नवलपरासी: बजारीकरण र शहरीकरणका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण विषय बनिरहेको छ। फोहोरको उचित व्यवस्थापन नहुँदा समस्या भोगिरहेका क्षेत्रहरूको लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका एक सकारात्मक उदाहरण बनेको छ।
मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनका साथै जैविक मल उत्पादन र बिक्री सुरु गरेको छ। नगरपालिकाले सङ्कलित फोहोरमध्ये कुहिने फोहोरबाट जैविक मल उत्पादन गरेर बिक्री गर्न थालेको हो।
यहाँ स्थापित केन्द्रबाट फोहोर व्यवस्थापनसँगै परीक्षणका रूपमा उत्पादन गरिएको जैविक मल बिक्री थालिएको नगरपालिकाका इन्जिनियर विवेक पोख्रेलले बताए। स्थानीयस्तरमा सङ्कलित फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल उत्पादन परीक्षण सफल भएको र यसलाई नियमित रूपमा अघि बढाइने उनको भनाइ छ।
नगरपालिकाले उत्पादन गरेको जैविक मल, नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार, प्रतिकिलोग्राम रु २२ मा बिक्री गरिएको इन्जिनियर पोख्रेलले जानकारी दिए। सरसफाइ कार्ड लिनेका लागि एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट पनि दिइने छ। उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ। ‘उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्डअनुसार रहेको छ। हामीले परीक्षण गरेका छौँ, नाइट्रोजन, फस्फोरस, र पोटासियमजस्ता तत्वको मापदण्ड अनुसार रहेको छ,’ उनले भने।
मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीका अनुसार जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षणमा सहयोग गर्ने, र खाद्य उत्पादनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ। अहिले कृषि उत्पादनमा धेरै रासायनिक मलको प्रयोग भइरहेको हुँदा जैविक मल प्रयोगलाई प्रोत्साहित गर्न यो कदम सहयोगी हुने उनले बताए।
‘हामीकहाँ कृषि उत्पादनमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेको छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई प्रोत्साहित गर्ने सकारात्मक सन्देश दिने अपेक्षा छ,’ उनले भने।
मध्यविन्दु नगरपालिकाले वडा नं. ११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरेको छ। गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब चार करोड ३७ लाखको लागतमा यो कार्य अघि बढाइएको हो र यसै केन्द्रबाट जैविक मल उत्पादन थालिएको छ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि घरबाट नै फोहोरको वर्गीकरण अनिवार्य गरेको छ। कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन सङ्कलन गरिन्छ। यसरी सङ्कलित फोहोरमध्ये नकुहिने फोहोर पुनः प्रयोगका लागि छुट्याएर बिक्री गरिन्छ भने कुहिने फोहोरबाट जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको हो।


