Wednesday, June 24, 2026
Home Blog Page 572

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

0

दमौली (तनहुँ): पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

दमौलीबाट डुम्रेतर्फ गइरहेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताउनुभयो। उहाँका अनुसार, “हुस्सुका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

0

काठमाडौँ: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आजदेखि स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन गरेको छ। अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको यो सेवा चार महिनापछि पुनः सुरू गरिएको हो।

स्वास्थ्य बिमा कार्यक्रम गत भदौ १२ गतेदेखि स्थगन गरिएको थियो। आजदेखि सेवा पुनःसञ्चालन गरिएको अस्पतालकी प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभएको छ।

अस्पतालले जारी गरेको सूचनामा सम्पूर्ण विभाग, वार्ड, शाखा, ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा भर्ना गरिएका बिरामीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सुविधा पाउने उल्लेख गरिएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित

0

झापा: वन विभागबाट रुख कटानको अनुमति नआउँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भइरहेको छ। झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ९५.८ किलोमिटर लामो राजमार्गको पूर्वी खण्ड हाल निर्माणाधीन छ। यस खण्डमा ३७ वटा पुल निर्माण हुँदैछ। तर, रुख कटान अनुमति नहुँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा ढिलाइ भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले जानकारी दिनुभएको छ।

उहाँका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा पर्ने २४.५४ किलोमिटर राजमार्ग वन क्षेत्रभित्र पर्छ। उक्त क्षेत्रमा पर्ने ५१ हेक्टर जमिनमा १३,८३४ वटा रुख कटान गर्नुपर्ने भएकाले आयोजना कार्यालयले मन्त्रिपरिषद् र वन विभागसँग अनुमति मागेको थियो।

गत मङ्सिर ६ गते मन्त्रिपरिषद्ले मोरङका २१ हेक्टर र सुनसरीका १४ हेक्टर गरी ३५ हेक्टर वन क्षेत्रको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ। वन विभागले यस क्षेत्रका ७,६६३ वटा रुख कटानका लागि सम्झौताको प्रक्रिया अघि बढाएको छ। तर, झापाको १० हेक्टर र इलामको ६ हेक्टर वन क्षेत्रको भोगाधिकार र त्यहाँका ६,२७१ वटा रुख कटानको अनुमति अझै प्राप्त भएको छैन।

भोगाधिकार र रुख कटानको फाइल वन तथा भू–संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेस हुने प्रक्रियामा रहेको सूचना अधिकारी दत्तले जानकारी दिनुभयो।

“भोगाधिकार र रुख कटानको अनुमति नहुनु आयोजनाको प्रमुख चुनौती बनेको छ,” उहाँले भन्नुभयो, “कतिपय पुलको पहुँच सडकको रेखाङ्कन वनक्षेत्रमा परेकाले निर्धारित समयभित्र काम सम्पन्न गर्न गाह्रो भइरहेको छ।”

हालसम्म ९५.८ किलोमिटर लामो पूर्वी खण्डमा ४१.६८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने २२ वटा पुल निर्माण सम्पन्न भएको छ।

पूर्वको झापा र पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्र हुँदै निर्माण भइरहेको छ। राजमार्गको कूल लम्बाइ १,२०० किलोमिटर रहेको छ। धरानदेखि हेटौँडासम्मको ३०० किलोमिटर खण्डको निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा तीव्र रूपमा काम भइरहेको आयोजना कार्यालयले जनाएको छ।

हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै बुझाए ज्ञापनपत्र

0

सुन्दरहरैँचा (मोरङ): सुन्दरहरैँचा नगरपालिका–८ का जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीवन र धनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत ज्ञापनपत्र बुझाएका छन्।

वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न आग्रह गरिएको उक्त ज्ञापनपत्र स्थानीय शिक्षासेवी टीकाराम ढकालले बुझाएको जानकारी दिनुभयो। सुन्दरहरैँचाको उत्तरी क्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसेर भौतिक तथा मानवीय क्षति पुर्‍याएको, दर्जनौँ घर भत्काएको र बालीनाली नष्ट गरेको ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, “हात्तीको त्रासका कारण यस क्षेत्रका नागरिक निदाउन सकिरहेका छैनन्। त्यसैले, नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दछौँ।” स्थानीयले प्रत्यक्ष प्रभावकारी समाधान खोज्दै प्रदेश र सङ्घीय सरकारसँग पहल गर्न माग गरेका छन्।

सबडिभिजन वन कार्यालय मोरङका अनुसार झापा, मोरङ र सुनसरीमा जङ्गली हात्तीले बस्तीमा पसेर भौतिक तथा मानवीय क्षति पुर्‍याइरहेको छ। हात्तीको नियमित उपद्रवले सर्वसाधारण त्रसित बनिरहेका बेला सुन्दरहरैँचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले समस्या समाधानमा चाँडो ध्यान दिनुपर्ने बताउनुभएको छ।

जङ्गलबाट आहारा खोज्दै मानव बस्ती प्रवेश गर्ने हात्तीले घर भत्काउने, बालीनाली नष्ट गर्ने र मानिसमाथि आक्रमणजस्ता गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ। जङ्गल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सतर्क रहन र सुरक्षा उपाय अपनाउन प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पछिल्लो एक महिनाको अवधिमा हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ की ६१ वर्षीया चन्द्रकुमारी लिम्बू, सुन्दरहरैँचा–७ मा दाउरा खोज्दै गरेकी ४० वर्षीया गङ्गा श्रेष्ठ र सुन्दरहरैँचा–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भइसकेको छ।

आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

0

काठमाडौँ: विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनालाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गर्दै फैसला सुनाएको हो।

मालपोत प्रमुख रसाइलीलाई एक वर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्नीबहादुर शाही र दशरथ मण्डललाई जनही छ महिना कैद सजाय तोकिएको छ। मतियारहरू विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलबहादुर रावल र विमल रावललाई पनि छ-छ महिना कैद सजाय सुनाइएको छ।

ज्येष्ठ नागरिक भएकाले विन्द्रा रावललाई ७५ प्रतिशत सजाय कटौती गरी एक महिना १५ दिन कैद मात्र हुने फैसला भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठै जनाविरुद्ध रु २४ करोड ६ लाख ६९ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

एमाले परित्याग गर्नेको संख्या बढ्न थाल्यो; विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा

0

विराटनगर: मोरङ विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा एमालेबाट राजीनामा दिने लहर सुरु भएको छ । एमाले विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनीहरूले गत पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति असहमति जनाएका हुन् ।

यसरी राजीनामा दिनेहरूमा वडा अधिवेशन आयोजक समितिको उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, उपा सिवाकोटी रहेका छन् ।

‘पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा कसैसँग परामर्श तथा छलफल नगरी विना जानकारी ३ नं.वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा सङ्गठित सदस्यता समेत नरहेका, अन्य पार्टीमा रहेका व्यक्तिहरू समेत राखिएको पाइयो जुन अत्यन्तै दुःखद हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ, ‘सामूहिक प्रयासबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको ब्यहोरा अवगत गराउँदै सामूहिक रूपमा राजीनामा पेश गर्दछौँ ।’

सामूहिक राजीनामा पत्रमा सङ्गठित सदस्य नै नरहेका सन्दीप थापा, राम भट्टराई, ब्रम्हकुमारी पराजुली, श्याम पौडेल, सुशील रेग्मी, उमा निरौला, रीता घिमिरे, अप्सरा श्रेष्ठ, तुलसी सुवेदी, कृष्ण रिजाल, स्वीकारजंग बस्नेत र तेजु कटुवाल रहेको उल्लेख छ ।

यसअघि एमाले विराटनगर कमिटीको बैठकले महानगर कमिटी सदस्यमा मनोनीत गरेपछि वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका थिए । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका थिए ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपाल टुप्पीसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेको थियो ।

इरानी गायक आमिर टाटालूलाई मृत्युदण्डको सजाय

0

तेहरान: इरानको सर्वोच्च अदालतले चर्चित गायक आमिर होसेन माध्सोउद्लू (प्रसिद्ध नाम टाटालू) लाई ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।

अदालतले पैगम्बर मोहम्मदको निन्दा गरेको ठहर गर्दै यो सजाय सुनाएको हो। यसअघि उनलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो, तर अभियोजनकर्ताहरूले उक्त फैसलाविरुद्ध अपिल गरेपछि सर्वोच्च अदालतले मृत्युदण्डको निर्णय सुनाएको हो।

टाटालूमाथि वेश्यावृत्तिको प्रवर्द्धन, अश्लील सामग्री प्रकाशन, र इरानी सरकारविरुद्ध प्रोपोगान्डा चलाएको आरोप पनि लगाइएको छ। यी आरोपहरूमध्ये वेश्यावृत्तिको प्रवर्द्धन अभियोगमा उनलाई १० वर्षको जेल सजाय तोकिएको थियो।

यो फैसलालाई अन्तिम मानिएको छैन। ३७ वर्षीय टाटालूले सर्वोच्च अदालतको निर्णयविरुद्ध अपिल गर्न सक्नेछन्।

सन् २०१८ देखि टाटालू टर्कीको इस्तानबुलमा बस्दै आएका थिए। उनले आफ्नो संगीत र विचारमार्फत विवादास्पद छवि बनाएका थिए, जसले इरानी सरकारको आलोचना निम्त्यायो। सन् २०२३ को डिसेम्बरमा टर्किश प्रहरीले उनलाई पक्राउ गरी इरानी अधिकारीहरूलाई सुपुर्द गरेको थियो।

इरानमा ईशनिन्दा (धार्मिक अपमान) गरेको ठहरिएमा कठोर सजाय तोकिन्छ। यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्दै आएको छ। टाटालूको मुद्दाले इरानको न्यायिक प्रणाली र अभिव्यक्ति स्वतन्त्रतामाथि पुनः बहस सुरु गराएको छ।

टाटालू आफ्ना विवादास्पद गीत र समाजमा स्थापित मान्यताविरुद्धका विचारका कारण लोकप्रिय तथा विवादित दुवै बनेका थिए। उनलाई समर्थन गर्ने धेरैले यो निर्णयको विरोध गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन भनेका छन्।

अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

0

काठमाडौं: सर्वोच्च अदालतले कानुन विपरीत देशभरका खोलानदीबाट भइरहेको अवैध रोडा, ढुंगा, गिट्टी, बालुवा उत्खनन तत्काल बन्द गराउन सरकारलाई पाँच बुँदे परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अवैध उत्खननमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँदै तुरुन्त उत्खनन रोक्न आदेश दिएको हो।

परमादेशमा नदीको संरक्षणका लागि विशेष कानुन आवश्यक रहेको उल्लेख गर्दै ‘नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन’ तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन आदेश गरिएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार, सरकारले हाल लागू ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ तथा छवटै प्रदेशले बनाएको ‘नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५’ पुनरावलोकन गरी थप प्रभावकारी बनाउनु पर्नेछ।

परमादेशमा भनिएको छ, “नदीजन्य स्रोतहरूको उत्खनन, बिक्री र व्यवस्थापनमा लम्बाइ, चौडाइ, गहिराइसहित चार किल्ला, उत्खनन अवधि, समय, र प्रयोग गरिने साधनका विवरणहरू सूचनापाटीमा स्पष्ट रूपमा उल्लेख गर्नु अनिवार्य छ। यद्यपि, स्थलगत अनुगमनका क्रममा यस्ता सूचनापाटी नराखिएको पाइएकाले कार्यस्थलमा सूचनापाटी राख्न र त्यसको नियमित अनुगमन गर्न सरकारलाई निर्देशन दिइएको छ।”

देशभर भइरहेका अवैध उत्खनन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइ गरेपछि यो परमादेश जारी गरिएको हो।

आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट : नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित

0

काठमाडौं: मलेसियामा जारी आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज स्कटल्याण्डसँग रोमाञ्चक खेलमा एक विकेटले पराजय भोगेको छ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्याण्डका लागि पिपा स्प्रोलले ४७ बलमा ३ चौकाको मद्दतले सर्वाधिक ३५ रन बनाइन्। ग्याब्रियला फोन्टेन्लाले १२ रनको योगदान दिइन्।

नेपालका बलरहरूमध्ये सिमना केसी र रचना चौधरीले दुई-दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक/एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७३ रनमै सीमित भयो। कप्तान पूजा महतोले ४३ बलमा ३ चौकासहित २७ रनको योगदान गरिन् भने सावित्री धामीले १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्याण्डका बलर मैसी म्याकिराले घातक प्रदर्शन गर्दै एक्लै ५ विकेट लिइन्। अमी बलडाइ र नइमा शेखले समान २/२ विकेट हात पारे भने क्रिस्टी म्यायाकोलले १ विकेट लिइन्।

यो हारसँगै नेपालको प्रतियोगितामा लगातार दोस्रो पराजय भएको छ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

जितसँगै स्कटल्याण्डले सुपर सिक्समा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। स्कटल्याण्डले पहिलो खेलमा अष्ट्रेलियासँग पराजय बेहोरेको थियो।