Friday, May 8, 2026
Home Blog Page 62

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमानअनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली भएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यसैबीच कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

प्रभु साहद्वारा राजनीतिक नियुक्ति फिर्ता लिन आग्रह

0

रौतहट। आम जनता पार्टी का केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारले हालै गरेको राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

अध्यक्ष साहले सोमबार आफ्नो फेसबुकमार्फत वक्तव्य जारी गर्दै जेनजी विद्रोहको जगमा बनेको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा नियुक्त गर्नु सुशासनको मर्मविपरीत भएको बताएका छन्।

उनले निर्वाचन सम्पन्न गराएर बहिर्गमनको चरणमा पुगेको सरकारले सुशासन र पारदर्शितामाथि धक्का पुग्ने गरी राजनीतिक नियुक्ति गर्नु निन्दनीय र आपत्तिजनक भएको उल्लेख गरेका छन्। साहले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल मन्त्रिपरिषद्बाट राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस हुनु पनि लाजमर्दो विषय भएको टिप्पणी गरेका छन्।

त्यसैगरी प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शिताको उपहास भएको उनको भनाइ छ। यसअघि पनि जेनजी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै परिवारका सदस्यलाई जागिर खुवाएको आरोप लागेको स्मरण गर्दै साहले यस्तो निर्णयले आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको बताएका छन्।

अध्यक्ष साहले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरी आफ्ना निकट व्यक्तिहरूलाई राज्यका निकायमा नियुक्त गर्न व्यस्त हुनु लज्जास्पद भएको बताएका छन्।

उनले प्रधानमन्त्री कार्कीलाई ती दुवै निर्णय तत्काल फिर्ता लिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

निर्वाचन गराएर प्रशंसा बटुलेकी प्रधानमन्त्री सुशीला कार्की, स्वकीय सचिवको नियुक्तिले विवाद

0

काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका बीच मुलुकलाई निकास दिन सफल भएकी प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर प्रशंसा बटुलेकी छन्। बिना हिंसा र रक्तपात निर्वाचन गराउने लक्ष्य पूरा गरेपछि उनको नेतृत्वको व्यापक सराहना भएको छ।

मुलुक अन्योलमा रहेका बेला पहिलो महिला प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेकी कार्कीले निर्वाचनमार्फत राजनीतिक निकास दिएर इतिहास रचेको टिप्पणी गरिएको छ। तर, सरकारको कार्यकालको अन्त्यतिर उनले गरेको एउटा नियुक्ति निर्णयले भने विवाद सिर्जना गरेको छ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को अन्तिम बैठकबाट आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेपछि आलोचना भएको हो। सामान्यतया वनविज्ञ वा सम्बन्धित क्षेत्रका विद्वान्ले नेतृत्व गर्ने संस्थामा आफ्ना स्वकीय सचिवलाई नियुक्त गरिएको भन्दै निर्णयप्रति प्रश्न उठाइएको छ।

कुशासन, नातावाद र भ्रष्टाचारको विरोधमा भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले यस्तो नियुक्ति गर्नु अनुचित भएको भन्दै सुशासन पक्षधरहरूले आलोचना गरेका छन्। यसअघि पनि प्रधानमन्त्री कार्कीले श्रेष्ठकी श्रीमती र आफन्तलाई सचिवालयमा नियुक्त गरेपछि विवाद भएको थियो। पछि उनले ती नियुक्ति खारेज गरेकी थिइन्।

कार्कीबाहेक हालसम्म कुनै पनि पूर्वप्रधानमन्त्रीले आफ्ना स्वकीय सचिवलाई राजकीय लाभको पदमा नियुक्त नगरेको भन्दै कतिपयले यसलाई अधिकारको दुरुपयोगको रूपमा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री कार्की र आदर्शकुमार श्रेष्ठबीचको सम्बन्ध पुरानो रहेको बताइन्छ। कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ निजी सहायकका रूपमा कार्यरत थिए। अवकाशपछि पनि उनले कार्कीलाई सहयोग गर्दै आएका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ र अध्यक्ष नियुक्त गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई नै हुन्छ। सोही अधिकार प्रयोग गर्दै बालुवाटार छोड्नुअघि कार्कीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन्।

यसबीच आइतबार राष्ट्रिय समाचार समिति (रासस)लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले स्वकीय सचिव श्रेष्ठको खुलेर प्रशंसा गरेकी थिइन्। उनले आफूलाई सफल बनाउन प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले महत्वपूर्ण योगदान दिएको बताएकी छन्।

कार्कीका अनुसार अदालतमा लामो समय काम गरेका श्रेष्ठलाई कानुन र प्रविधि दुवै विषयमा राम्रो ज्ञान छ। उनले धेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायकका रूपमा काम गर्दै विश्वास जितेको अनुभव रहेको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन्।

रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई दुईदिने अभिमुखीकरण प्रशिक्षण

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीका नीतिबारे प्रशिक्षण दिने तयारी गरेको हो।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई संसदीय जिम्मेवारी र भूमिकाबारे स्पष्ट पार्न यो प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो।

पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ। प्रशिक्षण कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ।

संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउन तथा जनसरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा कसरी उठाउने भन्ने विषयमा विज्ञहरूद्वारा सांसदहरूलाई प्रशिक्षण दिइने योजना रहेको रास्वपाले जनाएको छ।

यो कार्यक्रमलाई रास्वपाले आफ्नो संसदीय यात्राको महत्त्वपूर्ण तयारीका रूपमा लिएको महामन्त्री बुर्लाकोटीले बताएका छन्। साथै, सबै सांसदहरूलाई कार्यक्रमको समयतालिका अनुसार तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ।

कांग्रेसबाट भाइले चुनाव हारे, दाइ रास्वपाबाट समानुपातिक सांसद सिफारिस

0

काठमाडौं । दाङ जिल्लाबाट विभिन्न राजनीतिक दलले पाँच जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङबाट सुरेन्द्र चौधरी, क्रान्तिशिखा धिताल र खिमा विकको नाम सिफारिस गरेको छ। सुरेन्द्र चौधरी दाङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार रहेका योगेन्द्र चौधरीका सहोदर दाजु हुन्।

उक्त क्षेत्रमा रास्वपाका देवराज पाठक विजयी भएका थिए। पाठकले ४२ हजार ६०२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेका थिए। योगेन्द्र चौधरी नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्रीसमेत हुन्।

योगेन्द्र चौधरी प्रत्यक्षतर्फ उम्मेदवार रहेका बेला उनका सहोदर दाजु सुरेन्द्र चौधरीलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो। फरक–फरक दलबाट उम्मेदवार बनेपछि दाजु–भाइबीचको सम्बन्ध चिसिएको पारिवारिक स्रोतले जनाएको छ।

रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकी क्रान्तिशिखा धिताल तुलसीपुरकी हुन् भने खिमा विक दंगीशरणकी हुन्।

त्यसैगरी नेकपा (एमाले) ले दाङ घोराहीकी मुस्लिम महिला साजिदा सिद्दिकीको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले भीमकुमारी बुढाको नाम आफ्नो पार्टीको तर्फबाट निर्वाचन आयोगमा सिफारिस गरेको जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको मौसमविद्हरूले बताएका छन्।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने तथा तराईका अधिकांश भूभागमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने सम्भावना छ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

मौसम विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ २४ पैसा

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

कांग्रेस सुधारका लागि प्रदीप पौडेलद्वारा सुझाव आह्वान

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र आवश्यक सुधारका विषयमा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूसँग सुझाव मागेका छन्।

सामाजिक सञ्जालमार्फत उनले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका हुन्।

महामन्त्री पौडेलले हालै सम्पन्न आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भइसकेको र त्यसको समीक्षा गर्दै पार्टीको भावी रणनीति तय गर्न आवश्यक भएको उल्लेख गरेका छन्। साथै, पुष महिनामा सम्पन्न विशेष महाधिवेशनले दिएका कार्यदिशालाई आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशन पनि चाँडै आयोजना गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।

उनले लेखेका छन्, “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ। पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ। यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।”

यसै सन्दर्भमा पार्टीभित्र गरिनुपर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन उनले सबै समर्थक तथा शुभेच्छुकलाई अनुरोध गरेका छन्।

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक सुधारमा आत्मसात गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

कालीमाटी बजारमा आजको थोक मूल्य सार्वजनिक: गोलभेँडा ७०, आलु १८ र प्याज ३४ रुपैयाँ

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ४० रुपैयाँ र गोलभेँडा सानो (तराई) ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) १५ रुपैयाँ र काउली (तराई) २० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै रातो मूला ३० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ र भन्टा डल्लो ४५ रुपैयाँ तोकिएको छ।

यसैगरी मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) २० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, टाटे सिमी ३५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ४० रुपैयाँ र फर्सी पाकेको ५५ रुपैयाँ कायम गरिएको छ। हरियो फर्सी (लाम्चो) र हरियो फर्सी (डल्लो) दुवैको मूल्य प्रतिकिलो १२ रुपैयाँ तोकिएको छ। साथै सलगम ४० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ५० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ९० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ तोकिएको छ।

अन्य वस्तुहरूमा बकूला प्रतिकिलो २५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १२० रुपैयाँ, च्याउ (डल्ले) ३३० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, जिरीको साग ३० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३०० रुपैयाँ र सुन्तला (भारतीय) १३० रुपैयाँ कायम गरिएको छ। त्यस्तै तरबुजा (हरियो) ५० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) ३० रुपैयाँ र निबुवा ६० रुपैयाँ तोकिएको छ।

यसैगरी मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट आज सुनुवाइ

0

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन ‘हेर्दाहेर्दै’मा राख्दै सोमबारका लागि सुनुवाइ तोकेको छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार सुनुवाइ गर्न नसकेपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै सोमबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेश गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको कार्यकालमा रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो।

सोही निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो।