काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको मौसमविद्हरूले बताएका छन्।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने तथा तराईका अधिकांश भूभागमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने सम्भावना छ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
मौसम विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।


