Wednesday, June 24, 2026
Home Blog Page 573

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

0

वासिङ्टन डिसी: ३४ वर्षीय डोनाल्ड ट्रम्पले सन् १९८० मा अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए, “राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।” ४५ वर्षपछि, ती नै ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन्।

आज नेपाली समयअनुसार राति करिब १० बजे अमेरिकी संसद् क्यापिटल हिलमा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। शपथका क्रममा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ, जुन उनकी पत्नी मेलानियाले समाउनेछिन्।

शपथपछि ट्रम्पले आफ्नो उद्घाटन भाषण दिनेछन्। अघिल्लो कार्यकालको शपथ ग्रहणमा उनले १७ मिनेट लामो भाषण गरेका थिए। यसपटक पनि उनलाई सम्बोधनका लागि समय दिइनेछ। त्यसपछि क्यापिटल हिलमा सांगीतिक कार्यक्रम आयोजना हुनेछ। हलिउडका धेरै कलाकारहरूले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेकाले, यसपटक कसले प्रस्तुति दिनेछ भन्ने अहिलेसम्म खुलाइएको छैन।

कार्यक्रमपछि, ट्रम्पले सेचुरी हलमा सांसदहरूसँग खाजा खानेछन्। खाजाको व्यवस्थापन सामान्यतया राष्ट्रपति र उपराष्ट्रपतिको परिवारले गर्ने परम्परा रहेको छ। त्यसपछि क्यापिटल हिलदेखि ह्वाइट हाउससम्म एक विशेष र्‍याली निकालिनेछ, जसको नेतृत्व राष्ट्रपति ट्रम्प आफैंले गर्नेछन्।

राति, ट्रम्पले आफ्ना निकट सहयोगीहरूसँग पार्टीमा सहभागी हुनेछन्। यो पार्टी मेटा प्रमुख मार्क जुकरबर्गले आयोजना गर्ने अनुमान गरिएको छ। जुकरबर्गले आफ्नो सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप यो पार्टी आयोजना गर्न लागेका हुन्। २०१७ मा ट्रम्पको पहिलो कार्यकालका बेला जुकरबर्गले उनलाई फेसबुकबाट प्रतिबन्ध लगाएका थिए।

अमेरिकी राष्ट्रपति पदभार ग्रहण गरेपछि ह्वाइट हाउसमा बस्नुपर्ने परम्परा छ। यो निवास अमेरिकी राष्ट्रपतिको आधिकारिक कार्यालय पनि हो। जर्ज वाशिंगटन ह्वाइट हाउसमा नबस्ने एक मात्र अमेरिकी राष्ट्रपति थिए। यसको निर्माण सन् १७९२ मा सुरु भएको थियो र सन् १८०० मा सम्पन्न भयो।

जोन एडम्स ह्वाइट हाउसमा बस्ने पहिलो राष्ट्रपति थिए। परम्परागत रूपमा, राष्ट्रपति शपथ समारोहका लागि ह्वाइट हाउसबाट निस्कने चलन छ। तर, २०१७ मा ट्रम्पले त्यसो गरेनन्। शपथपछि मात्र उनले ह्वाइट हाउस प्रवेश गरेका थिए। यसपटक पनि उनी शपथ लिएपछि मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन्।

हमास-इजरायल युद्धविराम भएसँगै विपिन सकुशल घर फर्किने आशामा परिवार

0

कञ्चनपुर: हमास–इजरायल युद्धविरामपछि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार उनी सकुशल घर फर्किने आशामा छ।

पन्ध्र महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिनको परिवारले युद्धविरामको खबरले पुनः आशा पलाएको बताएको छ। पहिलो चरणमा रिहाइ हुने बन्धकहरूको सूचीमा विपिनको नाम नसमेटिए पनि दोस्रो चरणमा उनको रिहाइ हुने विश्वासमा परिवार व्यग्र प्रतीक्षामा छ।

विपिनकी आमा पदमा जोशीले भनिन्, “हामीले विपिनको रिहाइको आशा गरेका थियौं, तर पहिलो चरणमा उहाँ छुट्नुभएन। मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक बनेका छन्। यसपटक सरकारको पहलबाट उहाँको रिहाइ सुनिश्चित होस् भन्ने हाम्रो प्रार्थना छ।”

उनले विगतमा पनि युद्धविरामका बेला रिहाइको आशा गरेका तर निराश हुनुपरेको बताउँदै अहिलेको युद्धविरामले छोराको सुरक्षित रिहाइ गराउने विश्वास व्यक्त गरिन्।

“युद्धविरामको खबरले खुशी ल्यायो, तर फेरि युद्ध सुरु हुने डरले मन बेचैन छ। सरकारलाई अनुरोध छ, यो पटक मेरो छोराको सकुशल रिहाइ सुनिश्चित होस्,” विपिनकी आमाले भावुक हुँदै भनिन्।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। त्यहाँ पुगेको एक महिनामै हमासले इजरायलको अलिमुम किबुजमा आक्रमण गरेको थियो। आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमासले नियन्त्रणमा लिएको थियो।

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ, तर सूचीमा विपिनको नाम छैन।

गृहमन्त्री रमेश लेखकले विपिन सुरक्षित रहेको र उनको रिहाइका लागि सरकार गम्भीर रहेको जानकारी दिए। “हाम्रो सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्। उनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ,” गृहमन्त्रीले भने। उनले युद्धविरामले रिहाइको प्रक्रिया सहज बनाउने विश्वास व्यक्त गरे।

कोशी प्रदेशसभा बैठक बस्दै

0

विराटनगर: कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गर्नुभएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित नियुक्त

0

महेन्द्रनगर (धनुषा): मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. रामनरेश पण्डित नियुक्त भएका छन्।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अङ्कुर साहको सिफारिसमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले डा. पण्डितलाई शिक्षाध्यक्ष पदमा नियुक्त गरेका हुन्।

डा. पण्डितले चिकित्सा क्षेत्रमा २३ वर्ष बिताएका वरिष्ठ स्त्रीरोग विशेषज्ञका रूपमा आफ्नो परिचय बनाइसकेका छन्। उहाँले आजै पदभार ग्रहण गरेका छन्।

यसअघि उहाँले प्रादेशिक अस्पताल, जनकपुरधामको निर्देशकको जिम्मेवारी सम्हालेका थिए। पञ्चवर्षीय कार्यकालका लागि नियुक्त डा. पण्डितको आगमनसँगै प्रतिष्ठानको शैक्षिक गतिविधिमा सुधारको अपेक्षा गरिएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै वर्षदेखि एमबिबिएस कार्यक्रम सुरु गरेको छ। यसअघि प्रतिष्ठानले चिकित्सा विज्ञानका चार भिन्न विषयमा स्नातक र स्नातकोत्तर तहका अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको थियो।

उत्पादन, उत्पादकत्व र लगानी अभिवृद्धि गर्न अध्यादेशमार्फत् नयाँ कानुन : अर्थमन्त्री पौडेल

0

काठमाण्डौ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक रहेका केही कानुन अध्यादेशमार्फत् ल्याउनुपरेको बताउनुभएको छ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले विभिन्न कानुन संशोधन गरी नयाँ व्यवस्था गरिएको जानकारी दिनुभयो।

अर्थमन्त्री पौडेलका अनुसार पञ्चायतकालदेखि कायम असान्दर्भिक कानुनलाई संशोधन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, र लगानी अभिवृद्धि जस्ता विषयलाई प्राथमिकता दिँदै अध्यादेश ल्याइएको हो। उहाँले भन्नुभयो, “हामीले समस्या भएका ठाउँमा गाँठो फुकाउने गरी अध्यादेश ल्याएका छौँ। यसले निजी क्षेत्रको मनोबल बढाएको छ।”

सरकारले अध्यादेशमार्फत् संशोधित व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक नियमावली, कार्यविधि, र विनियमावलीको तयारीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले सरकारले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधन गरेको जानकारी दिनुभयो। नयाँ व्यवस्थाले सूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई विदेशमा लगानी गर्न र नेपाली नागरिकले विदेशमा रहँदा गरेको आर्जन विदेशमा लगानी गर्न पाउने अधिकार प्रदान गरेको छ। यसले नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहयोग पुर्’याउने छ।

राजस्व न्यायाधिकरण ऐन, २०३१ मा संशोधन गर्दै मुद्दा पुनरावेदन गर्दा नगद धरौटीको सट्टा बैंक जमानत राख्न सकिने व्यवस्था गरिएको छ। यसले व्यवसायिक लागतलाई घटाउने सहसचिव भट्टराईले जानकारी दिनुभयो।

सरकारले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा संशोधन गरेको छ। प्रतिस्पर्धाबाट वस्तुको मूल्य निर्धारण हुनुपर्ने र व्यवसायिक मुनाफालाई कालोबजारीको रूपमा व्याख्या गर्न नमिल्ने भन्दै २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने पुरानो प्रावधान हटाइएको छ। उपभोक्ता हित संरक्षणका लागि छुट्टै ऐन कार्यान्वयनमा रहेको हुँदा यो संशोधन गरिएको हो।

मध्यस्थता ऐन, २०५५ मा संशोधन गरी विकास निर्माणसम्बन्धी विवाद छिटो समाधान गर्न समयसीमा तोकिएको छ। यसले मध्यस्थताबाट विवाद समाधान प्रक्रियालाई प्रभावकारी बनाउनेछ।

बै‘क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ संशोधन गर्दै कर्जा प्रवाहका लागि सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत परियोजना विकास सम्झौतालाई धितोको रूपमा मान्यता दिन सकिने व्यवस्था गरिएको छ।

राजस्व चुहावट ऐन, २०५२ संशोधन गरी रु तीन करोडसम्मको राजस्व चुहावट मुद्दालाई अदालतमा दायर गर्नुको सट्टा कर निर्धारण गरेर असुली गर्न मिल्ने प्रावधान ल्याइएको छ। यसले अदालती प्रक्रियामा समय र लागत बचत गर्नेछ।

कम्पनी ऐन, २०६३ मा संशोधन गरी स्टार्टअप उद्यमको हकमा चुक्ता पूँजीको ४० प्रतिशत शेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। साथै, प्राइभेट कम्पनीका सञ्चालकहरू समान उद्देश्य भएका अन्य कम्पनीका सञ्चालक बन्न सक्ने सुविधा थपिएको छ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा संशोधन गरी उद्योग स्थापनाको समयसीमा १२० दिनभित्र पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यस क्षेत्रमा स्थापना भएका उद्योगले काबु बाहिरको परिस्थितिमा आन्तरिक बजारमा बिक्री गर्न पाउने सुविधा पनि थपिएको छ।

औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गरी जरिवाना तिरेर दर्ता गराउन सकिने प्रावधान ल्याइएको छ। उद्योग दर्ता प्रक्रियालाई छरितो बनाउन १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था थपिएको छ।

सरकारले यी कानुनी सुधारहरू अध्यादेशमार्फत् ल्याएर मुलुकको आर्थिक प्रणालीलाई व्यवस्थित, प्रतिस्पर्धी, र पारदर्शी बनाउन खोजेको छ।

सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब नपाएपछि…

0

वीरगञ्ज: बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले विगत छ महिनादेखि तलबभत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको तलब र सेवा सुविधा नपाएपछि नगरपालिकाअन्तर्गतका २० वटै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले समस्या समाधानका लागि यो कदम चालेका हुन्। विगत बुधबारदेखि शुक्रबारसम्म ‘हाफ टाइम’ विरोध कार्यक्रम गर्दै प्रशासनको ध्यानाकर्षण गराएका शिक्षकहरूले नगरपालिकाले कुनै पहल नगरेपछि विद्यालय बन्द गरेका छन्।

भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले तलब नपाउँदा शिक्षकहरू गम्भीर आर्थिक समस्यामा परेको बताउनुभयो। “छ महिनादेखि तलबभत्ताको नाममा एक पैसा पाएका छैनौँ। हाम्रो पनि परिवार र बालबच्चा छन्। धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनुपर्‍यो,” उहाँले भन्नुभयो।

नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आन्तरिक विवादका कारण आर्थिक गतिविधि ठप्प भएको जनाइएको छ। गत कात्तिक ८ गते नगरसभा सम्पन्न भए पनि नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा समस्या उत्पन्न भएको हो।

प्रजिअ अर्यालले समस्या समाधानका लागि पटक–पटक प्रयास गरिए पनि कुनै ठोस प्रगति नभएको जानकारी दिनुभयो। “शिक्षक तथा कर्मचारीको तलब भत्ताबारे छलफल गरे पनि समस्या समाधान गर्न सकिएको छैन। हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ,” उहाँले भन्नुभयो।

शिक्षकहरूले समस्या समाधान नभएसम्म विद्यालय सञ्चालनमा चुनौती रहने चेतावनी दिएका छन्।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

0

इलाम: सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ’ सकाएर गाउँ फर्किएर सुरु गरेको इँटा उद्योगले छ वर्षमा उल्लेखनीय सफलता हात पारेको छ।

“पन्ध्र लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योग अहिले ४५ लाख रुपैयाँको लगानीमा विस्तार भएको छ,” प्रमोदले भन्नुभयो। “यस उद्योगबाट अहिलेसम्म ४५० भन्दा बढी भवन निर्माणका लागि तीन लाख ५० हजारभन्दा धेरै इँटा प्रयोग भइसकेका छन्।”
उद्योगले सात जनालाई रोजगारी दिएको छ र मासिक रूपमा ७,००० इँटा उत्पादन हुन्छ। “नगरपालिकाले इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ। सबै खर्च कटाएर औसतमा १७ प्रतिशत नाफा रहन्छ, जसबाट महिनामा झन्डै १ लाख रुपैयाँ बचत हुन्छ,” उहाँले थप्नुभयो।

ईको इँटा तयार गर्न ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेडको ओपिसी सिमेन्ट, र सुपर प्लास्टिक साइजरजस्ता कच्चापदार्थ प्रयोग गरिन्छ। “यी सामग्री काठमाण्डौको दाउन्ने, झापाको बिर्तामोड र सुपर प्लास्टिक साइजर उडिसाबाट ल्याउने गरिन्छ,” प्रमोदले बताउनुभयो।

उद्योगको उत्पादन सूर्योदय नगरपालिकाभित्रको माग धान्न समेत पर्याप्त छैन। “नगरपालिकाले निर्माण सामग्रीमा हरित उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको छ। सम्झौता भएमा उत्पादन अनिवार्य रूपमा बढाउनु पर्नेछ,” स्वस्तिका सापकोटा (भट्टराई)ले बताउनुभयो।
ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री भएकाले यसको माग दिनदिनै बढिरहेको छ।

प्रमोदले नेपालमै उद्यम गर्न रुचाएको बताउनुभयो। “६ वर्षअघि १५ लाख लगानी गरेर उद्योग खोल्नु ठूलो साहस थियो। विदेश गएका भए करोडौं कमाइ हुन्थ्यो होला। तर, परिवार, समाज र नेपाली माटोको सुगन्धले यहीँ बाँधिराख्यो। हामी यहीँ खुसी छौं,” उहाँले भन्नुभयो।

कोरोना महामारीका बेला व्यवसायमा आएको चुनौतीबारे उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण उद्योग ठप्प हुँदा निराशा छायो। तर, परिस्थिती सुधार भएपछि हामीले फेरि उद्योगलाई गति दिन सफल भयौं।”

स्थानीय युवालाई स्वरोजगार बनाउन सूर्योदय नगरपालिकाले विशेष प्रोत्साहन गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो। उहाँका अनुसार, सहुलियत र अनुदानका माध्यमबाट युवाहरूलाई उद्यमशीलतामा आकर्षित गरिएको छ।

उद्योगले ईको इँटा मात्र नभई कङ्क्रिट इँटा, कभर ब्लक, फूलका गमला, तुलसीको मोठ, र तारजाली पिल्लरसमेत उत्पादन गर्दै आएको छ।

चौवालिस हजार बढीले गरे दियालो बङ्गला अवलोकन, ३८ लाख ३७ हजार राजस्व सङ्कलन

0

चितवन: भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मा लिएको दियालो बङ्गलाको अवलोकन गर्ने सर्वसाधारणको सङ्ख्या ४४,८८१ पुगेको छ। गत असार २५ गते सर्वसाधारणका लागि खुल्ला गरिएको यस बङ्गलामा पुस मसान्तसम्म १३८ जना विदेशी पर्यटकले समेत भ्रमण गरेका छन्।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा खुल्ला गरिएको दियालो बङ्गलाबाट हालसम्म रु ३८ लाख ३७ हजार ९५० राजस्व सङ्कलन भएको छ। पर्यटन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार, सर्वसाधारणका लागि प्रवेश शुल्क रु १००, भने ज्येष्ठ नागरिक र विद्यार्थीका लागि ५० प्रतिशत छुट गरिएको छ। विदेशी पर्यटकका लागि शुल्क दर छिमेकी देश भारत र चीनका नागरिकलाई रु १५०, अन्य सार्क राष्ट्रका नागरिकलाई रु २००, र अन्य देशका पर्यटकलाई रु ३०० तोकिएको छ।

पर्यटकीय गन्तव्यको रूपमा थपिएको बङ्गला
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दियालो बङ्गलालाई चितवनको नयाँ पर्यटकीय गन्तव्यका रूपमा वर्णन गर्नुभयो। उहाँका अनुसार, सदरमुकाम नजिकै रहेको यस क्षेत्र सर्वसाधारणका लागि खुला गरिँदा नयाँ गन्तव्यको रूपमा थपिएको छ। दियालो बङ्गला भरतपुर महानगरपालिका–१ मा अवस्थित छ, जसको व्यवस्थापन नेपाल ट्रष्टसँगको सम्झौतामा महानगरपालिकाले गरिरहेको छ।

सङ्कलित राजस्वको ६० प्रतिशत ट्रष्टले र बाँकी ४० प्रतिशत महानगरले पाउने व्यवस्था गरिएको छ। महानगर प्रमुख रेनु दाहालले बङ्गलाको ऐतिहासिक महत्वका कारण अवलोकनकर्ताको सङ्ख्या दिनानुदिन बढिरहेको बताउनुभयो।

ऐतिहासिक महत्व र आकर्षण
दियालो बङ्गला, राजतन्त्रकालमा राजपरिवारले जाडो महिनामा समय बिताउने ठाउँका रूपमा परिचित, ऐतिहासिक महत्वले भरिपूर्ण छ। यस दरबारभित्र, पूर्वराजा महेन्द्र र राजा वीरेन्द्रका तस्बिर राखिएका छन्। भ¥याङमा राजा महेन्द्रले विसं २०२६ मा सिकार गरी मारेको घडियाल गोही सजाइएको छ।

दरबारमा पाँचवटा बेडरुम छन्। १ नम्बर बेडरुम मुमा रत्नराज्यको, २ नम्बर राजा महेन्द्रको, ३ नम्बर रानीको, र अन्य राजपरिवारका सदस्यका लागि छुट्याइएको छ। सबै कोठामा शौचालयको सुविधा छ।

दरबारसँगै महिला सुसारेका लागि ‘नानीगञ्ज’, राजाको सुरक्षाका लागि एडिसी क्वाटर, सवारीसाधन राख्न ग्यारेज, र पौडी पोखरीजस्ता संरचना रहेका छन्।

सर्वसाधारणका लागि खुला वातावरण
महानगर प्रमुख दाहालले लामो समयसम्म नेपाली सेनाको सुरक्षा अन्तर्गत रहेको यस दरबार क्षेत्रलाई सर्वसाधारणका लागि खुला गरिँदा अवलोकनकर्ताले यसका ऐतिहासिक संरचना र सामग्रीलाई नजिकबाट हेर्न पाउने वातावरण सिर्जना गरिएको बताउनुभयो।

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन महासङ्घको आग्रह

0

काठमाडौँ: सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने निर्णय कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ र आफ्ना सम्पूर्ण सदस्यलाई सहयोग गर्न आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार, ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ सरकारद्वारा पारित हुनु स्वागतयोग्य कदम हो। यस निर्देशिकाले स्वदेशी उत्पादन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै यो निर्देशिका जारी गरेको हो। यसको उद्देश्य स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आयात व्यवस्थापन गर्ने, र उत्पादित वस्तुको बजार प्रवर्द्धन सुनिश्चित गर्नु हो।

महासङ्घले सरकारको यो निर्णयको समर्थन गर्दै आफ्ना सदस्यहरूलाई नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ। यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनका साथै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास महासङ्घले व्यक्त गरेको छ।

डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता

0

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न महत्त्वपूर्ण विषयमा टेलिफोन वार्ता भएको छ। ट्रम्पले आगामी जनवरी २० मा ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्नुअघि दुई नेताबीच यो कुराकानी भएको हो।

चीनको प्रतिनिधित्वमा हान झेङको अमेरिका भ्रमण
चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने तय भएको छ। यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

ट्रम्पको ‘ट्रुथ सोसल’ पोस्ट
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत सी जिनपिङसँगको कुराकानीबारे जानकारी दिएका छन्। उनले यो वार्तालाई दुवै देशका लागि सकारात्मक र उत्पादक भएको बताएका छन्।

ट्रम्पले पोस्टमा लेखे, “मलाई आशा छ कि हामी सँगै धेरै समस्याहरू समाधान गर्न सक्छौं र यो काम तुरुन्तै सुरु गर्नेछौं।” उनले व्यापार असन्तुलन, टिकटक, र अन्य द्विपक्षीय मुद्दाहरूमा गहन छलफल भएको उल्लेख गरेका छन्।

शान्ति र सुरक्षामा सहकार्य
वार्ताका क्रममा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग विश्वलाई शान्त र सुरक्षित बनाउन संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “राष्ट्रपति सी र म, हाम्रो सम्बन्धका माध्यमबाट, विश्वव्यापी शान्ति र स्थायित्वका लागि काम गर्नेछौं।”

दुई शक्तिशाली मुलुकबीच नयाँ अध्यायको सुरुवात
डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिका-चीन सम्बन्धमा नयाँ दिशा तय हुने अपेक्षा गरिएको छ। दुई नेताबीचको संवादले व्यापार, प्रविधि, र भू-राजनीतिमा देखिएका चुनौतीहरूको समाधानमा सहकार्यको मार्गप्रशस्त गर्न सक्ने विश्वास गरिएको छ।