बाजुरा । बाजुरामा पछिल्लो समय दाँते ओखर खेती विस्तार हुँदै गएको छ। जिल्लाका नौवटै स्थानीय तहका विभिन्न क्षेत्रमा रोपिएका ओखरका बिरुवा राम्रोसँग हुर्किनुका साथै उत्पादन दिन थालेपछि किसानहरूको आकर्षण बढ्दै गएको हो।
व्यक्तिगत फर्म, कृषक समूह तथा परीक्षणका लागि लगाइएका ओखरका बिरुवाले सकारात्मक परिणाम दिन थालेपछि यस खेतीप्रति किसानहरूको रुचि बढेको छ। जीविकोपार्जन र दीर्घकालीन आम्दानीको राम्रो सम्भावना देखिएपछि धेरै किसान ओखर खेतीतर्फ उन्मुख भएका छन्।
हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकालगायतका क्षेत्रमा ओखर खेती विस्तार हुँदै गएको छ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार ओखर दीर्घायु र बहुउपयोगी फलफूल बाली हो। यसको आयु करिब २०० वर्षसम्म रहने र एक परिपक्व रुखबाट वार्षिक १०० देखि २०० किलोग्रामसम्म उत्पादन लिन सकिने बताइएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहानीका अनुसार नेपालमा समुद्री सतहबाट ९०० देखि ३५०० मिटरसम्मको उचाइमा ओखर खेती गर्न सकिन्छ। ओखरका बिरुवा ७–७ मिटरको दूरीमा रोप्न उपयुक्त हुने र प्रतिरोपनी १० देखि १५ वटा बिरुवा लगाउन सकिने उनले जानकारी दिए।
ओखरले सामान्यतया रोपेको पाँचदेखि छ वर्षपछि उत्पादन दिन सुरु गर्छ। दीर्घकालीन आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएपछि बाजुराका विभिन्न स्थानमा अहिले व्यावसायिक रूपमा ओखर खेती गर्न थालिएको छ।


