गर्नुभएको छ। मकै र गहुँबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) को आयोजनामा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उहाँ मेक्सिको जानुभएको हो, मन्त्रालयले जनाएको छ।

मन्त्री अधिकारीले मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुने कार्यक्रम रहेको छ। यी छलफलहरूबाट नेपाल सरकार र संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूप अनुसन्धान तथा विकासका क्रियाकलाप र संयुक्त कार्यक्रमको योजना तयार गरिनेछ।

मन्त्री अधिकारीले मेक्सिकोका कृषिसम्बन्धी अधिकारीहरू र आयोजक संस्थाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। नेपालको कृषि विकास रणनीति र कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापलाई टेवा पुर्‍याउने अपेक्षासहित उहाँको भ्रमण रहेको छ। मन्त्री अधिकारीका साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, हरिबहादुर केसी, र मन्त्रीका निजी सचिव रोसन अधिकारीलगायतको टोली पनि रहेको छ।

आजको मौसमल: पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना

0

काठमाडौँ: देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ, जसका कारण पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ भने अन्य भागहरूमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहिरहनेछ, जबकि अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

राष्ट्रपति बाइडेनले दिए ट्रम्पलाई बधाई

0

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

बुधबार टेलिफोनमार्फत ट्रम्पलाई बधाई दिएका राष्ट्रपति बाइडेनले उनलाई वाइट हाउसमा निमन्त्रणा गरेका छन्।

‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अब म सहज रूपमा जिम्मेवारी हस्तान्तरण गर्न चाहन्छु,’ बाइडेनले फोनमा ट्रम्पलाई भनेको उद्धृत गर्दै वाइट हाउसले जानकारी दिएको छ। ‘बाइडेनले ट्रम्पलाई वाइट हाउसमा आएर भेट गर्न निमन्त्रणा दिएका छन्।’

वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले बिहीबार चुनावी परिणामको सन्दर्भमा देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ।

किसान व्यावसायिक कोदो खेतीमा आकर्षित

0

सुनसरी। बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीतर्फ आकर्षित भएका छन्। यहाँका किसानहरूले अहिले धान र मकै लगाउने खेतबारीमा कोदो लगाउन थालेका छन्।

स्थानीय किसान अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा नियमित रूपमा कोदो खेती गर्दै आएका छन्। उनले अरु बालीको तुलनामा कोदो लगाउन सहज र उत्पादन राम्रो हुने भएकाले यसतर्फ लागेको बताए।

‘पछिल्लो १७ वर्षदेखि कोदोखेती गरिरहेको छु। अहिले त यसैबाट घर खर्च धान्ने गरी खेती गरिरहेको छु। व्यावसायिक उत्पादन थालेपछि सन्तोषजनक आम्दानी भइरहेको छ,’ उनले भने।

कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भएको विश्वकर्माले बताए। उनका अनुसार कतिपय किसानले कोदोबाट घरेलु मदिरा र तोङ्बा बनाएर बिक्री गरी लाखौँ आम्दानी गरिरहेका छन्, भने अन्यले पारिवारिक उपभोग र बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्।

अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीलाई प्राथमिकता दिन छोडेर कोदोखेतीतर्फ लागेको बताइन्। ‘धान र मकैमा जति मेहनत गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन। रोग र किरा लागेर मेहनत खेर जाने जोखिम रहन्छ, तर कोदोमा त्यस्तो समस्या कमै आउँछ,’ उनले भनिन्, ‘पछिल्लो समय रोग लागेको छैन र उत्पादन राम्रो भएको छ। एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ, र बिक्रीको समस्या पनि छैन। इनरुवा, इटहरी, र धरानसम्म पठाउने गरेकी छु।’

किसान नारायण विकले पनि १६ कठ्ठा जग्गामा कोदोखेती गरिरहेका छन्। पाँच वर्षदेखि मकै र धान खेती छोडेर उनी कोदोखेतीमा लागेका हुन्।

‘कोदोखेती गर्दा पछुताउनु परेको छैन। आम्दानी राम्रो भइरहेको छ। कोदो बेच्न र तोङ्बा, रक्सी बनाएर बिक्री गर्न पनि सजिलो छ,’ उनले भने, ‘इनरुवा, इटहरी, धरानसम्म कोदो लैजाने गर्छु। प्रतिकिलो रु ७० देखि १०० सम्ममा बिक्छ भने तोङ्बा प्रति एक १५० र कोदोको रक्सी एक बोतल २०० मा बिक्री गर्छु।’

उनले कोदोखेती गर्ने किसानलाई स्थानीय र प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन दिन सके थप सहज हुने धारणा राखे। विश्वकर्माले कम्तीमा बीउ उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने बताए।

हाल बराहक्षेत्र-६ मा मात्र १५ भन्दा बढी किसान कोदोखेती गर्दै आएका छन्। स्थानीय अर्जुन विष्टले कोदोखेतीतर्फ राम्रो प्रगति भएको बताए। सुनसरीमा हाल चार सय ५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको भए पनि त्यसको मूल्य वृद्धि हुँदा हाल यसतर्फ लागेका किसानले राम्रो आम्दानी गरिरहेका छन्। ‘धुसिजन्य रोग नलागेमा सुनसरीमा कोदो उत्पादन राम्रो हुने गर्छ। घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्दा आम्दानी बढेको छ,’ उनले भने।

यहाँ धरान उपमहानगरपालिकाको वडा नं ४, ५, ६ र २० तथा बराहक्षेत्र नगरपालिकाको वडा नं १, ६ र ५ लगायतका ठाउँमा बढी कोदोखेती हुने गर्छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, ट्रिप्टोफेन, एन्टिअक्सिडेन्टजस्ता तत्व पाइने भएकाले यो मुटु र पाचनसम्बन्धी स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

रासस

फोहोरबाट मल उत्पादन र बिक्रीमा मध्यविन्दु नगरपालिका

0

नवलपरासी: बजारीकरण र शहरीकरणका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण विषय बनिरहेको छ। फोहोरको उचित व्यवस्थापन नहुँदा समस्या भोगिरहेका क्षेत्रहरूको लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका एक सकारात्मक उदाहरण बनेको छ।

मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनका साथै जैविक मल उत्पादन र बिक्री सुरु गरेको छ। नगरपालिकाले सङ्कलित फोहोरमध्ये कुहिने फोहोरबाट जैविक मल उत्पादन गरेर बिक्री गर्न थालेको हो।

यहाँ स्थापित केन्द्रबाट फोहोर व्यवस्थापनसँगै परीक्षणका रूपमा उत्पादन गरिएको जैविक मल बिक्री थालिएको नगरपालिकाका इन्जिनियर विवेक पोख्रेलले बताए। स्थानीयस्तरमा सङ्कलित फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल उत्पादन परीक्षण सफल भएको र यसलाई नियमित रूपमा अघि बढाइने उनको भनाइ छ।

नगरपालिकाले उत्पादन गरेको जैविक मल, नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार, प्रतिकिलोग्राम रु २२ मा बिक्री गरिएको इन्जिनियर पोख्रेलले जानकारी दिए। सरसफाइ कार्ड लिनेका लागि एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट पनि दिइने छ। उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ। ‘उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्डअनुसार रहेको छ। हामीले परीक्षण गरेका छौँ, नाइट्रोजन, फस्फोरस, र पोटासियमजस्ता तत्वको मापदण्ड अनुसार रहेको छ,’ उनले भने।

मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीका अनुसार जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षणमा सहयोग गर्ने, र खाद्य उत्पादनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ। अहिले कृषि उत्पादनमा धेरै रासायनिक मलको प्रयोग भइरहेको हुँदा जैविक मल प्रयोगलाई प्रोत्साहित गर्न यो कदम सहयोगी हुने उनले बताए।

‘हामीकहाँ कृषि उत्पादनमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेको छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई प्रोत्साहित गर्ने सकारात्मक सन्देश दिने अपेक्षा छ,’ उनले भने।

मध्यविन्दु नगरपालिकाले वडा नं. ११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरेको छ। गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब चार करोड ३७ लाखको लागतमा यो कार्य अघि बढाइएको हो र यसै केन्द्रबाट जैविक मल उत्पादन थालिएको छ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि घरबाट नै फोहोरको वर्गीकरण अनिवार्य गरेको छ। कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन सङ्कलन गरिन्छ। यसरी सङ्कलित फोहोरमध्ये नकुहिने फोहोर पुनः प्रयोगका लागि छुट्याएर बिक्री गरिन्छ भने कुहिने फोहोरबाट जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको हो।

विदेशी मुद्राको आजको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७३ रुपैयाँ २० पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ८७ रुपैयाँ र बिक्रीदर १०१ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

पुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.56 135.16
EUR  (European Euro) 1 144.21 144.86
GBP  (UK Pound Sterling) 1 173.20 173.97
CHF  (Swiss Franc) 1 153.48 154.16
AUD  (Australian Dollar) 1 88.33 88.73
CAD  (Canadian Dollar) 1 96.75 97.18
SGD  (Singapore Dollar) 1 100.87 101.32
JPY  (Japanese Yen) 10 8.73 8.77
CNY  (Chinese Yuan) 1 18.76 18.85
SAR  (Saudi Arabian Riyal) 1 35.82 35.98
QAR  (Qatari Riyal) 1 36.91 37.08
THB  (Thai Baht) 1 3.93 3.95
AED  (UAE Dirham) 1 36.63 36.80
MYR  (Malaysian Ringgit) 1 30.56 30.69
KRW  (South Korean Won) 100 9.61 9.66
SEK  (Swedish Kroner) 1 12.38 12.44
DKK  (Danish Kroner) 1 19.34 19.43
HKD  (Hong Kong Dollar) 1 17.31 17.38
KWD  (Kuwaity Dinar) 1 438.23 440.19
BHD  (Bahrain Dinar) 1 356.93 358.52

छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

0

वीरगञ्ज: छठ पर्वसँग सम्बन्धित लोकगीत गाएर लोकप्रियता कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ। नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत ७२ वर्षीया गायिका सिन्हाको मंगलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भोजपुरी र मैथली भाषामा गाउन ख्याती प्राप्त गरेकी सिन्हाका लोकगीतहरू भारत र नेपालका श्रोतामाझ अत्यन्त लोकप्रिय छन्। छठ पर्वसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा भैया गैल मुंगेर’ जस्ता गीतहरूले लोकगीत पारखीहरूको मन जितेका छन्।

वीरगञ्जका कलासाहित्य अनुरागीहरू पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध भएका छन्। नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले सिन्हालाई भोजपुरी गीतका उज्यालो नक्षत्रका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।

‘सिन्हाले लोकआस्थाको पर्व छठको गीतलाई आफ्नो मधुर आवाजमा जनस्तरसम्म पुर्‍याउनुभएको छ। उहाँका छठ गीतहरू अहिले पनि वीरगञ्जका छठ घाटहरूमा गुञ्जिरहेका छन्,’ उपाध्यायले भने, ‘लोकगायिका सिन्हाले भोजपुरी मात्र नभई हिन्दी गीतहरू पनि गाउनुभएको छ।’

उपाध्यायले सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले ठूलो क्षति बेहोरेको उल्लेख गरे। ‘सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्नेछ,’ उनले भने, ‘गीत, साहित्य र सङ्गीतले भूगोल र सीमालाई मान्दैन। उहाँको निधनले हामीलाई मर्माहत बनाएको छ।’

सिन्हाको जन्म भारतको बिहार राज्यमा भएको थियो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य तथा नेपाल भोजपुरी समाजका सहसचिव अजमत अली अन्सारीले सिन्हाको निधनले भोजपुरी गीतले एक महान श्रष्टा गुमाएको बताए।

‘भारतीय हिन्दी गीत-सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, भोजपुरी गीतमा शारदा सिन्हाको नाम त्यस्तै आदरका साथ लिइन्छ,’ उनले भने, ‘सिन्हाले छठका गीतमार्फत ख्याति कमाउनुभएको हो। छठ पर्वकै समयमा उहाँको निधनले हामीलाई स्तब्ध बनाएको छ।’

लोकगायिका सिन्हाले भारतको प्रतिष्ठित पद्मश्री र पद्मभूषण सम्मानसमेत प्राप्त गरेकी थिइन्। उनका एक छोरा र एक छोरी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा सिन्हाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

मन्त्रीकै सामुन्ने एनआरएनए नेताहरूबीच वादविवाद

0

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का तीन अलग अलग गुटका नेताहरुले बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाकै अगाडि वादविवाद गरेका छन् । विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन मन्त्रीले छलफलका लागि जुटाइदिएकोमा उनीहरुले मन्त्रीकै अगाडि भनाभन गरेका हुन् ।

गैरआवासीय नेपाली संघ अहिले तीन गुटमा विभाजित भएको छ । संघमा बद्री केसीको एउटा समूह, शेष घलेको अर्को समूह र आरके शर्माको अर्को समूह छ । एक समूहले अर्कोलाई नमान्ने र आ–आफ्नै तरिकाले अधिवेशन र साधारण सभा गर्दै नेतृत्व चयन गर्ने क्रम चलेपछि मन्त्रीले संघलाई मिलाउन पहल गरेकी थिइन् ।

स्रोतका अनुसार सो छलफलमा बद्री पाण्डे, आरके शर्मा, शेष घले र उपेन्द्र महतो समेत सहभागी थिए । मन्त्रीले गुटका नेताहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिएपछि उनीहरुले अर्को समूहले संघलाई विभाजन गराउन खोजेको आरोप लगाउँदै वादविवाद गरेका थिए । उपेन्द्र महतोले सबै समूहलाई मिलाउने प्रयास गरेको भए पनि विवाद चर्किएको स्रोतको भनाइ छ ।

एनआरएको विवाद अदालतमा पनि चलिरहेको छ । एउटा रिटको सुनुवाइको क्रममा सर्वोच्च अदालतले सुनुवाइ गर्दै बद्री केसीको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएको भए पनि सर्वोच्चमै फरक रिटहरु अझै विचाराधीन छन् । अदालतले संघलाई मिलेर जान निर्देशन दिएको भए पनि संघभित्र गुटको विवाद भने चर्को बनेको छ ।

राष्ट्रसंघका वरिष्ठ पूर्वअधिकारी ड्यागिल्स नेपालमा बाल यौन दुर्व्यवहारमा दोषी ठहर

0

काठमाडौं । सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी र क्यानाडेली नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुर्व्यवहार (पेडोफिलिया) मा दोषी ठहर गरेको छ। अदालतका सह प्रवक्ता गोविन्द घिमिरेका अनुसार क्यानाडेली नागरिक ड्यागिल्सलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरिएको हो।

न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बुधबार जिल्ला अदालत काभ्रेपलान्चोक र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ड्यागिल्सलाई दोषी ठहर गरेको हो। सर्वोच्चले कैद सजायमा भने एक वर्ष घटाएर उनलाई ८ वर्ष कैदको आदेश दिएको छ। साथै, क्षतिपूर्तिका लागि जिल्ला अदालतको निर्णयलाई यथावत् राखिएको छ।

२०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरमा आफ्नै फार्म हाउसमा दुई जना नाबालिगसँग पक्राउ परेपछि ड्यागिल्सको नाम अन्तर्राष्ट्रिय रूपमा बाल यौन दुर्व्यवहार (पेडोफिलिया) मा संलग्न भएको चर्चा आएको थियो।

जिल्ला अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाउँदै दुई जना पीडित बालबालिकालाई मुआब्जा दिन आदेश दिएको थियो। ड्यागिल्स संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारीका रूपमा अफगानिस्तानमा कन्ट्री रिप्रिजेन्टेटिभको भूमिका निभाइसकेका छन्।

पिटर जोन ड्यागिल्सलाई नेपालमा भेटिएका उच्च तहका बाल यौन दुर्व्यवहारकर्ता मानिन्छ। २०७४ मा पक्राउ परेका ड्यागिल्स यसअघि पनि बाल यौन दुर्व्यवहारको आरोपमा शंका गरिएका थिए तर उनी आफ्नो उच्च पदको आडमा उम्कँदै आएका थिए। प्रहरी अनुसन्धानले उनी सन् २००२ देखि नेपाल आउँदा बाल यौन दुर्व्यवहारमा संलग्न रहेको ठहर गरेको थियो।

सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का सल्लाहकारका रूपमा पहिलो पटक नेपाल आएका ड्यागिल्स पछि पनि बालबालिकालाई आर्थिक सहयोग दिने बहानामा बाल यौन दुर्व्यवहार गर्दै आएका थिए। करिब ५० जना बालबालिकालाई आर्थिक सहयोग गरेको बताइएका ड्यागिल्सले धेरैलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

सन् २००९ मा उनले नेपालमा काम गरिरहेका सहकर्मीमार्फत् काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गामा फार्म हाउस निर्माण गरेका थिए। सोही फार्म हाउसलाई उनले आफ्नो यौन दुर्व्यवहारको थलो बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

उनी एक समय सम्मानित मानवीय कार्यकर्ता थिए र सन् २०१६ मा ‘अर्डर अफ क्यानडा’ जस्तो उच्च सम्मान प्राप्त गरेका थिए। १९८० को दशकमा स्ट्रिट किड्स इन्टरनेशनलको सह-स्थापना गरेका उनी पछि सेभ द चिल्ड्रेनसँग पनि संलग्न भएका थिए।

पेडोफिलिया के हो?

पेडोफिलिया ग्रीक भाषाको ‘पेडो’ (बच्चा) र ‘फिलिया’ (माया) शब्दबाट आएको हो, जसको शाब्दिक अर्थ बालबालिकाप्रति आकर्षण वा स्नेह हो। तर आजकाल यस शब्दले बालबालिकालाई यौन दुर्व्यवहारमा संलग्न गराउने वा यौन आकर्षण राख्ने वयस्कलाई बुझाउँछ। यस्तो रुचि राख्ने व्यक्ति १६ वर्षभन्दा माथिका र बालबालिकाभन्दा कम्तिमा पाँच वर्ष बढी उमेरका हुनुपर्ने प्रावधान हुन्छ।

बाल यौन दुर्व्यवहार बलात्कार, हाडनाताकरणीजस्तै गम्भीर प्रकारको दुराचार हो, जसले पीडितलाई गम्भीर मानसिक आघात पुर्‍याउँछ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी

0

काठमाडौं: अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन्, जसले उनलाई विजयी बनायो। यसैबीच, डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्टोरल भोट मात्र जित्न सफल भइन्।

ट्रम्पले अमेरिकाका प्रमुख स्विङ राज्यहरूमा प्रभावशाली प्रदर्शन गर्दै सात मध्ये चार स्विङ राज्यमा जित दर्ता गरेका छन्। जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन, र पेन्सिलभेनियामा उनको जितले उनलाई बहुमतको बाटोमा अघि बढायो।

अमेरिकाको इलेक्टोरल कलेज प्रणालीमा कुल ५३८ भोट हुन्छन्, जसमा विजयको लागि २७० मत आवश्यक पर्छ। जर्जिया र उत्तरी क्यारोलिनामा समान १६–१६ इलेक्टोरल भोट छन् भने पेन्सिलभेनियामा १९ भोट उपलब्ध छन्, जसले यो राज्यलाई विशेष महत्व प्रदान गर्छ।

यस चुनावमा अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोनामा पनि चर्को प्रतिस्पर्धा देखियो।