काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गर्नुभएको छ। मकै र गहुँबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) को आयोजनामा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उहाँ मेक्सिको जानुभएको हो, मन्त्रालयले जनाएको छ।
मन्त्री अधिकारीले मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुने कार्यक्रम रहेको छ। यी छलफलहरूबाट नेपाल सरकार र संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूप अनुसन्धान तथा विकासका क्रियाकलाप र संयुक्त कार्यक्रमको योजना तयार गरिनेछ।
मन्त्री अधिकारीले मेक्सिकोका कृषिसम्बन्धी अधिकारीहरू र आयोजक संस्थाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। नेपालको कृषि विकास रणनीति र कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापलाई टेवा पुर्याउने अपेक्षासहित उहाँको भ्रमण रहेको छ। मन्त्री अधिकारीका साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, हरिबहादुर केसी, र मन्त्रीका निजी सचिव रोसन अधिकारीलगायतको टोली पनि रहेको छ।


